गोर्खा राइफल्सका अनिल भारतीय सेनाको सर्बोच्च पदमा नियुक्त

डिसी नेपाल
१२ असोज २०७९ २१:०७

काठमाडौं । भारत सरकारले गोर्खा राइफल्सका पूर्व अधिकृतलाई भारतीय सेनाहरुको सर्बोच्च पद अर्थात चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा नियुक्त गरेको छ ।

भारतीय सेनाको लेफ्टिनेण्ट जर्नेल पदबाट सन् २०२१ को मे मा रिटायर्ड भएका अनिल चौहानलाई आज भारत सरकारले भारतीय सेनाको सो सर्बोच्च पदमा नियुक्त गरेको हो । भारतीय रक्षा मन्त्रालयको एक सूचनाअनुसार, चौहान काउण्टर इन्सर्जेन्सी (प्रतिआतंकवाद)सम्बन्धी अपरेशसनमा विशेष दक्ष सैनिक अधिकृत हुन् ।

भारतीय सेनाको प्रधानसेनापति (चार तारे जर्नेल) पनि नभई एकैपटक चीफ अफ डिफेन्स स्टाफ हुने चौहान पहिलो व्यक्ति हुन् । भारतीय सेनाको सो उच्च पदमा हालसम्म जम्मा दुईजनामात्र नियुक्त भएकोमा दोस्रो व्यक्ति पनि गोर्खा पल्टनकै अधिकृतहरु भएको रेकर्ड पनि चौहानले बनाएका छन् ।

केही महिनाअघि भारतीय सेनाका सीडीएस विपीन रावतको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो पद रिक्त हुंदै आएको थियो । रावत पनि गोर्खा पल्टनकै अधिकृत थिए ।

नवनियुक्त सीडीएस चौहानले गोर्खा राइफल्सबाट सन् १९८१ मा सैनिक सेवा शुरु गरेका थिए । उनले युएनअन्तर्गत अंगोलाको शान्ति मिसनमा पनि काम गरेको रक्षामन्त्रालयको सूचनामा उल्लेख छ । चौहान जम्मु काश्मिर र चीनसंगको सीमा क्षेत्रमा सैनिक अपरेशन संचालन गर्ने काममा विशेषज्ञ मानिन्छन् । विगत लामो समयदेखि चीनसंगको सीमा क्षेत्रमा तनाव जारी छ । गतबर्ष दुई मुलुकका बीच हानाहान हुंदै दुबैतर्फका थुप्रै सैनिकहरु मारिएका थिए । भारतले अप्ठेरो परेका बेला तनावपूर्ण स्थानहरुमा गोर्खा पल्टनलाई अग्र पंक्तिमा खटाउंदै आएको छ ।

गोर्खा राइफल्सका चौहानको सैनिक सर्बोच्च तहको नियुक्तिले भारत सरकारले चीनसंगको सीमा विवाद र नेपालसंगको सम्बन्धलाई फौजी क्षेत्रमा पनि उच्च प्राथमिकता राखेको सन्देश दिएको छ ।

भारतीय सैन्य संरचनामा सीडीएसले भारतका सबै प्रकारका फौजहरु स्थल, जल, हवाइ आदिको संयोजन गर्ने जिम्मेवारी पाएको छ । सबै फौजका प्रधानसेनापतिहरुका पनि कमाण्डरको रुपमा सीडीएसले कार्य गर्दछ र रक्षासंग सम्बन्धित विषयमा भारत सरकारको आधिकारिक सल्लाहकारको भूमिका यो पदमा नियुक्त हुने व्यक्तिको हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *