व्यंग्य : भाउजूको हेलिकप्टर

बलदेव महत
२६ कार्तिक २०७९ ८:२८

यसपालीको चुनावको लागि लगभग सबै दलहरुको घोषणापत्र आयो र सबै दलहरुको सद्बिचारको बारेमा जनतालार्ई बेलैमा थाहा भयो। हुुनत यो कुुनै नौलो बिषय होइन।

हरेक चुनावमा हतार हतार गर्दै र जानेसम्मको फूलबुट्टा भर्दै अनि मिलेसम्मको भ्रम छर्दै छापिने र यसैबाट दलहरुको औकात नापिने चलन रहेको हुनाले बाध्यताबश ल्याउनै पर्ने भएर ल्याउने चलन चलेको हो।

यसको सबैभन्दा राम्रो बिशेषता भनेको यसलाई लेख्ने, यसलाई सबैभन्दा राम्रो देख्ने, यसलाई ध्यान दिएर पढ्ने, यसैको आधारमा उम्मेदवार भएर अगाडि बढ्ने, यसै मार्फत गफको भरमा चुनाव जितेर माथिमाथि चढ्ने र यसैको आधारमा मख्ख पर्दै भोट हालेर पाँच बर्षको लागि काम नलाग्ने गरि सढ्ने जनता आदि कसैलेपनि बुझेका हुँदैनन्।

यो घोषणा पत्र भन्ने पुुस्तक र जनता भनेको एउटै हुन्। किनभने चुनाव सकिएपछि मतदाताको मुख टाल्ने घोषणा पत्र र यसको आधारमा नेतालाई मत हाल्ने जनता दुबैको अर्को चुनाव नआएसम्म कुनै काम छैन।

देशमा प्रजातन्त्र पुनस्र्थापना भएर आबधिक निर्वाचन हुन थालेपछि र नेताहरुले जनता झुक्याउने अद्भुत कदम चालेपछि चुनावको मुखैमा प्रकाशन गरेर निकाल्न सुरु गरिएको अनि जानेसम्मका आश्वासनहरु छरिएको सानो ठूलो साइज आकार प्रकारको ग्रन्थलाई घोषणा पत्र नाम दिइएको छ। समय काल बेला परिस्थिति र आवश्यकता अनुसार यसलाई नयाँनयाँ नाम दिने र यसैमा आनन्द लिने गर्न थालिएको पनि पाइन्छ।

घोषणापत्र नाम हुँदा घोषणा गरेर बिर्सिदिएपनि हुुन्थ्यो र यत्तिले नै मतदाताको मन छुुन्थ्यो। अहिले प्रतिबद्धता पत्रलगायत अरु बिभिन्न नामहरु दिएको हुनाले जनताले बिश्वास लिएको हो कि जस्तोपनि देखिन्छ।

नाम राख्न, भाषण दिन, काल्पनिक रुपमा धेरै ठूलाठूला योजनाको निर्माण गर्न र यसैको आधारमा जतासुकै ढुकुटीमा घुसेर चर्न सक्ने अद्भुत खुवी भएका अति सक्षम नेता यहाँ बाहेक अन्यत्र पाउन नसक्नुलाई जनताले आफ्नो अहोभाग्य नै मान्नपर्छ अनि यस्तो चलन अझ लामो समयसम्म मजाले जान्छ भनेर जान्नपर्छ।

घोषणा पत्र मात्रै हेरेर भोट हाल्ने योजना बनाएका र जसको घोषणा पत्र गतिलो लाग्छ उसैलाई जिताउने मनमनै प्रतिबद्धता जनाएका जनताले हेर्दा पढ्दा सुुन्दा सबै उस्तैउस्तै रहेछन्।

त्यसमा प्रयोग भएका शब्दजालमा अलिअलि फरक हुुनुु बाहेक सारमा एउटै हो भन्ने ठहर भएपछि सबै नेताहरुको रहर भनेको जनतालाई साबिक अनुसार उल्लु बनाउने र अहिलेसम्म खाएको र चुनाव पछिपनि खाने मेलोमेसोलाई कानुन सम्मत नै भएको वा हुने हो भनेर मनाउने दस्तावेज यही हो भन्ने मतदाताहरुले अलिअलि बुझे जस्तो देखिन्छ।

घोषणा पत्र जे जस्तो भएपनि र यो जुन उद्देश्यतर्फ गएपनि यसको गन्तब्य भनेको सत्ता सत्ता र सत्ता मात्रै हो भनेर अबुझहरुले जति सम्झाए पनि जनतालाई भुुलाउने अनि आफ्नो लागि सत्ता प्राप्तिको बाटो खुलाउने बाहेक अरु केही होइन भनेर सोच्ने काम जनताको हुुँदै होइन।

सबैको एकैखाले घोषणा पत्र भएकोले कसलाई भोट हाल्ने होला भनेर जनता अलमलमा परेको र दोमन गरेको थाहा पाएकोले सरकार प्रधानकी अर्धांगिनी भाउजूले यसको हल बताइन् अनि चुनावी माहौललाई मजाले जनताको पक्षमा तताइन्।

त्यो हेलिकप्टर हेर्ने र गाली पुराणले भरिएको भाषण सुनेर आनन्द उठाए बापत आफ्नो थाप्लोमा कति करको बोझ थपियो? भन्ने जस्ता नचाहिँदा प्रश्नको उत्तर दिने निकाय कुन हो भन्ने जस्ता हावादारी बिषयमा जनताले चासो राख्ने हुँदै होइन। उही भाउजूको भनाइ अनुसार हेलिकप्टर चढेर आउने उम्मेदवारलाई भोट हालेपछि जनताले सबैथोक पाउने पक्का छ

छैठौँ पटकसम्म एकै स्थानबाट चुनाव जितेर पाँचपल्ट सरकार प्रधानको कुर्सीमा पुगिसकेका आफ्ना जीवन साथीको चुनाव प्रचारमा उनले यस्ता घोषणा पत्र सत्रलाई गोली मारेर हेलिकप्टर चढेर जिल्ला आउन र जनतासम्म धाउन सक्ने नेता मात्रै जनताको भोट पाउन योग्य भएको हुनाले त्यस्तालाई आफ्नो अमूल्य मत दिन पर्ने अति सारगर्भित मन्तब्य दिएर हेलिकप्टर चढेर आउन नसक्नेको सिंहदरवार गन्तब्य हुुनै नसक्ने ठोकुुवा नै गरिदिइछन्।

यसपाली चुनाव प्रचार प्रसारको सबैभन्दा गतिलो, कर्णप्रिय, जनमैत्री, जनहितकारी, सान्दर्भिक, स्पष्ट, जनचाहनामा आधारित मन्तब्य यसैलाई लिन सकिन्छ। उहिले बिद्यालयहरुमा बादबिबाद प्रतियोगितामा पुरस्कार राखेजस्तो चुनावी मन्तब्यमा पुुरस्कार राख्ने हो भने यसले ठाडै प्रथम पुरस्कार नभेट्ने कुरै छैन। शिर्ष नेताहरुकै ताबेदारी गरेर निर्वाचन आयोगको कुर्सीमा दाबेदारीसहित त्यहाँ पुुगेकाले यसको ब्यबस्था गर्न ढिला गर्नै हुुँदैन भन्ने जनताको सुुझाव छ।

केही महिना अगाडि भएको स्थानीय निर्वाचनमा त्यही ठाउँमा उनको यस्तै धुुवाँदार भाषण गएको बेलामापनि उनले आफ्नो दलको उम्मेदवार नजितेको पालिकामा सरकारी बजेट नदिने र आफ्नालाई भोट दिएर बिदेश जान चाहने चारपाँच जनालाई त्यसमा लाग्ने कुुनै शुल्क नलिने भनेर कड्केको सुनेर केही अबुझहरुले बिरोध गरेको देख्दा यिनको बोली केही अड्केको भन्दै यिनको दिमाग सड्केको हो कि भन्नेलाई मुखभरिको जवाफ दिनको लागि हेलिकप्टर चढ्न नसक्नेलाई भोट नदिनु भनेर पड्केको सुन्दा जनता खुसी भएका छन्। कुरा ठिकै पनि हो।

उहिले राजधानीमा आफ्नो बस्ने खाने सुुत्ने लगाउने कुनै हैसियत नभएर अर्काको घरडेरामा लुसुक्क छिरेर एउटा कुुनामा टुुसुुक्क बस्दै उसले दया मायाले दिएको खाना खुसुक्क खाएर एउटा कुनामा पल्टेर भुसुक्क निदाउने हैसियतका यिनका जीवनसाथी यसरी हेलिकप्टर चढेर आउनु त निश्चयपनि ज्यादै ठूलो उपलब्धि हो।

आफूसित लगाउने लुगा नभएर यिनलाई सर्ट पाइन्ट लगायतका लुगा किनिदिने र यिनका अन्य सानातिना समस्याहरु दया पूर्वक छिनिदिने मानिस अहिलेपनि राजधानीमा जिउँदै रहेको भन्ने सुनिन्छ।

यस हिसाबले हेर्दा बिगत तिस पैँतिस वर्षमा देशका सबै कुनाकाप्चामा हेलिकप्टर चढेर पुग्न सक्ने हैसियतकालाई भोट दिनु भनेर बक्ने भाउजूका कुरा मननयोग्य छन्।

यसरी बिगतमा फाटेका रबरका चप्पल लगाएर हिँड्न, टालेका जुुत्ता घिसार्दै हिँड्ने, तुुना छिनेर फालेका हवाइ चप्पलका तुुनालाई सेप्टिपिनले अड्काएर लम्किने, बस्ने खाने टुुँगो नभएर बल्लतल्ल अँध्यारो छिँडीमा सस्तो डेरा मागेर घरबेटीकै छोरी उडाएर गुजारा चलाउने, एकछाक खान धौधौ परेर कुनै उपाय नभएपछि कि हस्तिनापुरको राज कि चपरी मुनिको बास भनेर धनयुद्ध नामक बिदेशी निर्देशित नक्कली क्रान्ति गरेर हिँडेका आदि आदि धेरैले अहिले भनेको बेलामा भनेको ठाउँमा हेलिकप्टर चढेर जातेआते गर्न सक्ने हैसियतमा पुगेकोमा यिनले गर्व गर्नु र जनतालाई सही कुरा भन्न अघि सर्नु ज्यादै राम्रो काम हो।

यसबाट यही तरिकाले ठाउँमा पुगेपछि राष्ट्रिय ढुकुटीलाई मन लागे अनुसार चोर्न, नगद हात पर्छ भने बिदेशीसित लम्पसार परेर हात जोर्न, आफ्नो स्वार्थ सिद्धिको लागि यो उ केही नभनिकन एकअर्काको टाउको फोर्न र लाज शरम घिन राजनैतिक मूल्य मान्यता बिचार आस्था सिद्धान्त नैतिकता आदर्श दया माया मानबीय संबेदना बोली बचन सपथ काम कर्तब्य अधिकार जिम्मेवारी जस्ता बिषयलाई चटक्क बिर्र्सँदै चारैतिरबाट रकम सोर्नपछि नपरेपछि यस्तो जाबो हेलिकप्टर चढ्न कुुनै समस्या पर्दैन अनि यसले कसैलाईपनि कुनै अप्ठ्यारो गर्दैन।

जनतालाई त के छ र? जसलाई भोट हालेपनि उही ठूलो कुुर्सीमा पुुगेर अर्को चुनावमा यसैगरी हेलिकप्टरको धुलो खुवाउन आउने बाहेक जनताले उनिहरुबाट पाउने केही होइन। त्यसैले हेलिकप्टर चढेर आउनेलाई भोट दिनु र यसैमा जनताले आनन्द लिनुु भन्ने भाउजूको भनाइ सोहै्र आना सही छ।

त्यसै हावाको भरमा हेलिकप्टर चढ्ने हैसियतमा पुुगिँदैन भन्ने कुुरा गठबन्धन र अरु चुनावी तालमेल गर्ने र यही फर्मुुलाको सफल प्रयोग गरेर पालैपालो सिंहदरबारमा चर्ने स्वघोषित शिर्ष नेताहरुको समूहलाई हेरेपनि प्रष्ट हुुन्छ। चुनाव अघि, चुनावको दौरान र चुनाव पछि पनि एकअर्कालाई गाली गरेर नथाक्ने र यही गाली गर्दै मिलिजुली ठूलो रकम आफ्नो खातामा नजाक्ने स्वघोषित शिर्ष नेता छैनन्।

सबै प्रकारका शरम पचाएर एकअर्काको चरम बिरोध गरेजस्तो गरे पनि यिनीहरु उम्मेदवार रहेको क्षेत्रमा कुुनैपनि दलले गतिलो प्रतिस्पर्धी नउठाउनुलाई यिनीहरुको आपसी सहयोग हो भन्न नमिलेपनि ब्यबहारबाट कुरा बुझ्न सकिन्छ।

बालकोटे कामरेडले गठबन्धनका स्वघोषित शिर्ष नेताहरुको जति नै सत्तोसराप गरेर धरापमा पार्न कोशिश गरेजस्तो देखाएपनि बुुढानिलकण्ठे सभापति, स्वघोषित महान नेतासमेत भनेर चिनिने खुमलटारे कामरेड, स्वघोषित अत्यन्त नैतिकवान कोटेस्वरे कामरेड, स्वघोषित सम्मानित नेता बहत्तर करोडको ठूला सर्प पालक किसान भनेर चर्चित इलामे कामरेड आदिको बिरुद्धमा गतिलो प्रतिद्वन्द्वी नउठाएको देख्दा स्वघोषित शिर्ष तहमा शिर्ष स्तरकै गठबन्धन भएको र यो योजनाबद्ध रुपमा गएको हो कि भनेर अड्कल गर्नेहरुको कुरा सुन्न हुुँदैन।

त्यसैगरी स्वघोषित अत्यन्त समृद्धिप्रेमी नेताको रुपमा चर्चित बालकोटे कामरेडको क्षेत्रमा गबबन्धनको तर्फबाट खासै उल्लेखनीय उम्मेदवार नउठाउनुु एउटा संयोग मात्रै हो कि त्योभन्दा अलि बढी केही हो भनेर खोतल्ने काम गर्न आवश्यक देखिन्न। उसैपनि हलेदो भनेपछि कोट्याइ राख्नु नपरे जस्तो लामो कुरा नगरी छोट्याइ राख्नु नै बुद्धिमानी ठहरिन्छ।

चुनावको लागि पाँच बर्षपछि पुरानोलाई कट पेष्ट गरेर र मिति मात्रै सच्याएर भएपनि जारि गर्न परेर अन्तिम अबस्थामा हतार हतार छापेर बिमोचन गरिएको घोषणा पत्रमा लेखिएको बिषयहरुको बारेमा प्रचार प्रसारवाला नेताहरुले खासै केही नबोल्नु अनि त्यसमा भएका अति महत्वपूूर्ण कुराहरु नखोल्नु गरेको देख्दा लेख्ने छपाउने, देश र जनताको हितमा कुरा चपाउने र आफू माथि आइ पर्न सक्ने गाली मात्रै धपाउने काममा मात्रै घोषणा पत्र तयार गरिएको हो भनेर सबैले बुझिदिन पर्छ भन्नेहरुका भनाइमा जनताको पटक्कै बिश्वास छैन।

घोषणा पत्रको औचित्य छ छैन भन्नु र त्यो कुुन स्तरको छ भनेर गन्नु भन्दा निकै ठूलो ग्रन्थ वा रचनाको बिमोचन भए जसरी कम्तिमा पाँच तारे होटलको भब्य हलमा सार्बजनिक गरेर ताली ठटाएपछि यसको महत्व त्यसै बढ्नुु र जे जस्तो भएपनि यसको स्तर माथि चढ्नुु स्वाभाबिक हो। यसमा अरुले टिका टिप्पणी गर्नुभन्दा यसलाई बौद्धिक खेतालाद्वारा लेखाउने र आफ्नो बिद्वता देखाउने स्वघोषित शिर्ष नेताबाटै यसको बयान गराइने भएकोले त्यहाँ उपस्थित समर्थक मात्रै बाट मन पराइने ग्यारेन्टी नहुने कुरै छैन।

हाम्रो घोषणा पत्र छापियो अब हामीले केके न नापियो भनेर दलका स्वघोषित शिर्षले घोषणा गर्दै दुुबै हातमा उचालेर देखाएको फोटो खिचेपछि अर्को चुनावसम्मको लागि काम खत्तम।

घोषणा पत्रमा लेखेको कुरा लेख्नेले बाहेक कसैले नसम्झने रहेछ। त्यहाँ जे लेखेको भएपनि चुनाव प्रचारमा जाने स्वघोषित शिर्ष नेताहरुले चाहिँ देश र जनताका बिषयमा घोषणा पत्र भनिने मन गढन्ते रचनामा उल्लेखित बिबिध बिषयमा जानकारी गराउनु, कार्यकर्तालाई सोही अनुुसारको ब्यबहार गर्न अराउनु, आफ्ना बिरोधीलाई ठूलो स्वरमा गाली गरेर कराउनु र स्वतन्त्रलगायतका अन्य उम्मेदवार सित डराउनु बाहेक केही गर्न नपर्ने रहेछ भनेर भावी पुस्तालाईसमेत सिकाउने पुनित कार्य गरिरहेका छन्।

बिरोधीलाई सत्तो सराप र गाली गलोजमात्रै गर्नको लागि हेलिकप्टर चढेर गए पनि, प्लेन चढेर गए पनि, गाडी चढेर गए पनि, पैदल गए पनि वा जे जसरी गए पनि जनतालाई केही फरक नपर्ने भए पछि भाउजूले भनेजस्तो हेकिप्टरमा आउने कै गाली गलोज सुनेर आनन्द लिन राम्रो हुन्छ।

पाँच बर्षमा एकचोटि हेलिकप्टर हेर्नपनि पाइने र गाउँका बजारतिर गएर मुुख फेर्नपनि पाइने भएपछि गाउँका गरिब गुुरुवालाई अरु के चाहियो र? हेलिकप्टर किन आयो? कस्को खर्चमा आयो? कुन श्रोतबाट आयो? त्यसको भाडा कति हो? त्यो भाडा कसले तिर्यो?

त्यो हेलिकप्टर हेर्ने र गाली पुराणले भरिएको भाषण सुनेर आनन्द उठाए बापत आफ्नो थाप्लोमा कति करको बोझ थपियो? भन्ने जस्ता नचाहिँदा प्रश्नको उत्तर दिने निकाय कुन हो भन्ने जस्ता हावादारी बिषयमा जनताले चासो राख्ने हुँदै होइन। उही भाउजूको भनाइ अनुसार हेलिकप्टर चढेर आउने उम्मेदवारलाई भोट हालेपछि जनताले सबैथोक पाउने पक्का छ।

घोषणा पत्रमा जेसुुकै लेखिएको भए पनि प्रतिगमनलाई परास्त गर्ने र संविधानको रक्षा गर्ने कामको लागि गठबन्धनलाई भोट दिनु भन्ने गठबन्धनका स्वघोषित शिर्ष नेताहरुको भनाइ र परमादेशीय सरकारको अनैतिक सिद्धान्त बिहिन गठबन्धनलाई परास्त गर्न आफ्नो दललाई बहुमत दिन पर्ने बालकोटे कामरेडको भनाइ जनतालाई सुनाउन हेलिकप्टरको जोडका तोड देखिन्छ।

फेरि यि कुुराहरु घोषणा पत्रमा चाहिँ लेखिएको कतै देखिएको छैन। जनताको यो यो बिषयहरुमा यो यो तरिकाले उन्नती प्रगति सुुख समृद्धि आदिको लागि आफू र आफ्नो दललाई भोट दिनुपर्छ भन्नुभन्दा अर्कोलाई चर्को स्वरमा तथानाम गाली गरेर आफ्ना चम्चे झोले दासहरुको ताली खानको लागि मात्रै उति टाढासम्म हेलिकप्टरमा गएर तमासा देखाउनुको औचित्य खासै पुष्टि नभए पनि भाउजूको भनाइ मान्नु र यही नै सबैभन्दा उचित कार्य हो भनि ठान्नु ठिक होला।

बुढानिलकण्ठे सभापतिको त निर्बाचन क्षेत्र नै टाढा भएको र जान मन नभएपनि बाध्यात्मक परिस्थितिमा हेलिकप्टर चढेर गएको समयमा जति ठाउँमा भाषण गरे पनि अरुले झट्ट नबुझिने गरि उही बालकोटे कामरेडलाई चट्ट गाली गर्ने र फर्कने बाहेक अरु घिउलाग्दा कुरा केही गरेको सुनिएन। उहाँबाट कुनै ठोस बिचार वा देश र जनताको बिषयमा केही आउने र जनताले थाहा पाउने आशा पनि कसैले गरेका छैनन्।

त्यहाँ हेलिकप्टर चढेर आउनेलाई भोट दिनु भन्ने भाउजूको उर्दि अनुुसार अरु कुुनै उम्मेदवारले भोट पाउने र जितेर आउने सम्भावना नै छैन। यहाँ भाउजूको हेलिकप्टरको कमाल नै यही हो। उता स्वघोषित महान नेता यो संविधानको रक्षा आफू बाहेक अरु कसैले गर्न नसक्ने भनेर खोक्दै र संविधानको जिम्मेवारी सकिनसकि एक्लै बोक्दै हिँडेका छन्।

उनको घोषणा पत्रमा उल्लेख भएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री परिषदको गठन भन्ने बिषय उनले मात्रै रक्षा गर्ने जिम्मेवारी लिएको र सबैभन्दा बढी जोड दिएको मागसँग ठ्याम्मै मेल खाँदैन।

जहाँबाट चुनाव जितेपनि एक कार्यकाल पछि त्यहाँबाट नयाँ ठाउँमा भाग्दै र पुरानै ठाउँ जसरी हिँड्न फेरि भोट माग्दै हिँडेर यस्तै हावादारी कुराहरुको लागि जाग्दै अझ कति ठाउँबाट चुनाव लड्ने हुन थाहा छैन।

एउटा क्षेत्रबाट चुनाव जित्नासाथ अर्को पटक कहाँबाट उठ्ने भनेर ठाउँ छान्न सुरु गरिहाल्ने हुनाले यस कामको लागि यिनलाई गुरु मान्न पर्ने सबैको भनाइ छ।

यिनलेपनि भाउजूको हेलिकप्टर सिद्धान्त अनुसार सबैतिर पुगेपनि मतदातालाई धम्की दिएर थर्काउने र उही बालकोटे कामरेडलाई गाली गरेर माहौल चर्काउने बाहेक जनताको पक्षमा माखो मारेको र मुखबाट एक शब्द झारेको देखिएन।

जसरी हुुन्छ जे गरेर हुुन्छ आफूले चुनाव नजितेमा आकाश खसेर सबैलाई थिच्छ, बालकोटे कामरेडको प्रतिगमनले सबैलाई मिच्छ र मानव अधिकार हनन् सम्बन्धि मुद्दाले आफैंलाई किच्छ भन्ने बाहेक यिनको अर्को रोदन छैन।

गतिलो घोषणा पत्र केही नभएर बिना ढेउबा के फ्रि भिसामा नागरिकलाई बिदेश पठाउने बाहेक अरु सोच र दृृष्टिकोण नभएका कोटेश्वरे कामरेड ठूलै भाग पाउने आशामा लम्किरहेका छन्।

यही संविधान अन्तरगतको संघीयताको घोर बिरोध गर्दै र सबै सरकारी सुबिधामा चर्दै दुबै डुँगामा गोडा नहाले बुँगा हुने अबस्थाको जनमोर्चा पनि घोषणा पत्रलाई पुरै बिर्सेर उफ्रेको छ।

यो संबिधान नै जलाउने र आफ्नो आम्दानीको आधारमा दलाली गरेर दललाई चलाउने मधेशवादीहरु पनि संविधानको घोर बिरोध गर्दै यसबाट हुने फाइदामा चाहिँ र्याल काढ्दै चुनावमा होमिएका छन्। त्यसैले यिनिहरु सबै कोहीभन्दा कोही कम छैनन्।

यसो हेर्दा संविधान कता हो, घोषणा पत्र कता हो,देश र जनता प्रतिको दायित्व कता हो, आफ्नै बिचार र सिद्धान्त कता हो, आफ्नै इज्जत र मर्यादा कता हो, सुशासनको नारा कता हो, भ्रष्टाचार निबारणको गफ कता हो, पारदर्शिताको गफ कता हो, जिम्मेवारीका कुुरा कता हो आदि बारेमा कुनैपनि उम्मेदवारलाई केही मतलब र चासो नभएकोले जनताको नासो भनेर गफ दिँदै जसरी हुुन्छ जनतालाई पासो थापेर जालमा पार्ने र बसिबसी तर् मार्ने बाहेक कसैको कुनै सकारात्मक उद्देश्य नहुनु नै यो चुनावको सबैभन्दा राम्रो पक्ष हो।

त्यही भएर जसले जेसुकै भनेपनि र जसलाई जुन स्तरमा गनेपनि हेलिकप्टर चढेर आउनेलाई भोट दिएर जिताउँ भन्ने भाउजूको भनाइ सोहै्र आना ठिक छ। भाउजूको हेलिकप्टर सिद्धान्तलाई पछ्याउनुमै जनताको हित हुने देखिएकोले अब सबैतिर यही रित बसाल्न बिलम्ब गर्न हुँदैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *