भारतीय पर्यटक भित्रयाउन सीमामा एकद्वार प्रणाली आवश्यक

डिसी नेपाल
७ असोज २०७९ २२:५७

भैरहवा । भारत गोरखपुरका वाइपी चौहान नेपाल भ्रमणका लागि बेलहिया नाका हुँदै भित्रिए । सीमामा घण्टौ लाइन, सवारीको भन्सार पास गराउन सकस, ट्याक्सी चालकको नराम्रो व्यवहार, ठाउँठाउँमा प्रहरी जाँचको हैरानीले उहाँ अब नेपाल आउँदा सोच्नुपर्ने अवस्थामा पुगेको बताउँछन् ।

चौहानको मात्रै हैन भारत सिद्धार्थनगरका सिंघेश ठाकुरको पनि उस्तै गुनासो रहेको छ । “हामी गाडीको भन्सार बनाउन जाँदा घण्टौ समय लाग्ने गरेको छ । दलालमार्फत गए तत्कालनै हुन्छ”, सिंघेशले भने, “नेपाल छिरेपछि पनि ठाउँठाउँमा प्रहरीले दुःख दिने काम गर्दछ ।”

सीमामा देखिएको यो समस्या चौहान र ठाकुरको मात्र नभई नेपालमा यात्राका लागि आउने पर्यटकको भोगाइ हो । नेपाल भ्रमणका लागि आउने भारतीय पर्यटकको गुनासो बढेपछि विकल्पमा भारतकै उत्तराखण्ड, सिक्किमलगायत क्षेत्रमा भ्रमण गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ ।

नेपालमा पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको र यहाँको आतिथ्यता राम्रो भए पनि सीमामा सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ । भारत गोरखपुरका पत्रकार रशद लारी यो सबै समस्याहरुको निराकरण नगरेसम्म भारतीय पर्यटकलाई सहज नहुने बताउँछन् । “नेपालमा बलिउड फिल्मको आकर्षण पनि बढेको छ, भारतीय प्रधानमन्त्रीलगायत उच्च राजनैतिक व्यक्तिको भ्रमणले यहाँ भारतीय पर्यटकको रुची बढेको छ”, उनले भने, “यसलाई नेपालले प्रयोग गर्न जान्नुपर्छ ।”

उहाँले यो सबै समस्याको निराकरण गर्न सीमामा एकद्वार प्रणाली लागू गर्न पनि सुझाव दिनुभयो । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा भैरहवामा नेपाल र भारतका पत्रकारका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय पत्रकारले सीमामा एकद्वार प्रणाली लागू गर्न सुझाएका छन् । सीमामा भारतीय गाडीको सुविधा, भन्सार अन्य जाँचलगायत काम एकै स्थानमा गर्न र त्यसपछि निर्वाध रुपमा नेपाल भ्रमणको व्यवस्था मिलाउन उनीहरुको माग छ ।

भारतीय पत्रकार आलोक जोशीले नीतिगत तहमै सुधार गरी भारतीय पर्यटकलाई सहज यात्राको प्रवन्ध गर्न माग गरे ।

सीमा क्षेत्रमा रहेको कारण भैरहवा तथा यस आसपासमा पर्यटनको मुख्य स्रोत भनेकै भारतीय पर्यटक रहेको सिद्धार्थनगर होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको भनाइ छ । उनले सीमामा भारतीय पर्यटकलाई गरिने व्यवहारका कारण यस क्षेत्रको व्यवसाय प्रभावित हुन थालेको गुनासो गरे । कोभिडपछि बल्ल उकासिन थालेको यहाँको पर्यटन व्यवसायलाई प्रभावित पार्ने गरी कुनै काम नगर्न उनले सरोकारवालासँग आग्रह गरे ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जकि अहमद अञ्सारीले अहिले मन्त्रालयले विभिन्न पर्यटनसम्बन्धी गतिविधि बढाउने गरी काम गरीरहेको बताउँछन् । भारतीय पर्यटकलाई लक्षित गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेको पर्यटकीयस्थलको प्रवद्र्धन गरिएको उनको दावी छ । भारतीय पर्यटकले सीमामा पाएको सास्तीबारे आफूले माथिल्लो निकायमा जानकारी गराई यसको समाधानको प्रयास गर्ने उनको भनाइ छ । “कतिपय समस्या अन्र्तदेशीय सीमाको कारण आउने गरेको छ”, उनले भने, “सीमामा पर्यटकको सहजताको लागि मन्त्रालयले चाडै नै व्यवस्था मिलाउँदै छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.