ऋषि सुनकको सफलताको कथा

कपिल लोहनी
१० कार्तिक २०७९ ७:३८

यो हप्ता संयुक्त अधिराज्यका नयाँ प्रधानमन्त्रीमा भारतीय मूलका व्यक्ति ऋषि सुनक चयन भएपछि बेलायतमा मात्र होइन कि विश्वभर नै यो कुराले ठूलो चर्चा पाएको छ।

भारतीय मूलका व्यक्ति, त्यसमा पनि एक हिन्दूले विश्वको सबैभन्दा पुरानो मध्येको प्रजातान्त्रिक तथा विकसित मुलुकमा प्रधानमन्त्री हुन पाएको यो पहिलो चोटी नै हो। यसको साथै बेलायतमा २०० वर्षमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुने व्यक्ति पनि उनी नै भएका छन्।

उनको उमेर ४२ वर्षको भयो। उनी भन्दा पहिले सन् १७८३ मा २४ वर्षको उमेरमा विलियम पिट् बेलायतका सबैभन्दा कम उमेरका प्रधानमन्त्री भएका थिए।

सनातन धर्मावलम्वीहरूको लागि ऋषि सुनक संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा चयन हुनु एउटा निक्कै हर्षको कुरा भएको छ। त्यसमाथि उनले हालै दिपावलीको उपलक्ष्यमा बेलायतजस्तो क्रिस्चियन राष्ट्रमा समेत गाइको पूजा गरेको तस्विरले विश्वभरका हिन्दूहरूलाई हर्षित तुल्याएको छ।

ऋषिले प्रधानमन्त्रीको पदको गोपनीयताको शपथ लिँदा पनि गीतामा हात राखेर शपथ लिने पहिलो प्रधानमन्त्री हुने अवसर पाएका छन्।

करिव अढाई महिना अघि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनलाई कोभिड महामारीको बेला निशेधाज्ञाको अवज्ञा गरेर घरमा पार्टी गरेको र साथीहरूसँग मद्यपान गरेको आरोपमा धेरै हप्ता संसदमा र विभिन्न सञ्चार माध्यममार्फत राजीनामा गर्न दवाव पर्न थालेपछि र अर्का एक सांसदको यौन दुराचार सम्बन्धि मुद्दाले गर्दा उनी आफ्नो पदबाट राीजनामा दिन बाध्य भए।

त्यसपछि बेलायतको कन्जर्भेटिभ पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्ने होडमा अग्रस्थानमा परेका आधा दर्जन कन्जर्भेटिभ सांसदहरू मध्ये त्यहाँका अर्थमन्त्री समेत भइसकेका भारतीय मूलका व्यक्ति ऋषि सुनकको पनि अवस्था बलियो हुँदै गयो र आखिर उनी र परराष्ट्र मन्त्री रहिसकेकी लिज ट्रस बीचको प्रतिष्पर्धामा ऋषि पराजित भए।

फलस्वरुप कुनै बेला गणतन्त्रको वकालत गर्दै हिँडेकी लिज ट्रस कन्जर्भेटिभ पार्टीकी नेतृ र प्रधानमन्त्री बन्न पुगिन्। उनले प्रधानमन्त्रीको रूपमा रानी एलिजावेथ द्वितियालाई भेटेकै भोलिपल्ट रानीको देहावसान हुन गयो।

कट्टर क्रिस्चियन मुलुक बेलायतमा यदि त्यतिबेला ऋषि सुनक जस्ता गैह्र क्रिश्चियन हिन्दू धर्मावलम्वी तथा गैह्र बेलायती मूलका अश्वेत व्यक्ति प्रधानमन्त्री भएर रानीलाई भेटेकै भोलिपल्ट रानीको देहावसान भएको भए त्यहाँका मात्र होइन विश्वभरका कट्टरपन्थी र संकीर्ण सोच राख्ने जमातले ऋषिलाई लच्छिन नभएका वा अशुभ व्यक्तित्वको रूपमा लिने थिए होलान्।

तर त्यतिबेला नेतृत्वको त्यो होडमा उनी पछि परेर प्रधानमन्त्री हुन नपाउनु नै उनको निम्ति ज्यादै शुभ हुन गयो।

आखिर निधारमा लेखेर आएपछि त्यो नभइ छाड्दैन भनेझैं रानीको देहावसान र लिज ट्रसको अति छोटो प्रधानमन्त्रीत्वकाल (४५ दिन) पछि नै उनले बेलायतको प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गरे।

हालै केही सामाजिक सञ्जालहरूले प्रशारित गरेका समाचारहरूमा त ऋषि सुनकका पुर्खाहरू नेपालको दोलखाबाट भारतको पञ्जावमा बसाईँ सरेको र उनको बाजेले आफ्नो थर सुनारबाट सुनक लेख्न थालेको भन्ने पनि पढियो। यो कुराको आधिकारिक पुष्टि भने भइसकेको छैन।

प्रधानमन्त्री भएको दिन उनले टेन डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्रीको कार्यालय बाहिर जनसाधारणलाई दिएको आफ्नो प्रथम भाषणमा उनी भन्दा पहिलेकी प्रधानमन्त्री लिज ट्रसले आर्थिक सुधारको ठीकै कदम चालेको तर उनी केही कुरामा चुकेकीले राजीनामा गर्नु पर्ने स्थिति आएको तथा आफुले ती गल्तीहरूलाई सच्याएर सुधारका कार्यक्रमलाई मूर्तरूप दिने कुरा बताएका थिए।

१२ मई १९८० मा बेलायतको साउथ्याम्प्टन, हेम्पसायरमा जन्मेका ऋषिका भारतीय मूलका माता र पिता सन् १९६० को दशकमा क्रमशः पुर्वी अफ्रिकी राष्ट्र तान्जानिया र केन्याबाट बसाईँ सरेर संयुक्त अधिराज्यमा पुगेका थिए र त्यहीँ चिकित्सा सम्बन्धि व्यवसायमा लागेका थिए।

वास्तवमा ऋषिका पिता पट्टिका हजुर बुवा हालको पाकिस्तानमा पर्ने पञ्जावको गुज्रनवाला भन्ने गाउँ (आजको ठूलो शहर)मा जन्मेर पछि केन्या पुगेका थिए भने उनका आमा पट्टिका हजुर बुवा भने दिल्लीबाट तान्जानिया पुगेका थिए।

त्यतिबेला भारतमा र ती अफ्रिकी मुलुकमा पनि बेलायतको राज भएकोले कामको सिलसिलामा बेलायतको एक उपनिवेशबाट अर्कोमा वा बेलायतमा नै पनि आवत-जावत गर्न आजको जस्तो रोकटोक थिएन।

यस्तै माहौलमा उनका हजुरबुवा तथा हजुरआमाहरु भारतबाट अफ्रिका हुँदै बेलायत पुगेका थिए र त्यहाँ पनि निक्कै इज्जतका साथ जीवन बिताएका थिए। उनीहरूले बेलायतमा पुगेर ठूलो धनराशी कमाउन पनि सफल भएका थिए।

हालै केही सामाजिक सञ्जालहरूले प्रशारित गरेका समाचारहरूमा त ऋषि सुनकका पुर्खाहरू नेपालको दोलखाबाट भारतको पञ्जावमा बसाईँ सरेको र उनको बाजेले आफ्नो थर सुनारबाट सुनक लेख्न थालेको भन्ने पनि पढियो।

यो कुराको आधिकारिक पुष्टि भने भइसकेको छैन तर पनि नेपालबाट यसैगरी धेरै मानिसहरू भारत र विदेशमा गएर पछि उनका सन्ततीले निक्कै ख्याती कमाएका कुराहरू पनि सुन्नमा आएका छन्।

ट्रिनिडाड एण्ड टोबेगोमा जन्मेका बेलायती नागरिक तथा विश्व विख्यात उपन्यासकार विद्याधर सुरजप्रसाद नइपाउल (भि.एस. नइपाउल) का पुर्खाहरू भारतबाट ट्रिनिडाडमा उखु खेती गर्ने मजदुरको रूपमा अठारौँ शताब्दिमा गएका थिए भन्ने कथन भए पनि वास्तवमा उनका पुर्खा नेपाली भएका र भारतीय ठेकेदारले तिनलाई नेपालबाटै उता लगेको कुरा नइपाउल आफैंले पनि कुनै अन्तर्वार्तामा भनेका थिए रे।

यसरी नै त्यतिबेला धेरै नेपालीहरु नेपालका विभिन्न भाग र काठमाडौँ उपत्यकाबाट समेत भारतीय ठेकेदारहरूको साथमा उखु तथा अन्य खेती किसानीको लागि वर्मा, मलाया, फिजी, मरिसस, ट्रिनिडाड आदि मुलुकमा लगिएका र अधिकांश त्यस्ता मानिसहरू उतै बसेका कुराहरूको समेत उनकै सन्ततीहरूबाट समेत पुष्टि भइसकेको छ।

सन् २००९ मा कम्प्युटर सफ्टवेयर निर्माता इन्फोसिसका अर्बपति मालिक एन.आर. नारायणमूर्तीकी सुपुत्री अक्षता मूर्तीसँग विवाहवन्धनमा बाँधिएका ऋषिले पुर्खौली सम्पत्ति तथा आफ्नै बलबुता र मेहनतले कमाएको सम्पत्तिको साथै उनकी पत्नीको सम्पत्तिसमेत जोड्दा संयुक्त अधिराज्यकै २२२ जना धनाढ्यहरूमध्ये गनिने अवसर प्राप्त गरे।

सन् २००६ मा प्रख्यात स्ट्यानफोर्ड विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तिर्ण गरेका ऋषिले शुरुमा विभिन्न प्रकारका हेज फन्ड व्यवस्थापनका निकायहरूमा काम गरेका र आफ्नै ससुराका केही व्यवसायमा पनि निर्देशकको रूपमा काम गरेका थिए।

सन् २०१४ देखि भने उनले कन्जर्भेटिभ पार्टीको रिच्मण्ड (योर्क) क्षेत्रमा सक्रिय प्रतिनिधिको रूपमा काम गर्ने मौका पाए र अश्वेत तथा अल्पसंख्यक जातीय अनुसन्धान इकाइको नेतृत्व गरेर बेलायतको सो सम्प्रदाय बारेको एक पुस्तक समेत लेखे।

यसको लगत्तै उनी २०१५ को आमनिर्वाचनमा बेलायती संसदका सदस्यमा निर्वाचित भए तथा संसदको वातावरण, खाद्य तथा ग्रामीण मामिलासम्बन्धि समितिको सदस्य पनि हुन पुगे।

२०१६ को जुनमा भएको युरोपियन युनियनको सदस्यता सम्बन्धि जनमत संग्रहमा ऋषिले बे्रक्जिटलाई समर्थन गरे र सोको कार्यान्वयन पश्चात गर्नु पर्ने केही महत्वपुर्ण कार्यहरू बारे पनि अनुसन्धानात्मक आलेखहरू लेखे।

२०१७ को आमचुनावमा उनी अझ धेरै मत ल्याएर विजयी भए र स्थानीय विकास सहायक मन्त्री हुन पुगे। २०१९ मा वोरिस जोन्सन कन्जर्भेटिभ पार्टीको नेता भएर टेरेसा मेको ठाउँमा प्रधानमन्त्री चयन हुँदाका दिनहरूमा ऋषिले बोरिसलाई निक्कै धेरै समर्थन गरे र फलस्वरुप उनको मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको कार्यभार पनि सम्हाल्ने मौका पाए तथा २०१९ को चुनावमा अझ धेरै मतका साथ पुनः निर्वाचित भए।

अर्थमन्त्री भएपछि ऋषिले कोभिडको महामारीबाट जनतालाई राहत दिनको लागि ठूलो वजेट प्रस्तुत गरेका थिए। त्यसपछिका वजेटमा पनि उनले कोभिडका कारण रुग्ण बन्न पुगेका व्यवसायहरू तथा कोभिडको कारण वेरोजगार हुन पुगेकाको नोकरी बचाउनलाई पनि पटक पटक ठूलो धनराशीको व्यवस्था गरेका थिए।

सांसद क्रिस पिन्चरको यौन दुराचार मुद्दाको कारण साजिद जावेदले स्वास्थ्य मन्त्रीबाट राजिनामा दिए पछि ऋषि सुनकले पनि सन् २०२१ को ५ जुलाईमा आफ्नो पदबाट राजीनामा दिए र आखिर प्रधानमन्त्री बोरिस जोन्सनले पनि राजिनामा दिनु पर्‍यो।

यस्तो प्रकारले हालै मात्र प्रधानमन्त्री हुन पुगेका ऋषि सुनक माथि बेलायती जनताले ठूलो आशा गरेका छन् भने उनी पनि बेलायती अर्थतन्त्रमा सुधार ल्याउने चुनौतीपूर्ण अभियानलाई सफल बनाउन दृढ देखिन्छन्। तर आउने दिनहरूले नै उनी सफल हुन्छन् कि हुँदैनन् भन्ने कुराको निर्णय गर्नेछन्।

विश्वका कैयन् मुलुकहरूमा आप्रवासी समुदायबाट प्रतिनिधित्व गर्ने कैयन् व्यक्तिले राष्ट्रका महत्वपूर्ण पदहरू र सम्वैधानिक पद तथा सरकार वा राष्ट्र प्रमुख नै हुने मौका पाएको दृष्टान्त छ।

पेरुमा सन् १९९० मा जापानी मूलका अल्वर्टो फुजिमोरी राष्ट्रपति निर्वाचित भएका थिए भने मोरिसस, सुरिनाम, फिजी, ट्रिनिडाड एण्ड टोबेगो, गुयाना, सिंगापुर, पोर्चुगल, आयरल्याण्ड, सिसेल्स र मलेशियामा पनि भारतीय मूलका व्यक्तिहरू पटक पटक सरकार प्रमुख वा राष्ट्र प्रमुख भएका छन्। मलेशियाका लामो समयसम्म प्रधानमन्त्री भएका वयोवृद्ध नेता महाथीर मोहम्मदकै थातथलो पनि भारतको केरला हो।

त्यस्तै संयुक्त राज्य अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसकी माता पनि भारतबाटै अमेरिकामा आप्रवाशन गरेकी हुन्। अमेरिकी ४४औँ राष्ट्रपति बाराक हुसेन ओबामाका पिता केन्याका नागरिक थिए र हवाई विश्वविद्यालयमा अध्ययनको निम्ति जाँदा बाराककी माता एन डनह्यामसँग भेट भएर विवाह भएको थियो। यसरी आफ्नो थातथलो छोडेर विदेशमा आप्रवाशन गरेका कैयन् व्यक्तिका उतै जन्मेका सन्तानले ती मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख वा उच्च पदस्थ अधिकृत हुने मौका पाएका छन्।

तर पूर्व अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर र मेडलिन अल्ब्राइट पहिलो पुस्ताका अमेरिकी नागरिक भएकाले उनीहरू ज्यादै लोकप्रिय भएर पनि राष्ट्रप्रमुख हुन भने योग्य थिएनन्। त्यस्तै भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीकी पत्नी सोनिया गान्धी पनि पहिलो पुस्ताकी भारतीय भएकीले उनलाई प्रधानमन्त्रीको दावेदार हुन दिइएन।

विश्वमा स्थापित मान्यता अनुसार मानिस जुनै पनि मुलुक वा भौगोलिक क्षेत्रमा जन्मेको किन नहोस् उसलाई आफ्नो जन्मभूमि जस्तो प्यारो ठाउँ अरु कुनै पनि हुन सक्दैन।

तर उसका सन्तान आफ्ना बाउआमाले आफ्नो थातथलो छोडेर जुन देशमा गएर बसोबास गर्छन् र जहाँ उनीहरूको जन्म भएको हुन्छ र जहाँ उनीहरू हुर्किन्छन्, पढ्छन् र बढ्छन्, त्यही ठाउँ वा देशको माया उनीहरूलाई सबैभन्दा बढी लाग्छ।

त्यसैले माथि उल्लेखित मुलुकहरूका विदेशी मूलका सरकार प्रमुख वा राष्ट्र प्रमुखहरू पनि आफु जन्मे हुर्केकै मुलुक प्रति वफादार रहन्छन्। हो ऋषि सुनक वा कमला ह्यारिस वा महाथिर मोहम्मद वा अन्य जो कोहीका पुर्खा भारतबाट ती देशमा गएर बसेका भएता पनि उनीहरू आफु जन्मे, हुर्केकै देशको उन्नती र हितको निम्ति नै दत्तचित्त भएर लागिरहन्छन्।

नेपालकै उदाहरण लिने हो भने पनि यहाँ आएर बसोवास गरेका व्यक्ति भन्दा उनीहरूबाट यही माटोमा जन्मे, हुर्केका सन्तान नै धेरै गुणा नेपाली राष्ट्रवादी हुन्छन्। त्यसैले नै विश्वका अधिकांश मुलुकको संविधानले संवैधानिक पद धारण गर्न तथा सांसद वा सरकार वा राष्ट्र प्रमुखको पद धारण गर्ने अधिकार सोही देशमा जन्मेको नागरिकलाई मात्र दिएको हुन्छ। नेपालमा मात्र यो कुरामा अलग धार कायम हुन सक्दैन र कदापी हुन पनि हुँदैन।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *