चौबीस घण्टामा विपद्का ४१ घटना: २० घाइते, ३८ लाखभन्दा बढीको क्षति

डिसी नेपाल
२५ साउन २०८३ १०:०४

काठमाडौं। देशभर विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन २३ गते बिहान १०:०० बजेदेखि २४ गते बिहान १०:०० बजेसम्मको २४ घण्टामा मात्रै मुलुकभर ४१ वटा विपद्का घटना दर्ता भएका छन्।

उक्त अवधिमा भएका घटनाहरूमा परी २० जना घाइते भएका छन् भने अनुमानित रु ३८ लाख ४७ हजार ५०० बराबरको भौतिक क्षति भएको छ। विपद्का कारण चार स्थानमा सडक अवरुद्ध हुनुका साथै एउटा चौपायाको मरेको छ।

प्राधिकरणको विवरणअनुसार २४ घण्टाको अवधिमा सबैभन्दा बढी सर्पदंशका २० वटा घटना भएका छन्, जसबाट २० जना नै घाइते भएका हुन्। यसैगरी आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई तथा चट्याङ र वन्यजन्तुको आक्रमणका एक-एक घटना घटेका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा सहायताका लागि १७३ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो।

वैशाखयता विपद्बाट २०५ जनाको मृत्यु

यसैबीच, चालु आर्थिक वर्षको वैशाख १ देखि साउन २४ गतेसम्म देशभर कूल चार हजार ४५२ वटा विपद्का घटना भइसकेका छन्। ती घटनाहरूमा परी २०५ जनाले ज्यान गुमाएका छन् भने पाँच जना अझै बेपत्ता छन्।

प्राधिकरणका अनुसार यस अवधिमा एक हजार ३४७ जना घाइते भएका छन् भने कूल पाँच हजार ४९२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *