अभियान चलाए पनि रोकिएन डेंगु संक्रमण

डिसी नेपाल
२५ कार्तिक २०७९ १५:२१

खोटाङ। खोटाङमा डेंगु संक्रमितको संख्या २४४ नाघेको छ। गत १४ भदौदेखि १२ कात्तिकसम्ममा १३९ पुरुष र १०५ महिलालाई डेंगु संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पतालका अनुसार गत भदौमा सात महिला र १४ पुरुष, असोजमा ८१ महिला र १०९ पुरुष, कात्तिकमा १७ महिला र १६ पुरुषलाई डेंगु संक्रमण भएको हो । १२ कात्तिकयताको संक्रमितको तथ्यांक भने आउन बाँकी छ।

तथ्यांकीय हिसाबले असोजको तुलनामा कात्तिकमा संक्रमितको संख्या घट्दो दरमा रहेको जिल्ला अस्पतालले जनाएको छ। अधिकांश डेंगु संक्रमित निको भइसकेका छन् भने केही बिरामी अहिले पनि उपचारमा छन्। असोजमा एकै दिन तीन चारजनासम्म डेंगुका बिरामी भेटिएको अस्पतालले जनाएको छ।

डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा. नितु लामाले बताइन्। सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको छ। शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ।

यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको थियो। बढ्दो डेंगु संक्रमण रोक्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले असोज पहिलो हप्ता दिक्तेल बजारमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाएको थियो।

यस्तै खोटाङमा स्क्रवटाइफसका बिरामीको संख्या सात पुगेको छ। भदौमा चार महिला, असोजमा दुई पुरुष र कात्तिकमा एक पुरुषलाई स्क्रवटाइफस पुष्टि भएको अस्पतालले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *