शीर्ष नेताको सुदूरपश्चिम दौड
धनगढी। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन्। निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न खुला गरेको छ।
आयोगको अनुमतिसँगै राजनीतिक दलले सुदूरपश्चिममा चुनावी सभा आयोजना गर्न थालेका छन्। शीर्ष नेताको दौड पनि सुदूरपश्चिममा भएको छ। चुनावी अभियानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगेका छन्।
देउवा बुधबार र ओली बिहीबार धनगढी पुगेका हुन्। देउवा बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा व्यस्त छन्। कात्तिक २० गते सम्म डडेल्धुरामै बस्ने देउवाले जिल्लामा आयोजना हुने ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाहले बताए।
ओली आज दार्चुला पुग्दैछन्, जहाँबाट एमालेले चुनावी अभियान सुरु गर्दैछ। एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउने तयारी छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यका अनुसार आज हुने प्रदेशस्तरीय छलफलले अध्यक्ष प्रचण्डको आगमनबारे निर्णय लिनसक्नेछ।
एकीकृत समाजवादीले अछामबाट सभाको आयोजना गर्ने कार्यतालिका छ। एसका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार शनिबार अछामको साँफेबगरमा हुने चुनावी सभामा उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्ने छन्।
कैलाली, कञ्चनपुरमा हुने चुनावी सभामा अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको प्रदेश अध्यक्ष सिंहले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment