सुदुरपश्चिमले जित्यो अमेरिकाको भलिबल, महिलातर्फ बीवाईएससी विजयी

डिसी नेपाल
३१ असोज २०७९ १९:५०

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपालीभाषीहरुको सबैभन्दा ठूलो भलिबल प्रतिष्पर्धा इन्ट्रा कप भलिबलमा सुदुर पश्चिम नेपाली समाज, टेक्सासको टीम पुरुषतर्फ प्रथम भएको छ ।

अमेरिकी समयअनुसार, आइतबार साँझ (नेपालमा सोमबार बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदुरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपालीभाषी टीम योङ्ग ब्लडलाई पराजित गरेको थियो । ५ सेटको निर्धारित खेलमा ३—१ को सेटमा सुदुर पश्चिम समाज विजयी भएको थियो । सो टीमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टीमका क्याप्टेन भइसकेका कैलाश भट्टले गरेका थिए ।

२१ वटा पुरुष टिम सहभागी सो खेलमा प्रथम हुने सुदुर पश्चिम टीमले ८५०० अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ्ग ब्लड टीमले ६५०० डलर पुरस्कार पाएको छ । यसैगरी महिलातर्फ ८ वटा टीम सहभागी भएकोमा बीवाईएससी, मिनिसोटाले फाइनलमा जित हात पारेको छ । सो टीमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार ३ सेटमा पराजित गरेको थियो । विजयी टिमले ३५०० अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले २५०० र तेस्रो हुने सर्भाभर क्लबले १००० डलर पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदुर पश्चिमका कैलाश भट्टले नै जितेका थिए भने महिलातर्फ कोलम्बसकी भिमा मैनालीले जितेकी थिइन् । खेल जितेसँगै सुदुर पश्चिमका खेलाडीहरुले खेल हलभित्र देउडा गीत घन्काएर नाचेका थिए भने उनीहरुको नाचलाई प्रतिष्पर्धी टीम योङ्ग ब्लडका खेलाडीहरुले पनि संगै नाचेर हार्दिकता दर्शाएका थिए ।

शनिबार र आइतबार दुई दिनसम्म भएको सो प्रतियोगितका विभिन्न खेलहरुबाट हरि राई , पुजन मगर, कैलाश भट्ट, दिनेशप्रताप सिंह, ध्रुव श्रेष्ठ, रोशन मल्ल, जीवन शाही विपीन, खुम, रविन गुरुंग म्यान आफ द म्याच घोषित भएका थिए भने वोमन अफ द म्याच हुनेहरुमा बन्दना अधिकारी, कोपिला बस्नेत र निकिता लामा शेर्पा थिए ।

विजयी टीमहरुलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । फाइनल खेल हुनुअघि इन्ट्रा फाउण्डेसनको डान्स कक्षाका साना साना बालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *