हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स
काठमाडौँ। नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता “हाम्रो पात्रो रेमिट” सञ्चालनमा आएको १ वर्ष पूरा भएको छ र यो एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत रु. १ अर्ब ५० करोड रुपैया नेपाल भित्रीएको छ।
मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको सीईओ सुदिना गौतमको भनाइ छ। उनको अनुसार शुरुवातको पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आंकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम निक्कै उत्साहित छन्।
पछिल्लो ३ महिनामा रु. ५० करोड रेमिट्यान्स भित्राएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै रु. २० करोड रेमिट्यान्स भित्राएको छ। पछिल्लो महिनाहरूमा भएको उल्लेख्य वृद्धी देख्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान गर्न सकिन्छ।
अहिले अमेरिकामा मात्र सुचारु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ। “अष्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट शुरु हुँदैछ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी विस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौं। अब अमेरिकापछि अष्ट्रेलियामा भने यो सेवा छिट्टै शुरु हुँदैछ। अष्ट्रेलियाका प्रयोगकर्ताहरूलाई यो खबर सुनाउन उत्साहित छौं” सीईओ सुदिना गौतमले थपे।
त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा भर्खर मात्र शुरु भएको इन्स्ट्यान्ट पे सुविधा अहिले प्रयोगकर्ताहरूको लागि प्रमुख आकर्षण बनिरहेको छ। यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूले नेपालमा पठाउनु भएको पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउनुहुनेछ।
हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको “हाम्रो पे” डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ। अहिले डिजिटल वालेट “हाम्रो पे” भने सार्वजनिक हुने अन्तिम चरणमा छ।
आफ्नो मेहेनतको कमाई सजिलै अनि धेरै रेटमा नेपाल पठाउन मिल्ने भरपर्दो माध्यम बनेको हाम्रो पात्रो रेमिटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूको सकारात्मक सल्लाह र सुझावहरू समेट्दै यसलाई अझ प्रभावकारी बनाउँदै लिएर जाने सुदिना गौतमको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment