बेलायती महारानीले सिकार खेलेको ठाउँ घुम्दाः भाग १

कपिल लोहनी
१७ कार्तिक २०७९ ७:०८

यो वर्ष विगतका वर्षमा भन्दा केही दिनअघि नै शुरु भएको मनसुन झण्डै दशैँभर नै रहन गयो। आकाशे पानीमा भर पर्नु पर्ने हाम्रोजस्तो देशमा मनसुनको ठूलो महत्व छ, तर यसरी लामो मनसुन रहँदा भने पाकिसकेको बाली पनि बिग्रने जोखिम हुन जान्छ।

मौसम परिवर्तनले गर्दा पनि मनसुनसमेत बेमौसमी हुँदै गएको छ आजकल। मौसम परिवर्तन र वातावरण ह्रास कै कारण आजकल नेपालका पहाडी भेगमा समेत गर्मी बढ्न थालेको अवस्थामा औलो र डेङ्गीजस्ता लामखुट्टेबाट सर्ने तथा अन्य किटाणुका कारण फैलने महामारी पनि उकालो चढ्न थालेर यसपालि आजसम्मकै सबैभन्दा बढी डेङ्गीका विरामीहरू देखा परे। अहिले कार्तिक महिनामा समेत यो महामारी शान्त भइसकेको छैन।

यसपालिको दशैँ र तिहार पनि हाम्रो परिवारका एक अति नै निकट र आदरणीय सदस्यको असामयिक निधनले गर्दा हामीले उत्साहका साथ मनाएनौँ। जसोतसो दशैँको पूजा तथा टीका सके पनि तिहार साधारण तवरले नै मनाउने निर्णयका साथ भाइटीकाको दिन मेघौलीतिर घुम्न जाने योजना बन्यो। तर तराईको जङ्गलमा जानु पर्ने भएकोले डेङ्गी र मलेरियाको पनि उत्तिकै चिन्ता भइरहेको थियो।

भाइटीकाको दिन हाम्रो योजना मुताविक नै हामी १४ जना दुईवटा मोटरगाडीमा दिउँसो रवाना भयौँ। तिहारको बेला भएकोले बाटो नितान्त खाली थियो। तर गत मनसुनमा गएका पहिरो र अधिक वर्षाले गर्दा ठाउँ ठाउँमा बिग्रेको सडक तथा समय समयमा मर्मत नगरिएका कारण रहन गएका खाल्टा खुल्टीहरूले गर्दा भने यात्रा त्यति आनन्दमय हुन सकेको थिएन। तैपनि खाली सडकमा यात्रा गर्न पाएकोले मन हर्षित नै थियो।

सवारी साधन ज्यादै कम गुडेकाले पाँच घण्टाभन्दा बढी समय लाग्ने काठमाडौँदेखि भरतपुरसम्मको हाम्रो यात्रा करिव साँढे ३ घण्टामा नै तय भयो। देवघाटबाट बाइपास सडक पक्डेर हामी अघि बढ्यौँ र भरतपुर विमानस्थलबाट दक्षिणतिर लाग्दै वीपी कोइराला क्यान्सर अस्पताल हुँदै रामपुर, शारदानगर र चनौली कटेर मेघौलीसम्मको करिव ३५ किलोमिटरको यात्रा आधा घण्टा जतिमा नै तय गर्‍यौँ।

आजभन्दा ८ वर्ष जति अघि यही यात्रा तय गर्न म र मेरी पत्नीलाई झण्डै २ घण्टा लागेको थियो। किनकि त्यतिबेला यो सडक अति नै जर्जर अवस्थामा थियो। तर अहिले यसको स्तरोन्नतिका साथै यो क्षेत्रमा धेरै कालोपत्रे सडकहरूको सञ्जाल नै तयार भएको रहेछ।

भरतपुर महानगरपालिकाको यो एउटा ठूलै उपलब्धि भएको छ। जनप्रतिनिधिहरूले अलिकति भए पनि आफ्नो क्षेत्रको ख्याल राखे भने यस्ता भौतिक पुर्वाधारहरूको विकास र स्तरोन्नति हुन कुनै समय लाग्दैन।

सडकको दुवैतिर धान पाकेर पहेँलो भएका बोटहरू लहलहाइरहेको ज्यादै मनमोहक दृश्य। तर लामो समयसम्म मनसुन रहिरहेकोले कैयन् ठाउँमा भने धानका वोटहरू लडेर नोक्सानी भएको पनि देखियो।

बेलायतकी महारानीको स्वागतमा उनी हवाइजहाजबाट उत्रने बित्तिकै विमानस्थलमा लहरै राखिएका ३७६ वटा हात्तीहरूले स्वागत गरेका थिए। महारानी र उनको भ्रमण दल तथा नेपालका राजा र उच्च पदस्थ अधिकारीहरू बस्नको निम्ति मेघौलीको जङ्गलमा सबै सुविधाले सम्पन्न ५०औँ कटेजहरू बनाइएका थिए।

माघ-फागुनतिर यो क्षेत्रमा आउँदा तोरीको फूलले ढाकिएका खेतका कारण मन अर्कै किसिमले प्रफुल्लित भइरहेको हुन्छ। मनसुन र मध्य जाडोको बेलामा भने यो क्षेत्रको भ्रमण त्यति रमाइलो रहँदैन।

यात्राको दौरान भरतपुर महानगरपालिकभित्र पर्ने कैयन् साना साना बजार तथा टोल नाघेर हामी आखिर जङ्गलको छेउतिर पुग्यौँ। यो क्षेत्रमा थारु तथा कुमाल समुदायको बाहुल्य रहेछ। एकातिर गाउँले वस्ती र अर्को तर्फ वन–जङ्गल यानी चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र।

वस्तीको छेवैमा मेघौली विमानस्थलको बन्द भएर ठूला ठूला घाँसहरूले ढाकिएको धावनमार्ग र टर्मिनल बिल्डिङ। कोभिडको महामारी अघिसम्म पनि प्रत्येक वर्ष आयोजना हुने हात्ती पोलो आजकल सेलाएको अवस्था छ।

सन् १९८१ देखि शुरु भएको एलिफेन्ट पोलोको विश्व कपमा भाग लिन धेरै मुलुकबाट प्रतिस्पर्धी र दर्शकहरू आउने गर्दथे। त्यतिबेला यो एक विशाल मेलास्थल जस्तो नै हुने गर्दथ्यो।

समुद्रको सतहबाट ६०० फिटमा अवस्थित मेघौली घाँसे विमानस्थलको निर्माण सन् १९६१ मा बेलायतकी महारानी एलिजावेथ द्वितिया र राजकुमार फिलिपको नेपालको पहिलो राजकीय भ्रमणको दौरान भएको थियो।

त्यतिबेला नेपालका तत्कालीन राजा महेन्द्रले रानी एलिजावेथ र राजकुमार फिलिपलाई चितवनमा सिकार खेल्न साथमा लिएर गएका थिए। बेलायतकी महारानीको स्वागतमा उनी हवाइजहाजबाट उत्रने बित्तिकै विमानस्थलमा लहरै राखिएका ३७६ वटा हात्तीहरूले स्वागत गरेका थिए।

महारानी र उनको भ्रमण दल तथा नेपालका राजा र उच्च पदस्थ अधिकारीहरू बस्नको निम्ति मेघौलीको जङ्गलमा सबै सुविधाले सम्पन्न ५०औँ कटेजहरू बनाइएका थिए।

करिव १,०८५ मिटरको धावन मार्ग भएको मेघौली विमानस्थलमा डकोटा तथा एभ्रो विमानहरू उडान र अवतरण गर्न सक्दथे। लामो समयसम्म बन्द रहेको यो विमानस्थल सन् २०१६ मा खासगरी पर्यटन प्रयोजनकै निम्ति पुनः चालु गरिएको थियो।

तर केही वर्षसम्म नियमित चार्टर उडानहरू भए पनि सन् २०२० देखि भने पुरै बन्द अवस्थामा छ। हाल मेघौलीमा कैयन् ठूला रिसोर्ट, होटेल तथा लज खुलिसकेको तथा सो क्षेत्रमा आन्तरिक र वाह्य दुवै पर्यटनको ठूलो सम्भावना रहेको कुरा प्रष्ट हुँदै गएपछि प्रदेश सरकार पनि यो विमानस्थलको स्तरोन्नति गरेर नियमित उडान गर्ने योजनामा लागेको कुरा सुन्नमा आएको छ।

स्थानीय वासिन्दाको कडा निगरानीको कारण कम से कम विमानस्थलले चर्चेको जमिन आजसम्म हिनामिना हुन पाएको छैन।

विमानस्थलकै छेउ छेउबाट पातलिँदै गएको कच्ची सडक समात्दै हामी निकुञ्ज बाहिरको घना जङ्गल भित्र पस्यौँ र छिट्टै यो भेगमा खुलेका उच्च स्तरीयमध्येको साराङ वाइल्डलाइफ स्याङ्चुअरीमा पुग्यौँ।

करिव १२ विगाहा क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा वन-जङ्गलको प्राकृतिक छटालाई कायमै राखेर आधुनिक बसाईँको सबै सुविधा प्रदान गरिएको रहेछ। एक वर्ष अघिसम्म पनि कोभिडको महामारीका कारण रित्ता नै भएका होटल तथा रिसोर्टहरू आजकल नेपाली तथा विदेशी पर्यटकहरूको आवागमन बढ्दै गएकोले भरिन थालेका रहेछन्।

साना साना थारु वास्तुकलाका कटेजहरू भित्र सबै आधुनिक सुविधा। तर जङ्गलको शान्त बसाइ भएकोले कोठाहरूमा टेलिभिजन राखिएको थिएन र रिसोर्टका अन्य सार्वजनिक क्षेत्रमा पनि ठूलो आवाजमा गीत-संगीत बजाउन वर्जित थियो।

तर आधुनिक शौचालय र बसाईँ तथा खानपिनको सबै सुविधा थियो त्यहाँ। रातको दश बजेपछि भने आआफ्ना कटेजबाट बाहिर ननिस्कन भनिएको थियो। किनकी जङ्गली जनावरहरू जस्तै स्याल, चितुवा, मृग, बाँदर आदि रातको समयमा यदाकदा रिसोर्टभित्र पनि चर्न आउँदा रहेछन्।

तर सौराहामा जस्तो सडकमा नै गैँडा चाहिँ नआउने। रातको विभिन्न समयमा कोठा अँध्यारो बनाएर पर्दा उघार्दै बाहिर हेरेको थिएँ, त्यस्ता जनावर देखिने आशामा, तर त्यो रात बिराला बाहेक कुनै पनि जनावरलाई देख्ने सौभाग्य मिलेन।

बिहान उठ्दा बाहिरको चिसो वातावरणमा जङ्गलका रुखहरूबाट चराहरूको मधुर चिर्बिराहट र रुखका पातहरूमा शित झरेको मधुर आवाज सुन्दा निक्कै आनन्द आयो। साथै जङ्गलको माटो र पात-पतिङ्गरबाट एक प्रकारको अर्कै सुवास आउने।

कोठामा चिया बनाएर पिउने बन्दोवस्ती पनि भएकोले तातो पानीमा हाम्रै इलामेली चियाको पत्ती हालेर सुरुप्प सुरुप्प पिउँदै वरण्डाबाट जङ्गलको आनन्द लिएँ। काठमाडौँ फर्केपछि यहाँको कोलाहलमा यस्तो शान र शौकत कहाँबाट पाउनु। यस्तै कुरा सोचेर कटेज बाहिर घुम्न निस्केँ।

एक थरी पाहुनाहरू जीप सफारीमा जङ्गलतिर पसिसकेका रहेछन् भने अर्का थरी चेक आउट गरेर आफ्ना गन्तव्यतिर जान तयार रहेका। म भने रिसोर्ट परिसरमा हिँड्दै चारै तिर घुमेपछि मेघौली विमानस्थल बाहिरसम्म गएँ।

जङ्गलको माटो र पात–पतिङ्गरबाट एक प्रकारको अर्कै सुवास आउने। कोठामा चिया बनाएर पिउने बन्दोवस्ती पनि भएकोले तातो पानीमा हाम्रै इलामेली चियाको पत्ती हालेर सुरुप्प सुरुप्प पिउँदै वरण्डाबाट जङ्गलको आनन्द लिएँ।

तर बाटोमा कोही पनि नहिँडेको पाएपछि भने मनमा एक प्रकारको डर पनि पैदा भएर आयो। कहीँ जङ्गली जनावर यति नै बेला बाटोमा निस्क्यो भने के गर्ने भन्ने खालको। अनि बिस्तारै रिसोर्टतिरै नभएको पुच्छर लुकाउँदै फर्केँ।

कोठामा आएर आफुसँग लगेका केही लेखका कटिङ झिकेर पढ्न पनि भ्याएँ। दैनिक डायरी पनि लेखेँ। होटलको वाइफाइ ज्यादै कमजोर खालको रहेछ। सबैजना भेला भएपछि बिहानको नास्ता गर्‍यौं।

रिसोर्टभित्र भरसक भएका रुखपातलाई बचाएर संरचनाहरूको निर्माण गरिएको रहेछ। रिसोर्ट परिसरमा पस्ने वित्तिकै एक विशाल वृक्षलाई केन्द्रमा राखेर यसैको वरिपरि काठ, बाँस, निगालो, ढुङ्गा तथा अन्य स्थानीय सामग्रीको उपयोग गरेर एक खुला हल बनाइएको छ, जहाँ रिसेप्सनको साथै थकाइ मेट्न सोफाहरू र विलियर्ड वोर्ड पनि राखिएको रहेछ।

त्यहीँ बसेर मसला चिया र कफीको मज्जा लिँदा ज्यादै आनन्द आयो। त्यहाँ भएको पौडी पोखरी पनि हरियालीको बीचमा रहेको तथा ज्यादै सफा पानी भएको प्रकृति सुहाउँदो रहेछ। मन निक्कै प्रसन्न भयो। करिव एक घण्टा पौडी पनि खेलियो।

पानी चिसो भएपनि घाम लाग्दा न जाडो न गर्मीको अवस्था, यानी ज्यादै ठिक्कको मौषम। ठूला त ठूला, हामीसँग गएका साना नानीहरूले पनि निक्कै रमाइलो गरे। प्राकृतिक सौन्दर्य र हरियाली तथा ज्यादै अनुकुल मौसमको आनन्द लिएर हामी त्यहाँबाट बिदा भएर अर्को गन्तव्यतिर लाग्यौँ।

… बाँकी अर्को हप्तामा ।

लेखक विकास अर्थशास्त्री र पूर्वबैंकर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *