दलहरु समाप्त पार्ने आमचुनाव

यतिबेला मुलुक आमचुनावको महासंग्राममा छ। विगतमा दुईपटक विघटन हुँदै व्युतिँदै गरेको प्रतिनिधिसभा र सयौं जनप्रतिनिधि पालेको सात प्रदेशका प्रदेश सभामा हुने यो निर्वाचन गएका सबै निर्वाचनहरु भन्दा ज्यादै नै पृथक देखिएको छ।

विगतका निर्वाचनहरुमा दलहरु प्रतिष्पर्धामा उत्रिएका देखिएका थिए। र,मतदाताहरु पनि दलअनुसार नै विभाजित थिए। अहिले दलहरु प्रतिष्पर्धामा छैनन्, दलका चुनाव चिन्हहरु पनि प्रतिष्पर्धामा छैनन्। यसपटकको निर्वाचनले मुलुकमा यस्तो गाँजेमाजे स्थितिको श्रृजना गरेको छ कि चुनावपछि दलीय व्यबस्थाको भविष्य के हुने हो? भन्ने प्रश्न गर्ने ठाउं पर्याप्त छ।

यो चुनावले दलीय व्यबस्थामाथि ठूलो प्रश्न खडा गरेको छ। संविधानअनुसार मुलुकले अंगिकार गरेको व्यवस्था दलीय व्यवस्था हो। राजनीतिक दलहरुको संसदमा यति मजवुत पकड बनाइएको छ कानूनमा कि दलले कारवाही गर्नासाथ जननिर्वाचित सांसदको पद नै जान्छ।

दलीय ब्यवस्थालाई नै बजवुत बनाउन प्रधानमन्त्री चयनका अनेक विकल्पहरु अघि सारिएका छन् संविधानमा र तीमध्ये अधिकांश बिकल्पहरु दल र तिनका नेतालाई नै छान्ने खालका छन्। केही नलागेमा मात्र सबै दलको समर्थनमा संसद सदस्यले बहुमत सिद्ध गरे प्रधानमन्त्री हुने व्यबस्था त्यो पनि अन्तिम विकल्पका रुपमा मात्र राखिएको छ।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनको मुख्य नारा बनाएको संविधानको रक्षालाई यो आम चुनाबमा उनीहरुकै सहभागिताले दह्रो झापड दिएको छ । माथि भनिएझैं दलहरुबीचको प्रतिष्पर्धा होइन कि गांजेमाजे प्रतिष्पर्धा छ।

कांग्रेसका मतदाताहरुले कम्तिमा ७५ सिटहरुमा रुखमा भोट हाल्न पाउने छैनन् उनीहरुले हसिया हथौडा, कलम र अरु के के चुनाव चिन्हमा भोट हाल्नु पर्ने छ।

यसले कांग्रेसजनमा महापीडा भएको सहजै बुझ्न सकिन्छ। हिजो टाउको काटेर ल्याउन आदेश दिने ठूलो दल काँग्रेसले तिनै तत्कालीन आतंककारीहरुलाई टाउकोमा बोकेर भोट माग्दै हिंडेको जात्राले स्वभाविकरुपमा कांग्रेसजनलाई आहत बनाएको छ।

टाउको ल्याउने आदेश दियो भनेर काँग्रेसका दलका नेता र समर्थकलाई पाता कस्ने, झुण्ड्याउने, गिंड्ने, उठिबास लाउने उनै माओबादीहरु रुखलाई भोट माग्दै हिँडेको अर्को नाटक पनि पत्याइ नसक्नुको छ।

जनगणतन्त्रका लागि दशौंबर्ष जोसँग हतियार उठाएर लडेको हो, हिजो समान्ती भनेर गिडेका मानिसका सन्तानहरुको प्रचारमा मात्र होइन तिनको रुख चिन्हमा मत माग्दै माओवादीका नेता कार्यकर्ता हिडेको देखिएको यो चुनावले राजनीतिक दलको सिद्धान्तलाई पनि दलसँगै समाप्त पारेको छ।

जनगणतन्त्रका लागि दशौंबर्ष जोसँग हतियार उठाएर लडेको हो, हिजो समान्ती भनेर गिडेका मानिसका सन्तानहरुको प्रचारमा मात्र होइन तिनको रुख चिन्हमा मत माग्दै माओवादीका नेता कार्यकर्ता हिडेको देखिएको यो चुनावले राजनीतिक दलको सिद्धान्तलाई पनि दलसँगै समाप्त पारेको छ। १६५ सिटमध्ये जम्मा ४५ सिटवाहेक त माओवादीले कि कांग्रेसको झण्डा बोकेका छन् कि एकीकृत समाजवादीको।

हिजोका दुश्मन कित्तामा बिभाजित एमाले-राप्रपा आज असल मित्रुमा रुपान्तरण भएका छन्। जता शक्ति उता भक्ति गर्ने अवसरवादी मधेसबादी दलहरुको किंकर्तव्यविमुढ भएर अल्मलिएका देखिएका छन्।

हिजोसम्म कांग्रेस र माओवादीसँग एकता गरेका उपेन्द्र यादव जसले केपी ओलीलाई मधेशविरोधीको ट्याग लगाएर कति महिना त मधेश पस्नै दिएनन्, ओली जवर्जस्ती पस्दा केहीको ज्यानसमेत गएको धेरै भएको छैन।

अहिले तिनै उपेन्द्र यादव ओलीको सूर्य चिन्हमा मधेशमा मत मागेर हिडेका छन् भने ओली कतिपय क्षेत्रहरुमा यादवका लागि मत माग्दै छन्। त्यसैले सिद्धान्त, आदर्श, दर्शन, नीति बिहीन दलहरु मरेको अवस्था।

विगतका दुश्मनहरुको मेल भनेर हामी झुक्कियौं भने यो हाम्रै गल्ती हुने छ। विगतका दुश्मनहरु केवल सत्ता स्वार्थका लागिमात्र मिलेको देखिएका छन्। सत्ता हात परेका दिनदेखि फेरि यिनको गाँड कोराकोरको श्रृंखला थपिने छ।

काण्डैकाण्डको कालो इतिहास, कलंकको भारी र पापै पापको पृष्ठभूमि बोकेर तिनै असफल नेताहरु यो चुनावको चुनावी मैदानमा प्रकट भएका छन्-आफ्नो दल, चुनाव चिन्ह र आदर्श मारेर। चुनावअघिका यी गतिविधिहरुले दलीय लोकतन्त्रको घाँटी रेटिएको छ र लोकतन्त्रको प्राण भनिने आम निर्बाचनको धज्जी उडेको छ।

लोकतन्त्रको यस्तो गाईजात्रा नाटक बिश्वमा कहीं कतै हेर्न पाइँदैन। दूर्भाग्य, नेपालमा निःशुल्क मञ्चन भइरहेको छ। यो गाईजात्राको अध्ययन अनुसन्धान अध्येताहरुले गर्दै जालान्। कलाकारहरुले बृत्तचित्र बनाउलान्।

दलीय व्यबस्था, संविधान, चुनाव चिन्ह, दलका सिद्धान्त, आदर्श र अभ्यासलाई हत्या गरेर शक्तिशालीको फाइदाका लागि भएका अप्राकृतिक गठजोडले अहिले मुलुक आक्रान्त छ। अव मतदाताहरुको हातमा आएको छ मुलुकलाई यो गज्याङमज्याङ, अपारदर्शिता, पदलोलुपता, सिद्धान्तहीनता, चरित्रहीनता र अलोकतान्त्रिक वातावरणबाट जोगाएर सुरक्षित अवतरण गर्ने।

जतिसुकै गठजोड गरे पनि काटाकाट गर्नेहरुका गर्धन जोडिए पनि उनीहरु भित्रको आपराधिक मानसिकता पढ्ने बुझ्ने र त्यस्ताहरुलाई नेपाली जनताको प्रतिनिधित्व गर्न नदिने सुवसर यही चुनाव हो जनताका लागि।

यतिबेला हामी चुक्यौं भने पाँच बर्षसम्म जति रोए पनि गुनासो गरे पनि कराए पनि वा ज्यानै फाले पनि मुलुकलाई सुबाटोमा ल्याउन असम्भव छ त्यसैले अहिले नै सोचौं, आजै सोचौं र मतदानका लागि उपयुक्त पात्रको छनौट गरौंं।

बिगतको राजनीति कलंकित र पीडादायी हुँदा पुर्खा र बर्तमान पिंढीले चरम दुःख सास्ती मात्र पाएनन्, आज मुलुकको अस्तित्व संकटमा परेको छ। हामी असफल राज्य घोषणाको अन्तिम बिन्दुमा पुगेका छौं। त्यसैले यसलाई अन्तिम चुनाव भनेको हो। सुध्रिने र मुलुक जोगाउने अन्तिम मौका हो यो।

मुलुकको यो दुर्गतिमा हामी पनि हिस्सेदार थियौं, छौं। मुलुक उद्धारको यो अन्तिम मौकामा हामी मतदाताहरु निर्णायक हुन सक्दछौं कि?
सबैले यो चुनावप्रति निराशा, रोष, आक्रोस पोखेका छन्। उही दलाल उम्मेदवार, अपराधी उम्मेदवार, पापी उम्मेदवार भनेर। तिनै असफल दल भनेर।

सबैलाई पूर्ब गल्तीको रापतापले पोलेको र सुध्रिने आकांक्षाले घोचेको देखियो। राजनीति सुधार र परिवर्तनको तीब्र ईच्छा जागृत् भएको नतिजा आयो। यो ज्यादै सकरात्मक पक्ष थियो। सुनौलो र उज्वल भविष्यको लागि प्रस्थानबिन्दु हो कि?

अशुभ संकेत

यो चुनावले दलहरुको मृत्युको घोषणा गरिसकेको छ र साथसाथमा तिनका मान्यता, आदर्श, नैतिकता र जिम्मेवारीको पनि अवसानको घोषणा गरेकै छ। त्यसैले मतदाताहरु पहिलोपटक यति धेरै अन्यौलमा छन्। उकुसमुकुस छन्। उदास र निरास छन्।

निराशा तीब्ररुपमा बितृष्णा र घृणामा रुपान्तरण भइरहेको छ। नजानिँदो तरिकाले त्यो घृणा र कुण्ठा उत्तेजनापूर्ण आक्रोशमा बदलिएर सामाजिक सञ्जालहरु भरिएका छन्। नेतृत्वको घृणा कुण्ठा र आक्रोश मतदातामा सरेको छ, जुन ज्यादै ठूलो खतराको सूचक हो-दलीय लोकतन्त्र, कानूनी शासन र स्थिरताका लागि।

यो वातावरण त्यसैले भावी अर्को बिद्रोहको बीउ पनि हो। पटके उम्मेदवार, तिनको उमेर र पृष्ठभूमि देखेर मतदाताहरुलाई बान्ता आइरहेको छ। दल मरे जस्तै आम नागरिकहरुको उत्साह, जाँगर र हौसला मरेको छ । यो भनेको राष्ट्रिय तागतको क्षयीकरण हो।

कथित् ठूला दलका केही कलंक र कालो धनले पुरिएका शीर्ष नेतृत्व भनाउँदाहरु भित्र आङ्गमा बुलेट्प्रुफ ज्याकेट लगाएर समेत घरदैलोमा जान सकेका छैनन्। आफ्नै शत्रु कार्यकर्ताको निशानामा पर्ने त्रास छ । मुठ्भेड कलहको डर छ। यीमध्ये केही त चुनावअघि नै प्रधानमन्त्री भइसके।

भ्याकेन्सी एक : महत्वकांक्षी अनेक। कोटा एक : आसे एघार। सर्वमान्य नेतृत्व खडेरीको अर्को राष्ट्रिय समस्या। यो फगत् सत्तामोहले भावी राज्य संचालनमा बिलम्ब, बिग्रह, बिखण्डन र बर्बादीलाई संकेत गर्दछ। अब मातृभूमिमा डाडुपन्युसहित बिदेशी गुप्तचरको झन् ठूलो मेला लाग्ने छ । नेतृत्वको अकर्मण्यता यसको मुख्य कारक हो।

जनताले रोजेको खोजेको योग्य, काबिल, त्यागी धेरै उम्मेदवारसँग दलको टिकट छैन। कतिपय छट्टु, तिरस्कृत तस्करसँग टिकट छ र उही उम्मेदवार भएको छ। कस्तो लोकतन्त्र? कसरी जनता सार्वभौम? लोकतन्त्रको उपहास। घाँटी रेटेको होइन यो दलीय व्यबस्थाको?

मातृभूमि रक्षा कल्याणका लागि यी महसुर अशुभ संकेत (ब्याड् ईण्डिकेटर्स) हुन्। हरे कस्तो शासन ब्यवस्थाको अभ्यास गर्‍यौं हामीले?
राज्य असफल बनाउन अर्थ मन्त्रालय एक्लै काफी छ। पूर्व छापामारहरुद्वारा संचालित खोक्रो ढुकुटीको यो मन्त्रालयले मुलुकलाई श्रीलंकापथमा राखिसकेको छ।

यी सबै अशुभ संकेतको निश्कर्ष एउटै छ पृथ्वी कै अनुपम सुन्दर प्रकृति र हीरा जनताहरुको सुन्दर शान्त बिशाल मुलुक नेपाल लघुताभास बोकेका भ्रष्ट नेताहरुका कारण असफलसिद्ध हुन लागेको छ। नेपाली सेना र अन्य सुरक्षा निकायहरूको समर्पणभाव र त्यागले मात्र मुलुक असफल घोषणा हुनबाट बचेको छ।

तसर्थ, यो चुनावमा हामी मतदाताहरुले साबधान, सचेत, सतर्क र स्मार्ट भएर आफ्नो मताधिकारको पूर्ण सदुपयोग गरी असफलउन्मुख मुलुकलाई उद्धार गर्न जरुरी छ।

अन्तिम अवसर

हरेक १०/१५ बर्षको अन्तरालमा राजनीतिक ब्यवस्था बेकम्मा र असफलसिद्ध किन हुन्छ? नयाँ नयाँ न्यारेटिभ कहाँ रचना हुन्छ र परीक्षणको नाममा हामीलाई संधै दास बनाइन्छ?

२०४६ को उत्साहजनक र आमूल परिबर्तनको सुखद् परिणाम के पायौं हामी जनताले र शिशु प्रजातन्त्रको किन घाँटी निमोठियो? नयाँ न्यारेटिभमा बहकिएर, भ्रमको भारी बोकेर, रगतको खोलो बगाएर ल्याएको गणतन्त्र आज किन सडेर कुहिएर दुर्गन्धित भएको छ र छीः छीः दुर दुर भएर असफलसिद्ध भएको छ?

अहिले तिनै उपेन्द्र यादव ओलीको सूर्य चिन्हमा मधेशमा मत मागेर हिडेका छन् भने ओली कतिपय क्षेत्रहरुमा यादवका लागि मत माग्दै छन्। त्यसैले सिद्धान्त, आदर्श, दर्शन, नीति बिहीन दलहरु मरेको अवस्था। विगतका दुश्मनहरुको मेल भनेर हामी झुक्कियौं भने यो हाम्रै गल्ती हुने छ। विगतका दुश्मनहरु केवल सत्ता स्वार्थका लागिमात्र मिलेको देखिएका छन् । सत्ता हात परेका दिनदेखि फेरि यिनको गाँड कोराकोरको श्रृंखला थपिने छ।

नयाँ संबिधानका कथित् लेखनदासहरुलाई कसरी यति छिटो पश्चातापको आगोले पोल्यो र कर्ताहरु संबिधान संशोधन मागको आगो ओकल्न लागे? किन पुनः नयाँ निर्वाचन प्रणाली र नयाँ शासकीय प्रणालीको जोडदार माग पर्गेलिरहेका छन्?

अनि धर्मनिरपेक्षता र राज्यले थेग्न नसक्ने संघीयताको महाभुल सच्याउन ब्यापक जनसुझाव र जनदबाबलाई लत्याउने साहस कुन बाह्य शक्ति र विदेशी मुद्राले भरिदिराखेको छ? सानो सुन्दर मुलुकमा सयौं दल र हजारौं नेतागणको आवश्यकता र औचित्य के हो?

पटकपटक मतदाताहरुको २ तीहाई मतले मागेको शान्ति स्थिरता र समृद्धिको चाहना पूरा गर्न तत्तत् सत्तालाई किन कसरी के ले छेकबार गर्‍यो? यी लगायत असंख्य रहस्यमय, पीडादायी तर अनुत्तरित् प्रश्नको उत्तर खोज्ने उपयुक्त बेला यही चुनाव हो। यहाँनेर जनता चुके भने अवका ५ बर्ष फेरि अकर्मण्यहरुको शासन भोगेर बस्नुको विकल्प छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *