कथा : भिजेको ओछ्यान

खेमराज पोखरेल
१९ कार्तिक २०७९ १३:२२

र, ऊ फटाफट कोठाबाट बाहिर निस्की। गाडी स्टार्ट गरी। र, अस्टिन सहरका व्यस्त गल्लीमा बिलाई।
०००

म अझै ओयासिसमै छु। ओयासिस अझै सुतेको छैन। मातेका मान्छेका तालतालका बातहरू सुनिँदै छन्। ऊ त गई, तर म कहाँ जाऊँ? आज रात यतै बस्छु। अनामिकाका सुगन्ध यसै कोठाभित्र छरिएको त छ। त्यसैले मैले कल बेल थिचेँ। वेटर देखा पर्यो र भन्यो-हाउ क्यान आई हेल्प यु सर?
मैले भनेँ-सिङ्गलमाल्ट प्लिज।

आइसका क्युबहरू ग्लासभित्र पग्लिँदै छन्। यी आइसका क्युबहरू कत्ति भाग्यमानी छन्। कम्तीमा सिङ्गल माल्टलाई म्वाइँ खाइरहेका छन्। आइसका क्युबमा म रूपान्तरित भएँ। सिङ्गल माल्टको नसामा अनामिका रूपान्तरित भई। स्कच ग्लासमा घोलिएको जिन्दगीमा रमाएको छु। अद्र्ध होसमा छु सायद। पूर्वदीप्तिमा पुगेको हुन सक्छु।

त्यो दिन काममा तल्लीन थिएँ म। मेरो अफिस कोठाको सिसाको ढोकालाई कसैले ढकढक्याएको थियो।
मैले मुन्टो नउठाई भनेको थिएँ-यस, कम इन।

मेरो च्याम्बरमा एक जना अलि प्रौढ देखिने सुटेडबुटेड लोग्नेमान्छे र एक जना परिधानले सुसज्जित वयस्कको खुट्किलो चढेजस्तो देखिने महिला थिए। कुराकानीका क्रममा थाहा भयो कि उनीहरू ६ महिना पहिले क्यालिफोर्नियाबाट अस्टिन बसाइँ सरेका रहेछन्।

सोसल सेक्युरिटीका लागि आएका रहेछन्। ती दुई दम्पती थिए। र, तिनीहरूको आकृति र रूपलाई हेर्दा दक्षिण एसियाका होलान् जस्तो लाग्थ्यो।
काम गर्दैगर्दा मैले उनीहरूलाई सोधेको थिएँ-हाउ क्यान आई हेल्प यु?

वयस्क मान्छेले सायद कान सुनेन। अनि महिलापट्टि फक्र्यो। महिलाले सुस्तरी जवाफ दिइन्-वी आर फ्रम गुजरात इन्डिया। वी निड सोसल सिक्योरिटी।

मैले भनेको थिएँ-बेसिकली, आई एम फ्रम नेपाल, अ निबोर अफ इन्डिया।
त्यो महिलाले तुरून्त मलाई भनेकी थिई-थ्याङ्क यु।

काम गरिदिएको थिएँ। बूढाले हात अघि बढाएका थिए। हात मिलाएका थियौँ। त्यसपछि त्यही महिलाले आफ्नो भिजिटिङ कार्ड थमाउँदै मसँग हात मिलाएर भनीथी-आई एम अनामिका पटेल एन्ड माई हसबेन्ड राघव पटेल।

यसो भनिरहँदा उसले मेरो हातलाई समाएकै थिई। अनि मजाले मुस्कुराएकी थिई। मुस्कुराउँदा परीझैँ सुन्दर देखिएकी थिई। मैले पनि आफ्नो भिजिटिङ कार्ड दिँदै औपचारिकतावश भनेको थिएँ-आई एम हिमेश सत्याल। ईफ एनी प्रब्लम, कल मी विदाउट हेजिटेसन।

उसले तत्क्षण भनेकी थिई-‘ओके सर। एस, ईट्स एमेजिङ’ भन्दै ऊसहित उनीहरू बाहिरिएका थिए।

म भने उसको सुन्दरतालाई हेरिरहेको थिएँ। उसको लोग्ने निकै बूढो देखिन्थ्यो भने ऊ वयस्कको खुट्किलोमा थिई। सूर्य अस्ताउन केही समय बाँकी रहेको ओयासिस दृश्यजस्तै सुन्दर देखिन्थी। वक्षस्थल उचालिएका थिए। गहुँगोरो अनुहारमाथि लगाएको मेकअपले झनै सुन्दर बनाएको थियो।

दाँतमा सिपालु दन्त्य चिकित्सकको सिप देखिन्थ्यो। झरिझुट्ट गहना लगाएकी थिई। कुर्ता र सुरूवाल लगाएकी थिई। पछाडि फर्कँदा खिरिलो कम्मर र पोटिलो पिछाड लोभलाग्दो देखिएको थियो। कुर्तामाथि रहेको चिप्लो सल घरीघरी झरिरहन्थ्यो। ऊ त्यो सल टिप्न निहुरिन्थी।

यसरी निहुरिँदा उसका वक्षस्थलको अग्लाईहोचाई मजाले देखिन्थ्यो। त्यो लाग्दथ्यो कि दुई टाकुरा उक्लने बीचमा रहेको देउराली जस्तो क्लिभेस सम्म थियो। त्योसम्म भाग पनि निकै मनमोहक थियो।

उनीहरूको सम्पन्नता मेरो आँखाअगाडि नै झल्केको थियो। सम्पन्नता पो जीवनको सार हो भन्ने निष्कर्षमा पुगेको थिएँ म।
तर समय र कामको चापले यस्ता बैँसालु घटना मेरा दिमागमा आउँथे र जान्थे। समन गर्थेँ र बिर्सन्थेँ। अफिसमा सोसल सेक्युरिटीका लागि संसारभरिका कति मान्छे आए र गए, के मेसो पाउनु पनि र?

एक दिन अफिसमा काम गरिरहेको थिएँ। मेरो निजी मोबाइल बजेको थियो। उठाएर हेरेको थिएँ। अनामिकाको रहेछ। फोनमा उसले भनीथी-मिस्टर हिमेश, मेरा तो सोसल सिक्योरिटी गुम हो गया। फिर दुसरा लेना पडेगा। क्या आप मुझे हेल्प कर सकते हो?

मैले भनेको थिएँ-आ जाइए अफिस पर। देखेङ्गे, मै क्या कर सकता हुँ।

मेरो अफिस ५ बजे छुट्ने थियो। ऊ ४ः३० मा आई। ड्राइभरलाई गाडीमै राखेर ऊ एक्लै आएकी थिई। साथमा उसको बूढो थिएन।

उसको काम सकभर चाँडो गरिदिएँ। किनभने अफिस छुट्टी हुने बेला भइसकेको थियो। काम सकेपछि उसले मलाई जिस्किने पारामा भनी–हिमेश, क्या आप मुझे चायके लिए नही बोलोगे?

मैले हतार हतार भनेको थिएँ-हाँ हाँ क्यु नही?, इट्स माई प्लेजर।

नजिकैको क्याफेमा गएर हामीले चियाचमेना गर्यौँ। धेरै बेर गफियौं। उसले आफ्ना बारेमा धेरै कुरा बताई। विजनेस, घर तथा सम्पत्तिका कुरा बताई। यसो भनिरहँदा उसको अनुहारमा सम्पत्तिको गौरव टडकारो देखिन्थ्यो। मैले पनि आफ्नो बोक्रोबोक्रो कुरा बताएँ। त्यसरी त्यो दिन ऊ गएकी थिई।
हाम्रो सौहार्द भेट यस बीचमा धेरै पल्ट भयो। बिस्तारोबिस्तारो नजिकको साथी जस्तै भयौँ।

क्याफेमा उसले नजानिँदो तरिकाले मेरो हात सुम्सुम्याएकी थिई। सुम्सुम्याइले मेरा उच्छवासमा प्रहार गरेको थियो। उसको अर्थपूर्ण हेराइले म घायल भएको थिएँ। मैले तन्द्रामा नै उसलाई मेरै ओछ्यानमा खोजेँ। उसलाई अँगालो हाल्न खोजेँ। तर ऊ त आउनेवाली थिइन। यो एउटा तन्द्रा थियो। यो कुरा अव्यक्त यौन मनोविज्ञानको कारणले भएको थियो। म सोच्दै थिएँ क्याफेमा हिँडिरहेको बेला किन मेरो हात समाएकी होली उसले? उफ!

ओयासिसमै अनामिकाको सम्झनामा मध्य रात कटिसकेको छ। साथ दिने स्कच छ। स्कचको मातले घरी छोडेको छ । घरी समातेको छ। निद लागेको छैन।

त्यसै बेला मेरी पूर्वपत्नीले फोन गरिन्-हिमेश! तिमी अझै सुतेका छैनौं? भन त तिमीले किन अर्को बिहे नगरेको हँ? अमेरिकामा बसेर पनि नेपाली विचार राख्ने हो त? जुनी एक बारको हुन्छ। ल बिहे त गरेनौ रे तर गर्लफ्रेन्ड त हुनुपर्‍याे  नि? तिमीलाई थाहै होला बैँस सञ्चित हुँदैन। यसको भरपूर उपयोग गर्नु पर्छ। जति उपयोग गछौँ त्यति उर्वर हुन्छ।

तर म आफ्नो भाग्यलाई आफैँ कोस्दै छु। मेरो ओछ्यानमा मेरी श्रीमती नभएको ४ वर्ष भइसकेको छ। मेरी श्रीमती नेपाली नै हुन्। नेपालमै छँदा अग्नि साक्षी राखी वैदिक बिहे गरेर हामी आएका थियौँ। उनले र मैले जीवनको याने कि जन्मजन्मान्तरका अनेकौँ बाधाहरू पार गर्ने वाचा गरेका थियौँ। जिन्दगीका जँघारहरू तर्ने प्रण गरेका थियौँ।

तर त्यसको ५ वर्षपछि नै त्यो वाचा गहिरो चिरा परेको काठजस्तो भइसकेको थियो। हाम्रा बीचमा कुराहरू मिल्न छोडेका थिए। सायद उनलाई र मलाई पनि अमेरिकी व्यक्तिगत स्वतन्त्रता प्यारो लाग्न थालेको थियो। सायद म नेपालकै पुरmषवादी समाजको धङधङीमा थिएँ।

उनी बराबरीको हैसियत खोज्थिन् सायद। उनी मनमौजी हुन खोज्थिन्। म मनमौजी हुन खोज्थेँ। नेपालमा दमित भएको उनको इच्छा सायद अमेरिका आएपछि जोसिलो भएको थियो होला। म पनि आफू अमेरिकी संसारमा रमाएको थिएँ होला।

मेरी श्रीमती र मेरा बीचमा कुरा नमिल्नुका कारण यस्तैयस्तै थियो जस्तो लाग्छ। आर्थिक अवस्थाभन्दा पनि सामाजिक बन्धन थियो। बन्धनमा बाँधेको साँढे उन्मुक्तिपछि आलीधुर भत्काउँदै हिँडेझैँ डुक्रिने मानसिकतामा थियौँ हामी। हाम्रो एउटा छोरो थियो। उनले पारपाचुके मागिन्।

अदालतले मिलाउन प्रयाश गर्यो। तर हामी यति पर पुगिसकेका थियौँ कि पारपाचुके भइछाड्यो। अदालतले उनको आग्रहमा छोरो मेरो जिम्मा लाइदियो। उनी फुकाफाल भइन्। मैले यसलाई बाध्य भएर स्वीकार गरेँ। छोरालाई १८ वर्षसम्म यसैगरी पाल्नु छ मैले। त्यसपछि छोरो पनि अमेरिकी स्वावलम्बी समाजमा भासिन्छ। न मेरी पूर्वपत्नीको हुन्छ, न मेरो।

मैले अहिलेसम्म अर्को बिहे गरेको छैन । बुवाआमा भनिरहनु हुन्छ- नेपाल आइज र एउटी सुकन्या बिहे गरेर लिएर जा ।

एक मनले सोच्छु कुरा ठिकै हो । तर साथीहरू भन्छन्- एउटी नेपाली बिहे गरेर तेरो यो हाल भयो । बरm अब यतैकी केटी बिहे गर। कम्तीमा स्वार्थी त हुँदैनन् । तँ त अमेरिकी नागरिक होस् यार ! नेपालमा त पेपरका लागि अमेरिकी ग्रिनकार्ड र सिटिजनसँग बिहे गर्ने फेसन नै चलेको छ । ती बिहे गरेर अमेरिका आउँछन् । र, अमेरिकी स्वतन्त्रताको स्वाद पाउनेबित्तिकै छोडेर अर्को बिहे गर्छन् ।

मेरी पूर्वपत्नीले भने हाकाहाकी एउटा अफ्रिकन मूलको धनाढ्य केटो ब्वायफ्रेन्ड राखेर बसेकी छिन् । उनको ब्वायफ्रेन्ड उनीभन्दा ४ वर्ष कान्छो छ । हाँसीखुसी छिन् ।

मेरी पूर्व पत्नीका कुरा सुनेर म तीन छक्क पर्छु । उनले गरेका/भनेका तथा अनुभूत गरेका सबै कुराहरू एकदम जायज छन् । तर म फेरि बिहे गर्ने मुडमा छैन । छोरो छ । अफिस, काम, ग्रोसरी तथा साथीभाइ भेट्दा नै मेरो समय बितेको छ । फेरि अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ भनेझैँ भएको छु । मेरो अवस्था यस्तै भएको छ ।

हो, त्यही स्कचको ग्लासको रमरममा मैले भर्खरै छुट्टिएकी अनामिकालाई सम्झेको छु । श्रीमतीसँगको पारपाचुकेपछिको एक्ले मनोविज्ञानका बेला अनामिका भेटिएकी थिई। ऊ बेलाबेलामा फोन गर्थी र मलाई ऊसँगको सम्बन्ध ताजा बनाइरहन्थी । र एउटा मीठो कुत्कुतीजन्य राग फ्याकिरहन्थी । म त्यही रागमा मदहोस भइरहन्थेँ।

त्यो दिन उसले मलाई फोन गरी- हिमेश ! तिमी आज बेलुका ५ बजे ओयासिस होटलमा आऊ है । त्यहाँको इटालियन डिस निकै मजेदार हुन्छ । तर खर्च म गर्छु नि। तिमी खर्च गर्न पाउन्नौ । नत्र त लोग्नेमान्छे त महिला साथीसँग होटल जाँदा आफैँले पैसा तिर्न सकेनन् भने दिग्दार मान्छन्। पुरूषप्रधान सोच छ तिमीहरूमा।

मैले अचम्म मान्दै सोधेको थिएँ-सधैँ त ५ बजे घर पुगिसक्नु पर्छ भन्थ्यौ त ? आज ५ बजे ओयासिस पुगेर कति बेला सम्म बस्ने हो र ?
उसले फेरि भनेकी थिई- हो आज अलि अबेलासम्म बस्ने । मेरा श्रीमान् गुजरात जानुभएको छ। ड्राइभर विदामा छ। छोराछोरी नातिनातिना पनि क्रुज गएका छन् । एक्लै छु । बोर भएकी छु । ओयासिसको सुन्दर प्रकृति हेर्न मन छ।

दक्षिण एसियाली समाजले सोच्ने गरेका सबै सुबिधाहरू थिए ऊसँग । मेरा विचारमा ऊ भाग्यमानी थिई । म भने आफूलाई निकै दुःखी महसुस गरिरहेको थिएँ । अमेरिकाको जीवन धान्न मलाई हम्मेहम्मे परिरहेको थियो । छोराको हेरविचार र उसको खर्चको जोहो गर्नुपथ्र्यो।

घर, बिमा, तथा अनेकौँ मोर्गेजहरू तिर्दातिर्दा हत्तु भएको महसुुस गर्थेँ । तर ऊ भने ओयासिस जस्तो महँगो होटलमा मलाईसमेत लगेर मनमौजी खर्च गर्न तयार थिई । उसको पो जीवन !

ओयासिसमा म पुग्नुभन्दा पहिले नै ऊ पुगिसकेकी रहिछे । म पुग्नेबित्तिकै उसले मेरो यस्तो खातिरदारी गरी कि म छक्क परेँ । मानूँ उसको लागि म अति महत्त्वपूर्ण मान्छे हुँ । ऊ पूरै इम्ब्रोइडरी गरिएको गुलावी रङको कुर्ता पाइजामामा आएकी थिई।

त्यसमाथि आकाशे रङको नीलो सल थियो। ऊ यति सुन्दरी देखिएकी थिई कि म त उसलाई एकटकले हेरिरहेको रहेछु । यस्तैमा उसले भनी -यो दक्षिण एसियाका मान्छेको तालै नहुने । महिला देख्यो कि खाउँलाझैँ गरेर ट्वाल्ल परेर हेरिरहने ।

म उसको पछिपछि ओयासिसकै कोठामा गएको थिएँ । कोठा साँच्चै महँगो खालको थियो। कोठाको भित्तामा प्रेम, शृङ्गार तथा यौन झल्काउने अमूर्त चित्र थियो । म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । झ्यालबाट सूर्यास्तको दृश्य देखिँदै थियो।

अस्ताउँदै गरेको सूर्यको रातोपहेँलो प्रकाशले त्यहाँबाट देखिने डाँडाकाँडालाई राताम्य तथा पहेँल्याम्म पारेका थिए । तल खोँचमा सङ्लो पानी बगाइरहेको खोला सूर्यको प्रकाशमा मोतीझैँ टल्किरहेको थियो। वातावरण साँच्ची मोहनी लाउने खालको थियो । उसले मलाई पछाडिपट्टिबाट अँगालो हाली र भनी — हिमेश, तिमीलाई थाहा छ, मैले तिमीलाई आज यहाँ किन बोलाएको ?

मैले बुझ पचाएर अलि गम्भीर भएरै भनेको थिएँ-सदाझैँ कफी पिउन।

ऊ मजाले हाँसेकी थिई र भनेकी थिई-होइन। आजको प्रयोजन कफी मात्र पिउने होइन। आज उन्मुक्त भएर स्कच पिउने हो । र मेरो कथा/व्यथा तिमीलाई सुनाउने हो । आफ्नो कथा सुनायो भने मन हल्का हुन्छ । मलाई लाग्छ कि तिमी मेरो कथा सुन्न लायक मान्छे हौ । मेरो कथा बुझ्ने मान्छे हौ । सुपात्र हौ । नत्र त मान्छेको कथा मान्छेलाई सुन्न कहाँ फुर्सद हुन्छ र ?

स्कचको चुस्की लाउनेबित्तिकै उसले भन्न थालेकी थिई- तिमीलाई थाहा छ ? म मेरा श्रीमान्को तेस्री श्रीमती हुँ ।

मैले अचम्ममा परेर यत्रो मुख बाउँदै भनेको थिएँ -आम्ममा तेस्री ?

अनि उसले भनेकी थिई- हो म उसकी औपचारिक तेस्री हुँ । उसकी पहिलो स्वास्नीले मुख लागी तथा परिवारभित्र आफ्नो स्थान खोजी भनेर मट्टीतेल छर्केर डढाएर मारेका रे ।

‘अनि दोस्री ?’ मैले हठात सोधेको थिएँ ।

उसले फेरि भनी- उसकी दोस्री श्रीमतीले त त्यो परिवारको टर्चर खप्न नसकेर आफ्नै ड्राइभर लिएर भागी रे । कता छे ऊ पत्तो छैन ।

म स्तब्ध र चुप भएको थिएँ ।

ऊ बोल्दै गई- म गरिब परिबारकी थिएँ । मेरा बाबुआमाले मेरो बिहे ऊसँग सम्पत्तिकै लागि गरिदिए । मेरो सुखकै लागि भनेर गरिदिए । बिहे हुँदा म १४ वर्षकी थिएँ । मेरो लोग्ने ३५ वर्षको लक्का जवान थियो। उसका सबै यौनिक क्रियाकलापलाई मैले महिलाको जिन्दगी यस्तै होला भनेर सहेर बसेँ।

उसका अनावश्यक हरकतलाई चुपचाप सहेँ । कहर तथा पीडा पनि सहेँ । ज्ञान पनि थिएन । चेत पनि थिएन । आँट पनि थिएन। टेक्नेसमाउने माइती पनि थिएनन् । कसैलाई भन्न हुने कुरो पनि थिएन। फेरि विद्रोह गरिहाले पनि विवाहितालाई बिहे गर्न कुनै लोग्नमान्छे तयार हुँदैन भन्ने बारेमा मलाई थाहा थियो ।

त्यसैले त्यो परिवारले दिएका मानसिक, भौतिक तथा सामाजिक सांस्कृतिक पीडा मैले सहेँ । उसका भौतिक कुटाइहरूलाई अभिषप्त सहेँ । तिमी यसरी बुझ म मोल तिरेर ल्याइएकी बाँधा थिएँ ।

ऊ ममाथि मनमौजी गथ्र्यो। मलाई थाहा थियो, ऊ हाकाहाकी वेश्यागामी पनि थियो । तर बोल्न पाइन्नथ्यो । म चुपचाप जोतिन बाध्य गोरmले झैँ कुटाइ सहन्थेँ । एकान्तमा आँशु झार्थेँ। मेरो नियति यस्तै थियो।

यसो भनिरहँदा उसका आँखाबाट आँशु झरिरहेका थिए । मैले उसको आँशु टिस्यु पेपरले पुछिदिएँ । केही बेरपछि उसले भन्न थाली — तर जब म जवान भएँ । ममा अजस्र यौन आवेगहरू आउन थाले, ऊ बूढो भइहाल्यो । ऊ शिथिल भइहाल्यो । उसको मर्दाङ्गी खलास हुन थालेको थियो । तिमीले कुरा बुझ्यौ नि हिमेश ?

म उसमा चढ्दै गरेको गालाको लालीमा उसको बैँसको बाढी देख्न थालेको थिएँ । उसमा ज्वालामुखी फुट्न थालेको थियो । तर म भने सोचिरहेको थिएँ कि उफ ! पैसाका लागि यो संसार कुदिरहेको छ । तर मेरो सुखीखुसी मान्छेको रोलमोडेल अनामिका यत्रो मानसिक तथा शारीरिक संकटबाट गुज्रेकी रहिछे । उफ ! के रहेछ र मान्छेको जीवन ? महिलाको जीवन ?

ऊ फेरि भन्दै थिई- आजका दिनमा ऊ सामाजिक रूपमा मेरो लोग्ने त हो तर सेक्स पार्टनर होइन। ऊ निकम्मा भइसकेको छ । बरm मलाई नै अरुसँग सल्केको भनेर शंका गर्छ । निगरानी गर्छ । तर ऊ मानसिक ताडना दिन भने अझै छोड्दैन।

एक छिन वातावरणमा सन्नाटा भयो । अनि मैले डराइडराइ सोधेँ — तिमीले पनि अर्को सेक्स पार्टनर खोज्नु थियो नि त ?

उसले आफूलाई नियन्त्रण गर्दे भनी-गुजरातमा छँदा त यो कुरा सम्भव नै थिएन । त्यो भनेको मृत्युवरण थियो । सोझै मृत्यु थियो । तर अहिले अमेरिकामै भए पनि खुला रूपले सेक्स पार्टनर खोज्न त जोखिमको काम हो। लरतरो मुटु र आँटले अर्को सेक्सपार्टनर खोज्न कहाँ सकिन्छ र ? सारा समाज, परिवार तथा लोग्ने यो बारेमा निकै सतर्क हुन्छन् र खुफिया विचार राख्छन्।

अमेरिकामा भए पनि म बाँचेको संसार इन्डिया नै हो । गुजरातकै संस्कृति चालचलन यहाँ हाम्रो समाजमा छ । पहिलो पुस्ता त्यस्तै कट्टर छन् । म त अमेरिका आएको पहिलो पुस्ता हुँ नि। मलाई समाजले अमेरिकी जनताले पाएको छुट कहाँ दिन्छ र ? अलिकति छुट चाहिएमा चोर्नु पर्छ । ढाँट्नु पर्छ ।

एक छिन ऊ चुप लागी । स्कचको एक सुरmप तानेर आँशु पुछ्दै उसले आफ्नो भनाइलाई अघि बढाई- भो छोडिदेऊ ती कुरा । ती बिते । बितेका कुरामा कति गुनासो गर्नु । संसारले हेर्दा म सुखीखुसी छु। आफ्नो सुन्दर संसार छ । साथमै लोग्ने छ । ४ छोरा छन्।

२ छोरी छन् । सबैको विवाह भइसकेको छ। नातिनातिना छन्। अमेरिकाका प्रमुख सहरमा घरहरू छन् । ड्राइभरसहितको निजी गाडी छन् । भाषामा तथा सम्बोधनमा खान्दानी आडम्बर छ । समाजमा सभ्रान्त ठानिन्छौँ । प्रतिष्ठित छौँ । दक्षिण एसियाली दृष्टिले हेर्ने हो भने सबै थोक छ । सम्पन्न छौँ । खर्च गर्न पैसाको कुनै समस्या छैन ।

मैले थपेँ- हो त नि । पैसा पनि जिन्दगीको एउटा लक्ष त हो नि ।

अनि उसले मलाई सोधी- त्यो त हो । तर तिमी नै भन त हिमेश, स्वर्ण जेलमा लोग्नेका तुच्छ वचनरूपी कोर्रा खेपेर बासमती चामलको भात खाएर त्रसित जीवन बिताउन राम्रो कि खहरे खोलाको किनारको झुप्रोमा माया गर्ने लोग्नेको अँगालोमा निर्भय अलमस्त निदाउनु राम्रो हो ?

म के भनूँ भनूँ भएँ । त्यही पनि भने-त्यसो त लोग्ने र स्वास्नी बीचको माया जत्तिको सुखद कुरा संसारमा केही छैन । तर सबै जोडीलाई यो सौभाग्य कहाँ प्राप्त हुन्छ र ?

अनि उसले भनी – त्यही भएर आजका दिनमा याने कि सुनको पिँजरामा कैद भएको बेला सम्झिरहेकी छु मैले त्यो मेरो लोग्ने भन्ने मुर्दारलाई बेलैमा किन छोडिनँ ? त्यो ड्राइभरलाई भगाउने मेरी सौताले झैँ मैले उसैको पालेसँग किन भाग्न सकिनँ ? त्यो मेरी सौता कति भाग्यमानी होली ? कस्ती आँटिली होली ? कम्तिमा आफ्नो जीवन त बाँच्न पाई । मैले त सारा जीवन अरूकै लागि कहरपूर्ण तरिकाले बिताएँ नि ।

त्यो बेला म संसारका अवयव तथा विचारहरूको कल्पना गरिरहेको थिएँ । उफ ! संसारका मान्छे सम्पत्ति, खानदान, चलन, संस्कृति भन्दै अन्ध भएको छ। मान्छे पूरापूर भौतिक वस्तु हुने दौडमा छ । उफ ! कति जटिल छ यो संसार ?

रन्का अलिअलि लाग्न थालेको थियो । अनि उसले भनी- आज म तिमीसँग एक थोक माग्छु । तिमी दिन्छौ ?

मैले भनेँ -तिमी सबै कुराले परिपूर्ण छौ अनामिका । मसँग तिमीलाई दिने के छ र ?

उसले राताराता गाला पारेर भनी- आऊ, तिमी र म यो सुरक्षित स्थानमा सम्भोग गरौँ । बिनाडर, बिनाकहर, बिनात्रास। केवल बराबरीको हैसियतमा । हो बराबरीको हैसियतमा तिमी र म सम्भोग गरौँ । यौनको महिलाले दिने र पुरmषले लिने दर्शनबाट मुक्त भएर बराबरी दर्शनमा सम्भोग गरौँ। जहाँ तिमीले दिन्छौ, म पाउछु । म दिन्छु तिमी पाउँछौ । याने कि हामी दुवै एकाकार हुन्छौँ । प्रेममा जस्तै प्रेमील होऔँ । हामी दुवै बराबर हैसियतमा सम्भोग गरौँ ।

त्यो बेला उसको अनुहारमा आभा झल्किएको थियो । सम्भोगपछि पनि अनामिका एक छिन उही सम्भोगीय मुद्रामा सुतिरही ।

यसै क्रममा उसले भनी- हिमेश ! तिमी पत्याऊ है । आज थाहा भयो, मेरो लोग्नेले मलाई भौतिक सुबिधा दिएर जिन्दगीभरि रेप गरिरह्यो । रेप कति कहरपूर्ण हुन्छ मैले थाहा पाएकी छु । त्यही रेपमा छोराछोरी जन्माएँ । मेरो जीवनभरि मैले आजजस्तो सम्भोग गरेको थिइनँ।

मेरो लोग्नेलाई मन लागेपछि आउँथ्यो । खालीखलास हुन्थ्यो र अकोतिर फर्केर सुत्थ्यो । मेरो इच्छा वा अनिच्छाको केही अर्थ थिएन । मेरो आर्तनादमा ऊ खुसी हुन्थ्यो । आफूलाई पुरूष ठान्ने कथित घमण्ड गथ्र्यो । तर तिमी विश्वास गर, जिन्दगीभरि आजजस्तो मेरो ओछ्यान कहिल्यै भिजेन ।

होटलको घडीले रातको १२ बजेको घन्टी बजायो । उसले भनी- अहो ! बाह्र बजी सकेछ ।

ऊ हतारहतार उठी । उसको अनुहारमा प्रशन्नता देखिएको थियो । आँखाको ज्योति बलेको थियो। बाथरूम छिरी । फ्रेस भई। जिउ फूर्तिलो बनाई । हँसिलो र रसिलो मुद्रामा आफ्नो पूर्ण नग्न शरीरलाई छोपी । कपाल सम्याई । हल्का मेकअप गरी। मलाई कसिलो अँगालो हाली । म्वाइँ खाई ।
०००००
र, म भने अहिले पनि होटल ओयासिसमै छु । संसार ज्यूँकात्यूँ छ तर प्याक रित्तिसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *