कविता : मुटु!

बालकुमारी घिमिरे “गजलिका”
२६ कार्तिक २०७९ ८:०५

रङ्गीचङ्गी फूलहरूले
सजिएको
मनमोहक
सुन्दर
शान्त
र सुकोमल
सहर हो मुटु!
जसले
यो जगत्का
सारा प्राणीहरूलाई
जीबित बनाउँछ
हाड
छाला
र मांशपेसीहरूलाई
तन्दरुस्त राख्छ
उसलाई
चिसोको पर्वाह छैन
गर्मीको डर छैन
आँधी
हुरी भन्दैन
जतिबेला पनि
डटिरहन्छ
खटिरहन्छ
जुटिरहन्छ
आफ्नु जिम्बेवारीप्रति
उत्तरदायी छ
सदैव
मुटु!

सायद संस्सारमा
सबैभन्दा धेरै
काम गर्ने को हो
भनेर सोधकर्ताले
अनुसन्धान गर्यो भने
मुटुको विकल्प नहोला
मात्रै एक सेकेण्ड
आराम गरोस् त ?
“मुटुले”
प्रतिफलको कल्पना
सायद !…… गर्न
आँट पनि नआउला
कति उदारवादी छ
यो मुटु!

हो
हामी त्यही उदार
मुटुको सहारामा बाँचेका छौ
नाँचेका छौं
हाँसेका छौं
दुनियाँ देख्न पाएका छौं
म हुँ
र छु भन्ने
घमण्ड गर्न पाएका छौं
तर
यति धेरै उदार
मुटु बोकेर हिँड्ने
हामी
यो मुटुले बचाएका
हामी
किन ?

केका वागि?
अनुदारतिर लम्किन्छौं?

यहाँ
काले मरेको सुनेर
गोरे ताली पिट्छ
सीता रोएको देखेर
गीता हाँस्छे
त्यै मुटुले ती
एउटै
धर्तीमा उभिएका छन्
तर
सहानुभूति मरेको छ
स्वाभिमान मरेको छ
अहम्ता बढेको छ
स्वार्थको लागि
मात्र जिउने गरिन्छ
खै त्यो उदार
मुटुको महत्त्व?

यहाँ सम्मान हैन अभिमान गरिन्छ
कालेले क्षेप्र्यास्त बिछ्याउँछ
बदलामा गोरेले एटम र अणु बम
वर्साउँछ अन्धधुन्द
परवाह छैन कसैको
क्षतविक्षत पार्छ मुटुलाई
आखिर के का लागि?
जित र हार कसका लागि र किन?

विज्ञानको उपहास गरेर
सोझा र अवलाहरूमाथि
धावा बोल्दै
आफु शिखर पुगेको
ठान्दछ
यो मुटुबिहिन
दुनियाँ

जता हेरे पनि उपहासै उपहास
सदैब सेता दन्तलहरीमा मुस्कुराउने
हिम श्रृंखलाहरू
मुसमुण्डे दाह्रा डिच्च पार्न बाध्य छन्
हरिया वन जङ्गलहरू
खङ्ग्रेको अस्तिपञ्जर
देखाउन लाज मानीरहेका छन्
कलकल बग्ने नदनदीहरूको
अस्तित्व नै मेटिएको छ
गुराँस फुल्दैनन् वनमा
बुकी मगमगाउँदैनन्
मुनालले गाउँदैन गीत
मयूरको नाच देखिदैन

हजुरआमाको पालामा
झ्यालको छिंडीबाट देखिने
सूर्योदयको दृष्य हेर्न
नातीको पालामा
रकेट चाहिन्छ।
दिनानुदिन प्रदुषण बढेर
ओजन तह पातलिँदा
जमीनको तापक्रम
बढ्दो छ
जसका कारण
जे हुनु पर्ने हो त्यो हुँदैन
जे नहुनु पर्ने हो त्यो हुन्छ

जे गर्नु हुँदैन त्यो गरिन्छ

आफ्नो बुताले भ्याए सम्म
मुटुलाई
छिद्रा छिद्रा
पारिन्छ
पारिँदैछ
पारिएको छ

यी
र यस्तै व्यथाहरूले गर्दा
हाम्रो मुटु रोगी भएको छ
चारैतिरबाट
लुछिएको छ
कोपरेको छ
मुटुलाई
ऐ..य्या.. सम्म भन्न पाएको छैन
मुटुले
राक्षसहरूको बस्ती बढेपछि
उपाय छैन मुटुको
चिरफार गर्न गाह्रो छ
उसलाई
हमलै हमला मात्र छ मुटुमाथि

सवल
र सक्षम रक्षकको
अभावले गर्दा
कला
साहित्य
र शिक्षामा हमला
न्याय
शासन
र व्यवस्थामा हमला
संस्कार
र संस्कृतिमा हमला
भेषभुषा
र भाषामा हमला
विज्ञान
प्रविधि
र निर्माण
आदिमा हमला
जताततै हमलै हमला हुँदा
उपायविहीन भएको छ
मुटु पनि
उपचारविहीन भएको छ
एक छेउ सुधार्न खोज्छ
अर्को छेउ बिग्रन्छ
सिकिस्त भएको छ
थला परेको छ
मुटु !
चारैतिरबाट
कल्पित रोगहरूले बेर्दा

अब पखाल्नु पर्छ
ती रोगहरूलाई
विवेक प्रयोग गरेर
बेला यही हो
बुद्धि पुर्याऔँ
सही
र सफा मुटु चुनौँ
नत्र फेरि मुटु नै
गायव होला
बाँच्न सकिन्न है
मुटु बिना त
स्वच्छ मुटु आयु बढ्छ
त्यसैले
जोगाऔँ
मुमाको मुटु
मुटु नै हो जिन्दगी
जिउने आधार

संसार
मुटु
मुटु
मुटु!!
धन्यवाद


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *