आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने अन्तिम तयारीमा दलहरु

डिसी नेपाल
१० असोज २०७९ १०:१५

काठमाडौं। मंसिर ४ को निर्वाचन नजिकिएसँगै दलहरु घोषणापत्र निर्माणमा केन्द्रित भएका छन्। आसन्न निर्वाचनका लागि दलहरु घोषणापत्र तयार गर्ने देखि अन्य निर्वाचन केन्द्रित गतिबिधिमा ब्यस्त भएका छन्।

सत्ता गठबन्धनदेखि प्रमुख प्रतिपक्षी एमाले समेत निर्वाचनका लागि घोषणा पत्र लेखनको अन्तिम तयारीमा जुटिसकेका छन्। सबै प्रमुख राजनीतिक दलहरुले समिति नै गठन गरेर घोषणापत्र लेखनमा जुटेका हुन्।

एमालेले अध्यक्ष ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेरै घोषणापत्र निर्माणमा केन्द्रित भएको छ। जसमा पार्टीका बरिष्ठ उपाध्यक्ष महासचिवसहित अन्य पदाधिकारी समेत रहेका छन्। घोषणा पत्र निर्माण अन्तिम चरणमा पुगीसकेको र उपयुक्त समयमा सावर्जनिकीकरण गर्ने तयारी थालेकोे छ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार समितिले घोषणा पत्र निर्माणलाई तीब्रताका साथ अगाडि बढाएको र अब केही दिनमै सार्वजनिक गर्ने तयारी रहेको छ।

‘भदौ १५ गतेसम्म पार्टीका सबै तहबाट र जनवर्गीय सगठनबाट सुझाब संकलन गरिसकेको र त्यसपछि २५ गतेसम्म सर्वसाधारण र विज्ञहरुको बिभिन्न माध्यमबाट आएका ग्रहणयोग्य सुझाब लिएर निर्माणको अन्तिम चरणमा पुगिसकेका छौं ,अब केही समयमै एक कार्यक्रमकाबीच सार्वजनिक गर्ने तयारी रहेको छ,’ उनले भने।

यस्तै गठबनधनकै प्रमुख घटक नेपाली कांग्रेसले पनि समिति ने बनाएर घोषणापत्र लेखन थालेको छ। उसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गठित समितिमा विज्ञदेखि सबै क्षेत्रलाई समेटेको जनाएको छ। कांग्रेसले शर्माको नेतृत्वमा १५ सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको छ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार घोषणापत्र तयारी समितिले जनताको भावना प्रतिनिधित्व गर्ने गरी सर्वसाधारणको सुझाब संकलन गरिरहेको बताए। उनले अब छिट्टै घोषणापत्र सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए।

उनले भने, ‘घोषणापत्र लेखन समितिमा सबै क्षेत्रका विज्ञहरुलाई समेटेर गठन गरेका छौँ उहाहरुले आफ्नो कामलाई तीब्रताका साथ अगाडि बढाउनु भएको छ। विज्ञदेखि सर्वसाधारण सबैको सुझाब लिएका छौं उपयुक्त सुझाबलाई लिपीबद्ध गर्ने काम भइरहेको छ,’ प्रवक्ता महतका अनुसार चाडै नै घोषणापत्र सार्वजनिक गर्ने तयारीमा कांग्रेस लागेको छ।

सत्ता गठबन्धनको एक घटक नेकपा (माओवादी केन्द्र) ले घोषणापत्र निर्माणलाई तीब्रताका साथ अगाडि बढाएको छ। माओवादीका घोषणापत्र लेखन समितिका सदस्य प्रकाश विकल्पका अनुसार घोषणा पत्रको अन्तिम मस्यौदा तयार गर्न थालेको छ।

माओवादीले बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयाजकत्वमा १७ सदस्यीय मस्यौदा समिति गठन गरेरै घोषणापत्र लेखन थालेको हो।
माओवादी केन्द्रको घोषणा पत्र तयार गर्न गठित समितिले विज्ञहरुको सुझाव संकलन गरिरहेको घोषणापत्र मस्यौदा समितिका सदस्य प्रकाश विकल्पले जानकारी दिए।

उनले भने, ‘सबैका सुझाब संकलन गरेका छौं। यही सोमबार पत्रकारको समेत सुझाब संकलन गर्दैछौँ। अब त्यसलाई संकलित गरेर जतिसक्दो चाँडो सार्वजनिक गर्ने तयारीमा छौं सकेसम्म दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी हो हेरौ कस्तो हुन्छ।’

यस्तै नेकपा (एकीकृत समाजवादी) ले गंगालाल तुलाधरको नेतृत्वमा तीन सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको छ। जसमा पार्टीका नेताहरु प्रकाश ज्वाला र डा.विजय पौडेल रहेका छन्।

उक्त पार्टीले घोषणा पत्र तयार गरिसकेको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्। उनले घोषणापत्र लेखनले अन्तिम रुप लिएको बताए। यद्यपि सार्वजनिक भने गठबन्धनले सिट बाँडफाँट गरेपछि मात्रै हुने उनले जानकारी दिए।

उनले भने, ‘लेखन समितिले आफ्नो कामलाई अन्तिम निचोड दिन बाँकी छ अरु सबै सकिसकेको छ। पहिले सिट बाँडफाँटको टुंगो लागेपछि मात्र घोषणापत्र सार्वजनिक गर्ने हाम्रो तयारी छ।’ सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाएपछि मात्रै एकीकृत समाजवादीले घोषणापत्र सावर्जनिक गर्नेे प्रवक्ता खतिवडाको भनाइ छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *