व्यंग्य : संक्षिप्त घरदैलो कार्यक्रम

बलदेव महत
१९ कार्तिक २०७९ ७:१०

‘बा नमस्कार! सञ्चै हुनुहुन्छ?’ पिँढीमा कुक्रुक्क परेर टुक्रुक्क बसेका बुढालाई आगन्तुकले सोधे।

‘नमस्कार बाबु! सञ्चै त त्यस्तै हो ठिकै छु भनौंन। अनि मैले त चिनिनँ। कति कामले कताबाट आउनु भो? धेरै जना पो आउनुभएको छ त।’ बुढाले पनि आँखामाथि हत्केला राखेर परसम्म लस्कर लागेर आफ्नो घरसम्म आएका बथानतिर हेर्दै जवाफ पनि दिए र चासो पनि लिए।

‘बालाई के कस्तो छ! बा र बाको पुरै परिवारको आवश्यकता के छ? बा को लागि हामीले के गर्न सक्छौं? ती सबै कुरा बुझेर बाको लागि, बाको परिवारको लागि, बाको यो टोलको लागि, बाको यो गाउँको लागि, बाको यो निर्बाचन क्षेत्रको लागि, बाको प्यारो जिल्लाको लागि, बाको यो प्रदेशको लागि र समग्रमा बाको यो देशको हित मात्रै गर्ने हाम्रो रीत अनुसार सबैको भलो गर्ने सोचसहित यहाँ आएका हौं, बा!’

तीमध्ये अगाडि उभिएको खाई लाग्दो व्यक्ति बोल्यो र आफ्ना मनका कुरा पनि खोल्यो।

त्यो मोटो खाइलाग्दो व्यक्तिले बुढाको अगाडि परेदेखि नै बुढालाई हात जोडेर झुकेको देखेर उसको मनभित्र लुकेको कुरा नबुझे पनि बुढा भित्रभित्रै दंग परे। त्यस व्यक्तिको स्वर सुने जस्तो, मान्छे पनि चिने जस्तो लाग्यो। तैपनि ठम्याउन नसकेकोले अलमलमा परे चिने जस्तो पनि गरे र कुरा गर्न अघि सरे।

‘हैन ए बाबु! तपाईंलार्ई त चिने जस्तो पनि लाग्छ। ठम्याउन पनि सकिनँ। पहिले पनि भेटे जस्तो लाग्छ। आँखा कमजोर भएर हो कि सुद्धि हराएको हो कि बुद्धि बिग्रिएको हो कि। केही बुझ्न सकिनँ। तपाईंहरू कहाँबाट केका लागि आउनुभो बाबु हो?’ सबैलाई नियाल्दै आफ्नो समस्या बताए र माहौल पनि तताए बुढाले।

‘लौ ! बाले वहाँलाई चिन्नु भएन?’ हात जोडेर उभिएको मोटो भलादमीसँगै उभिएको अर्को चर्को स्वरमा सोध्यो। अनि फेरि बोल्न थाल्यो-‘वहाँ हाम्रो नेता। यही क्षेत्रको नेता। अहिलेको चुनावमा हाम्रो प्रतिनिधिको रूपमा चुनिनको लागि बा सित भोट माग्न आउनु भएको।

पहिले पनि पटक पटक यही क्षेत्रबाट चुनाव जित्नु भएकोले पार्टीले यसपालि पनि उहाँलार्ई नै टिकट दियो। पुराना पनि धेरैले टिकट पाएका छैनन् । उहाँले सबैतिर सबै किसिमले चित्त बुझाउन सक्नु भएकोले फेरि टिकट पाउनुभएको हो। वहाँ यो क्षेत्रको ठूलो नेता। यहाँ जे जति विकास निर्माणका ठूलाठूला कामहरु भएका छन् सबै उहाँले नै गर्नु भएको हो।’ अलि चर्केर र बुढातिर फर्केर बोल्यो।

‘ए! अहिले त चिनें बाबु। अघिल्लो चुनावमा पनि आएका थिए यी नानी। त्यतिबेला निकै दुब्ला थिए खाने कुराको मुखै नदेखे जस्ता। अहिले मोटाएर बढेमानको भएछन्। त्यही भएर मैले चिनिनँ। अघिल्लो चुनावमा पनि यसै गरी आएका थिए।

यो गर्छु ऊ गर्छु यस क्षेत्रको लागि सबै काम गरेरै मर्छु भनेका थिए। हामी सबैले भोट पनि हाल्यौं, यिनीबाट हाम्रा सबै चिज पूरा हुन्छन् भन्ने विचार मनमा पाल्यौं र यिनले जितेको खबर सुन्ना साथ घरघरमा बत्ति पनि बाल्यौं। यिनलार्ई फेरि नभेटिकन मरिन्छ कि भन्ने लागेको थियो धन्न चुनावको कारणले पाँच बर्ष पछि भएपनि भेट चाहिँ भयो।

युवा युवती त यहाँ मात्रै हैन देशैभरि छैनन् नि। सबै विदेसिएका छन् रोजगारीका लागि। गाउँमा त बुढाबुढी र केटाकेटी मात्रै छन्। तपाईं त वैदेशिक रोजगारी हेर्ने मन्त्री पनि भइसकेको मान्छे। बिर्सनु भयो कि क्या हो, त्यहाँबाट ब्रिफकेसका ब्रिफकेस बुझेको?’

हामी भाग्यमानी रहेछौं। यस्ता ठूला नेताले हाम्रो दैलोमा टेक्यो। उतिबेला पनि धेरै कुरा गर्छु भनेका थिए यिनले। कुनै काम पनि भए जस्तो लागेन। यसपालि पनि तिनै कुरा भए त भन्नु परेन। केही नयाँ छन् भने सुनौं न हामी पनि।’ बुढाले अघिल्लो यस्तै चुनावको सम्झना गर्दै आफ्ना भनाई राखें।

चुनाव प्रचार प्रसारमा आएका टोली आपसमा मुखामुख गर्न थाले र बुढालाई चित्त बुझ्ने गरी जवाफ दिने कदम चाले। माला लगाएका उम्मेदवार भने गाला राता पारेर दुबै हात जोडेर अलिअलि झुकेर ङिच्च ङिच्च हाँस्दै बुढाको अनुहारमा हेरेर उभिइरह्यो। केही बोलेन र मनका कुरा पनि खोलेन।
‘मन्त्री भयौ रे भन्ने त सुनेकोे हुँ। कति पटक भयौं त बाबु मन्त्री?’ बुढाले सोधे।

‘देश र जनताको आवश्यकताको लागि धेरै पटक बन्नुभो नि। कहिले कोसित कहिले कोसित मिलेर मन्त्री त लगातार हुनु भयो। एकदिन पनि खाली बस्नु परेन भने पनि हुन्छ। उहाँ नभइकन देशमा सरकार नै बन्न गाह्रो पर्ने भएपछि मन्त्री नबनिकन सुखै पाउनु भएन।

मन्त्री पद खान्न र यसपालि सरकारमा जान्न भनेर कराउँदापनि तपाईंले त सरकारमा जानै पर्छ भन्दै सबै शिर्ष नेताहरुले कर गरेपछि उहाँहरुलाई भर दिन पनि कुुनै डर नमानि सरकारमा जानै पर्यो। यसपालि हामीले जिताएर पठाएपछि अझमाथि पुगेर सबै बिरोधीहरुलाई धक्का दिने चाहिँ पक्का नै छ ।’ अर्को चाहिँले अघि सरेर अरू सबैलाई उछिन्दै बोल्यो ।

वल्लो पल्लो घरका, अलि पर परका ससना केटाकेटी, बुढा पाका, महिला र केही पुरुषहरू पनि जम्मा भए। कोही घरको भित्तामा अडेस लगाएर उभिए। कोही पिँढीतिर बसे। कोही त्यसै सबैतिर हेरेर उभिए।

सबैको ध्यान चाँहि गलाभरि माला लगाएर उभिएको ठूलो ज्यान भएको व्यक्तितिर सोझियो। ‘यो गाउँमा त युवा युवतीहरू छँदै छैनन् कि क्या हो?’ त्यहाँ जम्मा भएका मानिसहरूतिर हेरेर माला लगाउनेले सहयोगीको गालानिर मुख पुर्‍याएर विस्तारै सोध्यो।

‘युवा युवती त यहाँ मात्रै हैन देशैभरि छैनन् नि। सबै विदेसिएका छन् रोजगारीका लागि। गाउँमा त बुढाबुढी र केटाकेटी मात्रै छन्। तपाईं त वैदेशिक रोजगारी हेर्ने मन्त्री पनि भइसकेको मान्छे। बिर्सनु भयो कि क्या हो, त्यहाँबाट ब्रिफकेसका ब्रिफकेस बुझेको?’ उसले पनि ब्रिफकेस सम्झेर घुटुक्क थुक निल्दै सुटुक्क कान मै भन्यो।

यो संवाद कसैले सुनेन पनि। दुबैजना मुखामुख गरेर मुस्कुराए। देख्नेले गाउँको विकासको लागि ठूलै कुरा गरेको हो कि भन्ने सम्झे। नदेख्नेको कुरै भएन र धेरैको त्यतातिर ध्यान नै गएन।

‘लौ बाबु, राम्रो गरेछौ। धेरैचोटि मन्त्री भएछौ। त्यही भएर होला निकै मोटाएछौ पनि। अघिल्लो चुनावमा तिमीले भनेका कुरा छिटै पूरा होला भन्दा भन्दै आफ्नो त जाने बेला भइ सक्यो। यी साना केटाकेटीहरूको लागि केही गर्न सके राम्रो हुन्थ्यो। हाम्रो त आसै आसमा जीवन बितिहाल्यो।

उहिले सानो हुँदा राणाले आस देखाए। त्यसपछि प्रजातन्त्र ल्याउनेले आस देखाए। अनि पञ्चायतवालाले आस देखाए। फेरि बहुदलकाले आस देखाए। त्यसपछि राजाले पनि छोटो समय आस देखाउन भ्याए। त्यसपछि लोकतन्त्रवालाले आस देखाए।

त्यसपछि गणतन्त्रवालाले आस देखाए। पूरा हुन चाहिँ कुन पुस्तामा पुगेर हुने हो, थाहा छैन। हाम्रो आस पूरा नभएर त कसैको केही नास हुुने भएन भावी केही पुुस्ताले पनि यसै गरि आस गर्दागर्दै स्वर्गबास हुुन नपरे हुुन्थ्यो बाबु’ भित्री मनबाट बोले अनि मनको कुुरा खोले बुढाले।

बुढाको कुरा सुनेर एकछिन सबै चुप लागे। कोहीले मुखामुख गरे। नांगा भुतुंगा केटाकेटीहरू चाहिँ आफ्नै तालमा यता र उता कुदेर खेल्दै आफ्नो काम चालु राखे।

‘बाले अलि कुरो नबुझ्नु भए जस्तो लाग्यो। हामीले देशमा ठूलो परिवर्तन ल्यायौं। देशलाई कहाँबाट कहाँ पु¥यायौं। अरू धेरै काम गर्न बाँकी छ। यस्ता झिना मसिना कुरामा अल्झेर बस्ने समय छैन। चुनाव पछि धेरै कुरा गरेर समग्र देशको मुहार फेर्ने हाम्रो लक्ष्य र योजनाहरू छन्।

हाम्रो दलले चुनाव जितेर बहुमतको सरकार बनाउना साथ तपाईंहरूले पुरै परिवर्तन देख्नु हुनेछ। बाले हाम्रो घोषणा पत्र हेर्नुु भएको छैन कि क्या हो?’ यसपालि चाहिँ माला लगाएको मोटो मान्छेले दुबै हात जोडेर र अघि देखिको मौनता तोडेर निकै कुुप्रो परेर झुक्दै बुढासित भन्यो।

‘तिमीले पहिले पनि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल, रोजगारी, व्यापार, हामी जस्ता बुढाखाडाको लागि विशेष व्यवस्था जस्ता सबैमा आमूल परिवर्तन गर्छौं। सबैलाई बराबर अधिकार, सबैलार्ई न्यायपूर्ण व्यवहार, सबै ठाउँमा विशेष व्यवस्था जस्ता सबैमा सबैको प्रतिनिधित्व र व्यापक आर्थिक उन्नति गर्छु भनेर यही आँगनमा भनेका थियौं। खोइत बाबु? तिमीहरुको घोषणापत्र पढ्न त आँखा देख्दिन त्यसैले सबैजसो दलहरुको घोषणा पत्र हाम्रा भाइ भतिजाहरुले मोटामोटी पढेर त सुनाए।

उनीहरुले ठिकसित नपढेका हुुन् कि मैले ठिकसित बुुझिन कि के भयो त्यो घोषणा पत्र सुुनेपछि म त झन् अलपत्र भएजस्तो पो भएँ त बाबु। उहिले ठिटो हुुँदा कबिहरुको कबिता सुुनेर बाफरेबाफ कति ठूला कल्पना गर्न सकेको र कति बिश्वासिलो ढंगले बकेको भनेर हामी कुुरा गथ्र्यौँ यो त त्यसलाईपनि माथ गर्ने खालको रहेछ।

जुन दलको हेर्दा,पढ्दा र सुन्दा केही फरक छैन। यो त हाम्रो भर्खर जुुँगाको रेखी बसेको बेलादेखि सुुनेको र यसैको आधारमा तिमीहरु जस्तालाई भोट दिएर चुुनेको हुुनाले उहिले र अहिलेको खासै फरक पाइएन है बाबु। ’ यसपालि चाहिँ बुढाले अलि ठूलो स्वरमा भने।

‘ती सबै कुरा त पुराना भए नि बा। नयाँ नेपालमा नयाँ नयाँ कुराहरू हुन थालेका छन्। अब कसैले चिन्ता लिनुपर्दैन। हाम्रो दलले दुई तिहाइ बहुमत आउने गरी चुनाव जित्यो भने कसैले पनि अहिलेसम्म सोच्दै नसोचेका कुराहरू पाउँछन्।

हामीले अहिलेसम्म जे गर्‍यौं सबै तपाईंहरूकै लागि हो। अब गर्ने पनि सबै तपाईंहरूकै लागि हो।’ आफ्नो अजंगको भुँडी सुमसम्याउँदै बुढालार्ई झुकेर नमस्कार गर्दै माला लगाएकोले भन्यो।

‘हुन त होला बाबु! हामी पुराना मान्छे नयाँ नेपालका कुरा नबुझेका पनि हौंला। अहिले त सबैको सबैसँग गठबन्धन हो कि ठग बन्धन छ रे। तिमी कतातिरका हौ भन्नेपनि राम्ररी थाहा भएन। तिमी हँसिया हथौडावाला काँग्रेस हौ कि, रुखवाला माओवादी हौ कि, कलमवाला माओवादी र कांग्रेस हौ कि, हलोवाला एमाले हौ कि, गाईवाला एमाले हौ कि, सूूर्यवाला राप्रपा हौ कि, मधेशवादी पहाडिया हौ कि,पहाडवादी मधेशी हौ कि, हामीले प्रयोग गर्ने र खाने अन्य सामान चुुनाव चिन्हवाला स्वतन्त्र हौ कि भन्ने केही नबुझिकन कहाँ भोट हाल्ने हो थाहै नपाइकन चुनाव सकिने पक्का होला जस्तो छ है बाबु यसपालि।’ बुढाले खुइय्य सास फेरे।

‘तपाईंहरुले यसमा कुुनै चिन्ता लिन र ज्यादा ध्यान दिन नपर्ने गरि हाम्रा साथीहरुले भनेको चिन्हमा छाप लगाइदिए पुगिहाल्छ। त्यस बापत पहिले जस्तै टन्न मासुु भात, टन्न स्थानीय सोमरस र टन्न पाकेट खर्च पाइन्छ भनेर अरुलाई पनि बाले भनिदिन पर्छ। त्यति भएपछि कुनको कताको कसको केको कहाँको भन्नेमा अल्झिएर बस्दा कुरो बल्झिएर बालाई नै घाटा हुुन्छ।’ मालावालाले बुुढाको कानमा बिस्तार भन्यो।

‘यसो हेर्दा त तिमीहरु घुुम्दैफिर्दै निर्दलीय ब्यबस्थातिर लम्कने र जोसित भएपनि गठबन्धन गरेर मात्रै चम्कने सारै राम्रो बाटोतिर लागेका हौ कि क्या हो बाबु?’ बुुढाले फेरि सोधे।

‘त्यस्तो होइन क्या बा। यो गठबन्धन त हाम्रो लागि हुुँदै होइन यो त देश र जनताको लागि नगरि नहुुने र यसो नगरे संविधानलाई कसैले नछुुने अबस्था आउला भनेर तपाईंहरुकै लागि गरिएको हो। तपाईंहरु अरुका हावादारी कुुरामा अल्झिन हुुँदैन है बा।’ फेरि त्यही भुुँडेले भन्यो।

‘हामीले यही गठबन्धनमार्फत सबै पूर्वाधार तयार गरी सकेका छौं। अब स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, सडक आदिको बिकास गर्ने मोडल त पुरानो भइसक्यो। यसपालि हाम्रो नयाँ नयाँ योजना छन् देश र जनताका लागि।’ उसैले हात जोडेर झुक्दै फेरि भन्यो।

‘बाबु तिमी सबैको अगाडि यसरी झुकेको झुक्यै गरी रह्यौ भने चुनाव सकिँदासम्म त ढाड कुप्रेर मेरो भन्दा खराब हालत तिम्रो होला जस्तो पो लाग्यो मलार्ई त!’ बुढाले हाँस्दै भने। अरू पनि गलल्ल हाँसे। माला लगाउनेले अलि अलि रातो मुख लगाएर झुकेरै ज्यादै बनावटी मुस्कान छोड्यो।

‘अनि तिमीहरूको नयाँ योजनाहरु के-के छन् त बाबु हो?’ बुढाले फेरि सोधे।

‘हामी अब सानोतिनो योजना नगरेर ठूला ठूला योजनामा लागेका छौं। सबै सहरहरूमा मेट्रो र मोनो रेल, देशका प्रत्येक डाँडामा केबलकार र भ्यूटावर, आकाशमा तरकारी खेती, चुल्है पिच्छे ग्यासको पाइप, दश वर्षमा बिस पच्चिस हजार मेघावाट बिजुली उत्पादन, गरिबीलाई निमिट्यान्न पार्न प्रत्यक व्यक्तिको वार्षिक आय घटीमा दश हजार डलर पुर्‍याउने, पैंतिस चालिस लाख पर्यटक वार्षिक रूपमा भित्र्याउने, बुढाखाडाको उमेर कम्तीमा बिस वर्ष बढाउने, गाई भैंसीले मालिकले चाहे जति दूध दिन सक्ने बनाउने, आफूले छोरा वा छोरी जे भन्यो त्यही जन्माउन सक्ने क्षमताको विकास गरिने, संसारभरिको समुद्रमा चल्न सक्ने पानी जहाजहरूको स्वामित्व लिने, भूकम्प र दैवी प्रकोप भन्ने शब्द नै शब्द कोषबाट हट्ने गरी निर्माण कार्य गरिने, पढ्दै नपढी जुन भन्यो त्यही तह र बिषयको प्रमाण पत्र दिने व्यवस्था गरिने,जसरी आय आर्जन गरेपनि भ्रष्टाचार मुद्दा नलाग्ने ब्यबस्था आदि आदि गरिने छ।’

माला लगाउनेले भाषण कै शैलीमा एकै शासमा भनि सिध्यायो र बुढाको मुखमा पुलुक्क हेर्‍यो।

उसको बोली रोकिनासाथ र त्यो कानमा ठोकिनासाथ माला लगाउनेसित आएका भुसतिघ्रेहरूले हात दुखुन्जेल ताली ठटाए। वरिपरि उभिइरहेका गाउँलेहरूले पनि उनिहरु सँगसँगै लागेर ताली पड्काए।

बुढा अलमल्ल परेर सबैका मुखतिर हेर्दै खिस्स हाँसे र अरू अलि छिप्पिएका मान्छेहरू चाहिँ हिस्स परे। बुढाको घरको संक्षिप्त घरदैलो कार्यक्रम यहीँ आएर सकियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *