नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको गृहमन्त्रीको आरोप

डिसी नेपाल
१० असोज २०७९ १७:४४

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै खाणल संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु दुःखद भएको बताए । कुनै पनि नागरिक नागरिकताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार पारेको उनले बताए।

गृहमन्त्री खाणले नागरिकता विधेयक पारित नहुदाँ लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आएको र नागरिकता नहुँदा एउटा सिमकार्ड किन्न समेत समस्या सिर्जना भएको बताए । खाणले मुलुकमा सुशासन कायम गर्न सबैले संविधानको पालना गर्नुपर्नेमा जोड दिदै मन र मस्तिष्क जोडेर काम गर्न सके मानवीय विकास सम्भव रहेको बताए । त्यस्तै उनले स्वच्छ भयरहित निर्वाचन गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे । त्यस्तै कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *