खोकनाबासीले मनाए सिकाली जात्रा

डिसी नेपाल
१५ असोज २०७९ १८:४४

काठमाडौं । दसैँका बेला ललितपुरको खोकनाबासीले सिकाली जात्रा मनाइरहेका छन् ।

खोकनावासीले बडादसैँको सट्टा सिकाली जात्रा मनाउने गर्छन् । घटस्थापनादेखि महानवमीको दिनसम्म यो जात्रा मनाइन्छ । जात्रा अन्तर्गत नवरात्रको छैटौँ दिन शनिबार स्थानीयले विभिन्न १४ देवगणको पूजा गरी सिकाली मन्दिर परिसरमा बाजागाजासहित नाचगान गरेका छन् ।

असोज शुक्ल षष्टीका दिन सिकाली मन्दिरमा रुद्राणी देवगणहरूले नृत्य प्रस्तुत गर्ने पराम्परा छ । सप्तमीका दिन लीला नाच हुन्छ । यो लीला नाच १४ जनाले प्रस्तुत गर्छन् । यो नाच कुमार र गणेशको सुमेरु पर्वत परिक्रमा कथामा आधारित छ । अष्टमीको दिन जात्राको समयमा गुठीमा लगेका मन्दिरका मूर्ति पुनः प्रतिस्थापन गरिन्छ ।

नवमीका दिन १४ देवताको मुखुण्डो मन्दिरको भित्तामा टाँगिन्छ । तान्त्रिक विधिद्वारा मुखुण्डोहरू पुनः चारवटा बाकसमा थन्काइन्छ । नाचका पोसाकहरू भने सबै देउता खलकले सुरक्षितसाथ घरमा राख्छन् । जात्रा थन्क्याएपछि दशमीको दिन आराम गर्छन् । जात्राका समय आफ्ना सबै नातेदारलाई डाकेर भोज खुवाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *