मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइयो विजया दशमी

डिसी नेपाल
१९ असोज २०७९ १७:१६

काठमाडौं । बडा दशैंअन्तर्गत मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइएको छ ।

नौं दिनसम्म दशैंघरमा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ । साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटलाई उत्तम साइत तोकेको थियो ।

घटस्थापनाका दिन दशैंघर या कोठामा स्थापना गरिएको दुर्गा भवानीलाई नौं दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी परिवारका सबै सदस्य एकै स्थानमा बसेर टीका लगाउने परम्परा छ । रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

दशैंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशिर्वचन विशेष महत्वका हुन्छन् ।

दशैं हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा रहेको छ । घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकहाँ पुगेर टीका र आर्शिवाद थाप्न आज दिनभर निकै दौडधूप हुने गर्दछ । नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *