गठबन्धनमा प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा, प्रदेशसभाको शनिबार सकिने

डिसी नेपाल
२१ असोज २०७९ २२:०७

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ । जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । शीर्ष नेताको आजको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विषयमा छलफल भयो ।

प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेशसभाका विषयमा छलफल भइरहेको छ । प्रदेशसभाको बाँकी छलफल शनिबार गर्ने निष्कर्षकासाथ आजको बैठक केहीबेरअघि सकिएको जानकारी पनि उनले दिए । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुप दिन निर्णायक वार्तामा नेताहरु जुटेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले पनि शनिबार बिहानै सहमतिलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि छलफल गरिरहेका छन् । लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ । सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *