पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

डिसी नेपाल
२० कार्तिक २०७९ १३:३६
36
Shares

झापा। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा आइतबार झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रमको उद्घाटनसत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताए।

उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने चेतावनी दिए।

कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासोे आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उनको भनाइ थियो। प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको बताए।

निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्न सक्ने वातावरणका साथ यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको उनले बताए।

कार्यक्रममा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बार एसोसिएशनका पदाधिकारी, विभिन्न उम्मेदवार, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *