एमाले रणनीति : निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार

सत्ता गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल

डिसी नेपाल
११ असोज २०७९ १०:३७

काठमाडौं। सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग चुनावी तालमेल गर्ने नीति लिएको नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तामलेन हुने भएको छ। सत्ता गठबन्धनले गठबन्धनमा सामेल नगरेपछि लोसपा एमालेसँग चुनावी तालमेल गर्न तयार देखिएको हो।

दुवै दलका नेताहरुबीच चुनावी तालमेल गर्ने विषयमा औपचारिक–अनौपचारिक रुपमा छलफल चलिरहेको छ। केही दिनभित्रै चुनावी तालमेल गर्ने निर्णयमा पुग्ने लोसपाका एक नेताले जानकारी दिए।

‘हाम्रो पहिलो रोजाइ सत्ता गठबन्धन नै थियो। तर त्यहाँ सम्मानजनक हैसियत नहुने भएपछि एमालेसँगको सहकार्य हाम्रो अन्तिम विकल्प हो,’ लोसपाका एक नेताले भने, ‘अहिले गठबन्धन नगरी चुनावमा जाने स्थिति छैन, विगतमा पनि एमालेसँग हामीले सहकार्य गरेका हौं, यो चुनावमा पनि एमालेसँग तालमेल गर्नु पर्ने अवस्थामा हामी आइपुगेका छौं।’

एमालेसँग तालेमल गर्ने विषयमा लोसपामा दुई मत छ। एक पक्षले नागरिकता विधेयकप्रति एमालेको भूमिका सन्तोषजनक नभएको भन्दै एमालेसँग तालमेल गर्न नहुने अडानमा छ भने अर्को पक्षले विगतमा ओली सरकारले मधेसका धेरै माग पूरा गरेको र केही पूरा गर्ने प्रक्रियामा रहेको बेला सर्वोच्चको परमादेशमार्फत सरकार नै अपस्थद भएका कारण अब फेरि एमाले नेतृत्वमा सरकार गठन भयो भने मधेसमा माग पूरा हुने वातावरण बन्ने तर्क गर्दै आएको छ।

लोसपाले सत्ता गठबन्धनमा सामेल हुन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत प्रयत्न गरेको थियो। लोसपालाई गठबन्धनमा सहभागी गराउन देउवा पनि सकारात्मक नै थिए।

तर जसपा अध्यक्ष उपेन्द्र यादवले कुनै पनि हालतमा लोसपलाई गठबन्धनमा सहभागी गराउन नहुने भन्दै भूमिका खेलेपछि सत्ता गठबन्धनमा सहभागी हुने लोसपाको प्रयत्न सफल हुन नसकेको नेताहरुले बताएका छन्।

कांग्रेस लोसपलाई सरकारमा ल्याएर निर्वाचनपछि माओवादी बाहेकका दलको समर्थनमा सरकार बनाउन चाहन्छ। तर तत्कालका लागि लोसपालाई सरकारमा सहभागी गराउने कांग्रेसको चाहना पूरा नहुने भएको छ।

अहिले एमाले र लोसपा नेताहरुबीच चुनावी तालमेल गरेर जाने विषयमा घनिभूत छलफल भइरहेको छ। चुनावी तालमेलका लागि दुवै पार्टीले वार्ता टोलीसमेत गठन गरेका छन्। वार्ता टोलीले निर्वाचनमा चुनावी तालमेल र सिट बाँटफाँटको टुंगो लगाउने छ।

एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। सदस्यको नाम भने सार्वजनिक गरेको छैन। उता लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा नेताहरु शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन्।

पछिल्लो समय एमालेले सत्ता गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल गरी निर्वाचनपछि सत्तामा फर्किने रणनीति लिएको छ।

त्यसका लागि एमालेले चुनावी तालमेलका लागि राप्रपासँग पनि छलफल गरिरहेको छ। एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भइसकेको र केही दिनभित्रै सार्वजनिक गरिने राप्रपाका एक नेताले बताए।

राप्रपा र लोसपाबाहेकका अन्य साना दलसँग पनि एमालेले चुनावी तालमेल गर्ने नीति लिएको छ। त्यस बाहेक एमालेले अन्य दलका नेता तथा कार्यकर्तालाई आफ्नो दलमा प्रवेश गराउने अभियान चलाइरहेको छ।

विषेश गरी तराईका जिल्लामा जसपा र लोसपाका नेताहरु एमाले प्रवेश गर्ने लहर चलेको छ। त्यसका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली आफैं सहभागी हुने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *