बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन

डिसी नेपाल
७ असोज २०७९ १५:२४

काठमाडौँ। भारतीय अभिनेता तथा निर्देशक विशाल देसाई नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दै छन्। ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रूपमा धेरै चलचित्रमा काम गरेका छन्। उनलाई चुपके चुपके, अपनापन, अम्बर अकबर एन्थोनीलगायतका फिल्मको अभिनेता भनेर चिनिन्छ।

उनले निर्देशन गर्ने चलचित्र ‘सायरा’ लाई नेपालको डीबीआर मिडिया एन्ड मुभिज प्रा.लि., भारतको भिजेलब्वाई प्रोडक्सन र अस्ट्रेलियाको आइविल प्रोडक्सन कम्पनिले संयुक्त रूपमा निर्माण गर्दैछ। पहिलोपटक नेपाल आइपुगेका निर्देशक देसाई यहाँसम्म नेपाली चलचित्रको गुणस्तरीयता र सुन्दरताले तानेको बताउँछन्। भारतमै पनि पछिल्लो समय प्रान्तीय चलचित्रहरूको लोकप्रियता बढिरहेको हुँदा नेपाली र हिन्दी भाषामा चलचित्र बनाएर विश्वभर प्रदर्शन गर्ने योजना उनको छ। नेपाल आएपछि उनले पशुपतिनाथको दर्शन गरे। चन्द्रागिरी घुमे। भारत फर्किदासम्म उनले सुन्दर यादहरू संगालेका छन्। नेपाल बसाई र चलचित्रसँग सम्बन्धित रहेर उनीसँग गरिएको संवादः

नेपाल बसाई कस्तो रह्यो ?

निकै सुन्दर । मलाई विदेशमा छु भन्ने अनुभूति नै भएन । किनकि हाम्रो संस्कृतिझैँ खाना पनि मिल्छ । हामी नजिकै छौँ । यहाँ नेपाल आउँदा पाएको सत्कारले म पहिले किन नेपाल आइनँ भन्ने लागेको छ । अब नेपाली चलचित्र निर्देशन गर्दैछु ।

कस्तो लाग्यो नेपाल ?

म काठमाडौं आसपासमा मात्र घुमें । अर्कोपटक आउँदा पोखरा, लुम्बिनी घुम्ने योजना बनाएको छु । किनकि यहाँको सुन्दरता र सरलताले मलाई निकै प्रभावित बनाएको छ । विशेषतः यसपटक आउँदा पशुपतिनाथको दर्शन गर्न पाएँ । मेरो घरमा आमा शिवभक्त हुन्हुन्छ । उहाँले पशुपतिनाथको जसरी पनि दर्शन गर्नु भन्नुहुन्थ्यो । मैले मन्दिर पुगेर दर्शन गरेको फोटो पठाउँदा उहाँ निकै हर्षित हुनुभयो । उहाँ फ्लाइटमा कम्फर्ट महसुस गर्नुहुन्न । यद्यपि उहाँ पनि यहाँ आउन चाहनुहुन्छ । साथै मलाई नेपाली थकाली खाना निकै मन पर्यो । यो स्वादले मलाई पारखी बनाएको छ । म अन्य ठाउँमा पुग्दा पनि थकाली अवश्य खानेछु ।

यस अगाडि नेपाल र यहाँको चलचित्रबारे कत्तिको जानकार हुनुहुन्थ्यो ?

नेपालको बारेमा थाहा थियो । तर नेपाली चलचित्रसँग म साक्षात्कार थिइनँ । मलाई निर्माता पुष्कर झाले केही नेपाली चलचित्रको ट्रेलर देखाएपछि नै निर्देशन गर्न तयार भएको हुँ । यहाँको मेकिङ र सुन्दरताले मलाई छाप छोड्न सफल भयो । हाम्रो एउटा प्रयास पनि हो सायरा । यसलाई नेपाली र हिन्दी भाषामा प्रदर्शन गर्नेछौँ । यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न मद्दत गर्छ भन्नेमा विश्वस्त छु ।

भारतमा बनिरहेका भन्दा फरक के पाउनु भयो यहाँको चलचित्रमा ?

मैले जति क्लिप, भिडियो हेरेको छु । त्यसले भन्न सक्छु आउँदो समयमा नेपाली चलचित्रले धेरै राम्रो गर्छ । किनकि भारतमै १० वर्ष अगाडि फर्किनुभयो भने तामिल, तेलुगु, कन्नड चलचित्र गुमनामझैँ थिएँ । अहिले पनि मलयालम चलचित्र माथि आउन कोसिस नै गरिरहेको छ । कन्नड चलचित्रमा केजिएफभन्दा अन्य नाम अहिले पनि दर्शकले सम्झिन सक्नुहुन्न । त्यसैले बजार पाएपछि कन्टेन्ट गतिलो छ भने लोकप्रियता बढ्छ । यहाँको लोकेसन विश्वका अन्य दर्शकलाई फ्रेस लाग्न सक्छ । हामीले भिएफएक्सले पूरा गर्ने दृश्य यहाँ नेचुरल रूपमै पाइन्छ । त्यसैले हामीले नेपाली र हिन्दी भाषामार्फत यहाँको चलचित्रलाई ओटीटी वा भारतका हलमा मात्र लान सक्यौं भने त्यो बजार विस्तारका लागि राम्रो हुनेछ । मैले केही ओटीटी कम्पनीलाई नेपाली फिल्मको ट्रेलर देखाउँदा उहाँहरू पनि इच्छुक पाएँ ।

नेपाली चलचित्र निर्देशन गर्न किन तयार हुनुभएको हो ?

मैले भारतमा विज्ञापन बनाउने गर्छु । त्यो हिन्दी मात्र नभई विभिन्न प्रान्तीय भाषामा समेत हुन्छ । नेपाली चलचित्रको प्रोमो हेरेपछि म निर्देशनका लागि तयार थिएँ । तर, सायरा नै निर्देशन गर्ने निर्णय लिनुको कारण यसको कथा नै हो । मलाई प्रस्तुतकर्ता रघु परियार र निर्माता पुष्कर झाले सुनाउनु भएको कथाले पनि यसमा निर्देशक बन्न तयार गरेको हो ।

छायांकनको समयमा भाषाले समस्या निम्त्याउन सक्ला नि ?

यो चलचित्रमा नेपाल र भारतको संयुक्त कास्ट एन्ड क्रिउ हुनुहुनेछ । हामीसँग मुख्य सहायक निर्देशक नेपालकै हुनहुन्छ । जसले मलाई सहज हुनेछ । साथै, हामीसँग काम गर्ने प्रायः कलाकारलाई हिन्दी आउँछ । यसले पनि मलाई सहज हुन्छ । केही दिन नेपाल बस्दा नै केही शब्द मैले जानिसके । यो फिल्मले मलाई नेपाली पूर्णरूपमा सिकाउँछ भन्नेमा विश्वस्त छु ।

चलचित्रलाई दुवै भाषामा खिच्नु हुन्छ कि कुनै एकमा खिचेर डबिङ गर्ने सोच छ ?

हामीले यसबारे निर्णय लिएका छैनौँ । हामी यसलाई नेपालीमा खिचेर हिन्दीमा डबिङ गर्ने सोचमा छौँ । तर अब केही प्रतिशत हिन्दी भाषामै समेत खिच्ने सोच बनाएको छु । यद्यपि यस विषयमा निर्णय लिन अझैँ बाँकी छ ।

बलिउडमा पछिल्लो समय चलचित्र चलेका छैनन् नि ?

हो, केही समययता बलिउडका चलचित्र चलिरहेका छैनन् । यो एउटा समय हो । कोरोना महामारीपश्चात दर्शकहरू ओटीटीमा बढी सक्रिय हुनुभएको छ । जुन समयमा भिसिआर, सिडी, डिभिडीहरू भित्रिएका थिएँ । त्यतिबेला पनि यस्तै समयको सामना गर्नुपरेको थियो । यो ओटीटीको समय पनि छिट्टै सकिन्छ । किनकि दर्शकले हलमा पाउने मनोरञ्जन सानो पर्दा वा मोबाइलमा पाउनु हुन्छ भन्ने मलाई लाग्दैन । अहिले चलिरहेको ब्रह्मास्त्रले दर्शकलाई हलसम्म ल्यायो । आउँदो केही चलचित्रबाट पनि म आशावादी छु । पछिल्ला केही फिल्महरू राम्रो बन्न पनि सकेका थिएनन् । अब विस्तारै राम्रो हुन्छ भन्ने लागेको छ ।

ओटीटीले मात्र अप्ठ्यारो पारिरहेको हो ?

ओटीटी मात्र नभई चलचित्र राम्रो बन्न नसक्नु पनि हो । तर अब हल पुग्ने केही दर्शकलाई ओटीटी प्रदायकले रोकेका छन् । जस्तै, मेरो ड्राइभरले छुट्टीमा चलचित्र हेर्ने गरेको मलाई थाहा छ । तर केही समययता उहाँ फ्री समयमा मोबाइलमै फिल्म हेर्नु हुन्छ । हलमा प्रदर्शन भएको आठ हप्तापछि अधिकांश चलचित्रहरू डिजिटल रिलिज हुने हुँदा पनि फुर्सदको समयलाई दर्शकले हलमा खर्चेका छैनन् जस्तो लाग्छ । पछिल्लो समय तपाई कसैलाई पर्खिरहनुभएको छ भने पनि मोबाइलमा ओटीटीमा रहेका चलचित्रहरू हेर्न सक्नु हुन्छ । टिभी, ल्यापटपभन्दा मोबाइलमा बढी दर्शक जोडिनु भएको छ ।

बलिउडमा ‘प्रोजेक्ट मेकिङ’ कसरी गरिन्छ ?

त्यस्तो फरक छैन । जसरी यहाँ मेकिङ हुन्छ त्यस्तै हो । बलिउडमा कथा तयार भएपछि हामीले कलाकारलाई सुनाउँछौँ । जस्तै, सलमान खान, शाहरूख खान, अक्षय कुमार, अमिताभ बच्चन जस्ता कलाकार तयार हुनुभयो भने लगानीकर्ता सजिलै पाइन्छ । स्टारको भ्यालुअनुसार नै हामीले लगानी जुटाउन सक्छौँ । त्यसपछि टिम तयार हुन्छ । हरेक डिपार्टको हेडले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु हुन्छ । हामीले सबैसँग गरेको सम्झौताअनुसार कामलाई अगाडी बढाउछौँ ।

अन्य चलचित्रहरू गर्ने पनि केही कुराकानी भएको छ ?

सायरा अगाडि अन्य चलचित्र गर्ने सोच छैन । यो बनेर प्रदर्शन नहुँदासम्म म म्युजिक भिडियोहरू गर्छु, तर चलचित्र गर्दिनँ । किनकि यसपछि मलाई नेपालीसँगै अन्य भाषाको फिल्म गर्नेबारे पनि आइडिया हुन्छ । निर्देशक भएपछि धेरै पक्षको जिम्मेवार बन्नुपर्ने भएकाले पनि अहिले यसमै केन्द्रीत छु । अक्टोबर अन्तिमबाट यसलाई अस्ट्रेलियामा छायांकन गर्ने तयारीमा छौँ । आउँदो वर्ष सन् २०२३ मा यो रिलिज पनि हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *