जीवन एक सपना

शंकरप्रसाद रिजाल
८ कार्तिक २०७९ ८:४४

जीपनमा पाउने सुख, सुबिधा, मान र शानमा मानिस किन आफूलाई बैभवशाली देखाउँदछन्? यी चिज त एक सपना मात्र हो। भयानक महासगरको पानीको छाल जस्तो मात्र हो, जुन आउँछ अनि जान्छ।सांसारिक यी वस्तु केवल बुलबुले पानीको थोपा हो, एकदिन फुटेर उही महासागरमा बिलय हुन्छ।

जीवन त एक सपना जस्तै हो जहाँ सम्पूर्ण होश हराइ दुनिया भरका मानिसलाई आफ्नो बनाई अनेक नाता गाँसी बेहोशिका सबै कामाई बिश्राम दिइ सारा संसार छोडी फेरि एउटा वास्तविक यात्रा तय गर्ने हो।

यो जीवनरुपी सपनामा देखिएका सबै सुख, दुख र रौनक र फूलबारी केवल दुई दिनको झलक मात्र हो। यस्तो जीवन सपनामा पनि मानिस तेरो र मेरो भनी मायामोह, रिस राग, भोगविलास,इष्र्या र घमण्डका कमजोर धागा एक आपसमा तानातान गरिरहेको हुन्छ।

आखिर यी सबै धागा एक एकगरि चुँडिएर जान्छन् अनि बन्धनका सबै ग्रन्थीहरु फुटेर जब आफू भित्र रहेको बेहोसीको हृदय दनदन जलेर जान्छ र त्यसपछि त बन्धनको नामो निशान रहँदैन।

बन्धन मुक्त आत्मालाई परमेश्वरको अमुर्त रुपमा बदलिइ हरेक दिन पूजापाठ र प्रार्थनाको समर्पण चढाउँदै जिवित मानिसहरु पुन बेहोसिमै सपनाको तरंगमा आफ्नो जीवन संसारमा डुबुल्की मारिरहेका हुन्छन्।

भएको अस्तित्व देखिने र मेटिने क्रमको शिलशिलामा कोही सुतिरहेका छन्, कोही खाइरहेका छन् कोही अस्पतालबाट फर्की रहेका छन् भने कोही अस्पताल गइरहेका छन्, कोही जन्मिने र मर्ने बिन्दुमा छन्। यहाँ कसैको पनि एकरुपता छैन भने यो सपना नभए अरु के हो त? यहाँ अस्तित्व देखिने र मेटिने क्रम जारी छ।

सपनाको यो संसारमा डुबुल्की मार्ने यी समस्त मानव एक एकगरि आकासबाट यो धर्तीमा अवतरित हुँदै पुन : अनन्त बिश्राम लिन्छन्। त्यसकारण जीवन एक सपना नभए अरु के हो त? जब यसले सोचेका हरेक कुराले चीर बिश्राम लिन्छन्, त्यस्तै आफूले गरेका असंख्य कामकाज,कलाकीर्ति केवल स्मृतिको बाकसमा कैद भइ लामो समयसम्म रहन्छ र कालान्तरमा इतिहासको पानासँगै यसले आफूलाई ओझेलमा पाउँदछ।

संसारको उत्पत्ति भएसँगै आजसम्म कति त्यस्ता अरबौं कामहरु भए, अरबौं मानिस जन्मिए र अरबौं सोचको उत्पत्ति भयो होला। अनेकौं युग फेरिए होलान् तर पृथ्वीमा भएको उन्नति भने पनि प्रगति भने पनि आखीर यही हो।

सपनाको जीवनमा भुलेक कोही अमेरिका, बेलायत, फ्रान्स, इटाली, जर्मनी र युरोपियन मुलुकहरुको बराबर प्रशंसा गरिरहेका हुन्छन्। सधैं तिनीहरुका सपनाको संसारलाई थपडी मारी मारी आफूलाई सपनाको संसारमा उडाइरहेका हुन्छन्।

अँध्यारो र तड्पिएको यो संसारको हर भागमा धेरैले आफ्नो सत्य चिजलाई भुलेर अर्कै सपना देखिरहेका हुन्छन्। भएको आफ्नो अगाडि रहेको संसारलाई बिर्सिएर अर्कै संसारको खोजीमा लागिरहेका हुन्छन्। तर जसले जे पाउँदछ त्यो सब मिथ्यामात्र हो, सपना मात्र हो चाहे त्यो विपनाको होस् वा सपनाको नै। सबै अन्त्यमा विलीन भई जाने बिषय र वस्तु हुन्।

यो घोप्टिएको आकासमुनि अटाएका सबै मानिस एकै हुन्। तर सबै थरिथरीका छन्। कोही धनी, कोही गरीब माग्ने। सबै सपनाको संसारमा बसेका छन्। यहाँ सपनामै कैयौं लुटिएका छन्। कैयौं मारिएका छन्। कैयौं मार्नेमा लागेका छन्। कैयौं जन्मिरहेका छन् भने कैयौं मरिरहेका छन्।

आउने र जाने, निर्माण र नास साथ साथै भइरहेको छ। कोही गइरहेका छन् भने कोही आइरहेका छन्। कोही रोइ रहेका छन भने कोही हाँसिरहेका छन्। यहाँ कसैको एकनास काम क्रिया र कर्म छैन भने यो सपना नभए अरु के हो त?

भएको अस्तित्व देखिने र मेटिने क्रमको शिलशिलामा कोही सुतिरहेका छन्, कोही खाइरहेका छन् कोही अस्पतालबाट फर्की रहेका छन् भने कोही अस्पताल गइरहेका छन्, कोही जन्मिने र मर्ने बिन्दुमा छन्। यहाँ कसैको पनि एकरुपता छैन भने यो सपना नभए अरु के हो त? यहाँ अस्तित्व देखिने र मेटिने क्रम जारी छ।

क्षणभरको आँखा चिम्म पार्दा संसार अँध्यारो हुने र आँखा खोल्दा संसार उज्यालो हुने, यो कस्तो जीवन जहाँ स्थायित्व कुनै चिजको पनि छैन। कुनै पनि कुराको स्थायित्व यो जीवनमा कालान्तरमा रहँदैन भने यो बिपना पनि सपना नै हो।

त्यसकारण सपनाको गोलचक्र भित्रको जीवनमा हुने हरेक क्रियाकलाप, सम्बन्ध, नाता माया, मोह, राग, द्वेष, इष्र्या, अहंकार र आचार र बिचार सब मिथ्या हुन् खुद सुतेको बेलामा देखेको सपना जस्तै।

थाह छैन, संसारका मानिस बिपनामा के-के सपना देख्छन् र सपनामा के-के गर्दछन्। कति रुन्छन्, कति हाँस्छन्, कति पहाड चढछन् र कति पहाडबाट हाम्फाल्छन्। कति बेहोशमा मदहोस भइ नाच्दै हिँड्दछन्।

आखिर बिपना पनि एकदिन चिर निन्द्रामा परेपछि सम्पूर्ण कुराहरु सपनामा परिणत हुन जान्छन। किनकि यो नश्वर चोलाको नाफा नोक्सान सबै सपना हो। पाएको कुरा गुम्ने, हराएको कुरा पाउने, पढेलेखेको देखे सुनेको सबैजसो बिर्सने।

बालापन, केटाकेटीपन, युवा वस्थापन, जवानीपन र बयस्कपना सबै लुटिने र अन्त्यमा मानिस शुन्य सरि बिलाउने यो जीवन सपना नभए अरु के हो त? तसर्थ यस्तो बल्झिएको र अल्झिएको दृश्य र परिदृश्यको के भरोसा चाहे त्यो सपना होस् वा बिपना नै।

यो सपना र बिपनाको समय बितेको करोडौं बर्ष बितिसकेको छ। मानिस अहिले यही कुरा बुझेर वा नबुझी हरेक कामकाज हतार हतारमा गर्दछन्। हतारमा उठ्छन्, हतारमा खान्छन्, हतारमा अफिसको काम गर्छन्, हतारमा प्रेम गर्छन्, हतारमा बिचार गर्छन्।

त्यस्तै इष्र्या, रिस, डाहा, घमण्ड, बिरोध र समर्थन गर्छन्। यहाँ फेरि हतारमै माया र करुणा पनि देखाउँदछन्। बिपनामै सपना जस्तो गराउँछन्। सपनाजस्तै बिपनापनी भ्रम छ यहाँ। यहाँ पाएको चिज हराउँछ। आफूलाई जन्माउने बाबुआमा मर्छन्।

कल्पनानै नगरिएकासँग विवाह हुन्छ चाहे केटाको होस् वा केटीको बच्चा बच्ची हुन्छन्। आफू बुढो भइन्छ,मरिन्छ र फेरि सन्ततीको पनि त्यही हालत दोहोरिन्छ। सम्पूर्ण क्रियाकर्मको पुनरावृत्ति भइनै रहन्छ।

दिन भन्न नपाउँदै रात आउँछ र रात भन्न नपाउँदै दिनको प्रवेश भइहाल्छ। यसैको क्रममा समयले फेरि युगको परिवर्तन हुन्छ। सत्य त्रेता द्वापर र आजको कलियुग। यसैमा हजारौं जिवको लय र प्रलय हुन्छ भने यो बिपना पनि सपना जस्तो नै नभए अरु के हो त?

होशको समय बिपनामा पनि मान्छे सपनामा जस्तै अनेक खोजमा भौंतारिरहेका हुन्छन्। केही पाउने आशामा। तर अफसोच! खोज्दा खोज्दै एकदिन मानिसको अतृप्त आत्माले छोडेर जान्छ र जीवको बिलय हुन्छ।

सपनामा होली खेलेर रंगिएको अनुहार र कपडा बिपनामा ब्युझिँदा उही सादा अनुहार र पोसाकमा देखे झैं बिपना पनि सपना जस्तो झिलिमिली कहाँ हुन्छ र? पूर्वमा उदाएको हजार सूर्यको तेज पनि पश्चिम आकासमा पुगेपछि घोप्टो परी रोएपछि सारा संसारलाई अन्धकार बनाए जस्तो र त्यही सूर्य फेरि पुर्वी आकासमा नयाँ र नौलो उषाको किरण छाइ नौलो जीवन दिए जस्तो यो बिपना र सपनाको संसार दुवैलाई एक सपनाजस्तो बनाउने आखिर कुन अदृश्य शक्ति हो, जसले यो जगतलाई संचालन गरिरहेको छ?

जसको कुनै नियम कानुन, क्रिया र कर्ममा कुनै तल माथि हुँदैन। यो परम सत्ताधारी पिता परमेश्वरप्रतिको समर्पण भाव र नमन नै एक मात्र उद्देश्य मान्नु मानवमात्रको कर्तब्य हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *