प्रेरणाका पुञ्ज शताब्दी पुरुष

डिसी नेपाल
३० असोज २०७९ १०:११
96
Shares

काठमाडौँ। शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्‍याएका छन्। उनका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन्।

बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भएको हो। उनीप्रति श्रद्धाञ्जलि दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुगेका छन्। उनी काव्यकार, नाटककार, कथाकार, निवन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध थिए।

उनी लोक साहित्य, लोक संस्कृति, संस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनुदित कृति प्रकाशित गरेर संस्कृतिविद्, कुशल अन्वेषक र अनुसन्धाताका रूपमा स्थापित र प्रतिष्ठित छन्।

राष्ट्रको प्रशासनिक सेवामा औद्योगिक सुपरीवेक्षक, सङ्ख्या विभागका सुपरिटेण्डेन्ट, राष्ट्रिय योजना परिषद्का प्रोग्राम अफिसर, पुरातत्व र संस्कृति विभागका डाइरेक्टर बनी उनले उत्कृष्ट राष्ट्रसेवा गरेका छन्।

उनले चीनमा नेपाली भाषाका प्रशिक्षक, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ र प्राध्यापककारूपमा कार्य गरी उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान दिए।

संस्कृतिविद् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव र नेपाली भाषाका अकादमीका कुलपतिको रूपमा कार्य गरी नेपाली प्रज्ञाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कर्णालीको भाषा, साहित्य र संस्कृति प्रकाशनमा उनी र उनको समूहको ठूलो योगदान रहेको छ।

उनी अनेकौँ सङ्घसंस्थाका संस्थापक र सञ्चालक थिए। उनी राष्ट्रका लागि दिएका अमूल्य योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकार र अन्य सङ्घसंस्थाले अनेक सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत, मनार्थ महाविद्यावारिधि उपाधिबाट विभूषित तथा वाङ्मय शताब्दी पुरुष सम्मानबाट सम्मानित थिए। उनले तीनपटक प्रशिद्ध मदन पुरस्कार प्राप्त गरेका थिए।

शताब्दी पुरुष जोशी नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव र अजम्मरी राष्ट्रिय सम्पदाका रूपमा रहनुभयो । अत्यन्त लगनशील, सिर्जनशील र ओजस्वी व्यक्तित्वको उनको छवि थियो। जोशी समाजका सबै वर्ग समुदाय तथा तह र तप्का प्रेरणाका स्रोत थिए।

नारायण न्यौपाने/रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *