गद्य कविताः तिहार नआओस

बालकुमारी घिमिरे “गजलिका”
१२ कार्तिक २०७९ १९:३२

वर्षा सकियो
पारिलो घाम लागेको छ
खेतका गह्राहरू
पहेंलपुर छन्
बारीका पाटाहरमा
कोदाको बाला कालै भएका छन्
वारिपारी छर्लंग देखिन्छ
लाग्छ सगर सँग अंकमाल गर्न
सकिन्छ

निलो आकासमा
सेता बादलका धब्बाहरूले
मनमोहक बनाएको छ दृष्य
घाम झुव्के देखि अस्ताउँजेल सम्म
अंकमाल गरिरहन्छ।
सधै सधै आइरहोस्
जस्तो लाग्ने शरदले
फेरि पनि
उज्यालो चाड
बत्तीको चाड
फूलको चाड
चेली माइतीको चाड
तिहारको स्वागत
गरेको छ

ढकमक्क
फुलेका छन् सयपत्री
घरको वरिपरि
लर्केको छ लालुपाते
बारीका डिलमा
बनाएको छ गाँवै उज्यालो
मग्मग वासना आएको छ
गोदावरीको
उज्यालो मुहारमा
दाजुभाइको स्वागत गर्न
आतुर छ मख्मली

सूचनाको संवाहक
कौवाको पूजा सकियो
अहिलेसम्मको खबर राम्रै छ

घरको पिल्लर सुर्केको
पूजा पनि गरियो
खुशीले गद्गद् हुँदै
गाउँको सुरक्षामा
तल्लीन छ ऊ

जय जय लक्ष्मी
आऊ आऊ भन्दै
आमाले लक्ष्मी भित्र्याउनु भयो
घरमा

डल्ली गाईले
मिठो ढुट्टो खान पाएकीले
उज्यालो मुहार लगाएर
उग्राउँदै छे
झुले
र पुँडे आज जुवा पर्दैन
काँधमा भनेर
हर्षित छन्

बुवाले गोबरको थुप्रो बनाएर
गोवर्धन पूजा पनि गरिसक्नु भो

घर घरमा
आमाहरूले
सेल रोटीको जोहो
गरिसक्नु भयो

कुमालेले
माटो पिटी पिटी बनाएको
पाला
र केराको थम्बाको
दाम्चोमा
सिरूको फूल नफक्रिँदै टिपेको
बाती ध्यु
र तेलमा भिजाएर
दीप प्रज्वलन भए
घरघरमा
उज्यालो भएको छ गाउँ

झिलिमिली झिल्ला
तातो रोटी मिल्ला
छाना माथि धिरौंला
के के दिन्छौ हेरौंला भन्दै
देउसी
र भैलोमा
रमाएका छन्
बच्चादेखि
वृद्धसम्म

कोही माइत गए
कसैका माइती आउँदै छन्
तिहार मान्न
चौरासी व्यञ्जन
तयार गर्दैछन्
चेलीहेटीहरू
सयपत्री
मखमली
गोदावरी
र दुबोको
रङ्गीचङ्गी माला उनेर
भाइटीकाको लागि
तैयार छन् घरघरमा।

शत्रुको नजर नपरोस् भन्दै
भाइको दीर्घायुको
कामना गर्दै
यम पञ्चकका नामले
परिचित यो तिहार
माइती हुनेका लागि
उत्साहको पर्व
तर
माइती नहुनेका लागि
दर्दको तिहार !
हो मलाई पनि
त्यस्तै हुन्थ्यो
भाइ नह्ँदा
धेरै कटु वचनहरू
सुने यी कानले
अझै पनि तिनै वचन
जीवित छन् कानमा
तिहार आउने बित्तिकै
चस्किन्छ छाती
बल्झिन्छ मुटुको व्यथा
नुहिन्छन् यी हात
भुईँतिर
भरिन्छ परेलीको झील आँशुले
अनि संहालिन्छु
आफैँ आफैँसँग

अहिले भाइ छन् घरमा
उज्यालो छ घर
बुवाआमाले सुन्नु परेको छैन
अपुताली शब्द
चेलीबेटीले झेल्नु परेको छैन
अपमान
उज्यालो छ
तिहार हाम्रा लागि पनि
धेरै वर्ष सँगै मनाइयो तिहार
फुटाइयो ओखर ढोकामा
घेरियो चौघेरा
पुजियो दुबोले भाइलाई
उनियो मख्मली
सयपत्री
र दोदावरीको माला
बनाइयो सप्त रङ्गी भाइका निधार
भगाइयो यमराजलाई पनि
तर
अहिले फेरि
यो तिहार
मेरा लागि
नआइदिए हुन्थ्यो जस्तो लाग्छ
बाध्यताबस्
घर भन्दा
धेरै टाढा रहनु पर्दा
मुटु दुख्छ चाड आउँदा
उता भाइ रित्तै छ
यता म रित्तै
भन्दै थियो भाइले
यो साल त आऊ है दिदी
तिहारमा
सबैका घरमा
चेलीबेटी आउँछन्
रमाउँछन्
मेरो भने सधैँ सधैँ
खाली खाली
तिम्रा हातले
यो निधारमा
स्पर्श नभएको पनि
दशकौँ भयो
सम्झ त दिदी!

तर
म चाहेर पनि
सक्दिन जान
बाध्यताले
खुशी लुटेको छ
नआइ दे न है
तिहार मेरा लागि
मिल्छ भने
कहिल्यै पनि!!

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *