सिट बाँडफाँटको निर्णायक वार्तामा सत्तारूढ गठबन्धन, जसपा एमालेसँग पनि वार्तामा

डिसी नेपाल
२० असोज २०७९ २०:३४

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेका छन् ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब दुई दिनमात्र बाँकी रहेकाले पनि आजै बाँडफाँट टुङ्ग्याउन लागिएको उनले बताए । गठबन्धनको बैठक जारी रहेकाले आज बस्ने भनिएको सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसक कार्यसम्पादन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।

सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।

जसपा एमालेसँग पनि वार्तामा
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला जसपा अध्यक्ष उपेन्द्र यादव भने बालकोट पुगेर एमाले नेतृत्वसँग छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।

गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने जसपा नेताहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *