मतदाता शिक्षा नपुग्दा स्थानीय तहभन्दा बढी मत बदर

डिसी नेपाल
२२ मंसिर २०७९ ११:०२

भैरहवा। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी रूपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत बदर भएको छ। रूपन्देहीमा कुल ६ लाख ३८ हजार ९ सय ९२ मतदाता रहेकामा पाँचवटै क्षेत्रमा गरी ४ लाख ३१ हजार ९ सय ७४ मत प्रत्यक्षतर्फ खसेको थियो  भने ४ लाख ३४ हजार ५ सय ६४ मत समानुपतिकतर्फ खसेको थियो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुल सदर मतको ५.६८ प्रतिशत बदर भएको छ। ४ लाख ७ हजार ४ सय ५३ मत सदर हुदा २४ हजार ५ सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले  जानकारी दिए। यस्तै समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको ४ लाख ३४ हजार ५ सय ६४ मतमा ५.४६ प्रतिशत अर्थात २३ हजार ७ सय ४३ मत बदर भएको छ।

प्रदेशसभा प्रत्यक्षतर्फ खसेको ४ लाख ३१ हजार १७ मतमा ४.९९ प्रतिशत अर्थात २१ हजार ५ सय २४ मत बदर भएको छ भने प्रदेशसभा समानुपातिकतर्फ ४ लाख ३० हजार ८ सय ५७ मत खसेकामा ७.६९ प्रतिशत अर्थात ३३ हजार १ सय ४९ मत बदर भएको छ।

समग्रमा करिब ५ दशमलव ९६ प्रतिशत बदर भएको छ, यसकाे कारण भने मतदाताले मतदाता शिक्षा नपाउनु हो। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि रुपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम गरेको थियो। रुपन्देहीको १ सय ५५ वटा वडामा मतदाता शिक्षा सहजकर्ता हुने गरि खटाइएको र १६ वटै पालिकाका अनुगमन अधिकृतहरुले तालिम लिई वडाका सहजकर्ताहरुलाई तालिम दिई , सहजकताले समिति गठन गरी वडा वडामा स्वंयसेविकाहरुको सहयोगमा शिक्षा दिएका थिए।

४ वटा मतपत्रमा ४ वटा चिह्नमा मतदान गर्नुपर्ने भएकाले मतदाता झुक्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सहजता प्रदान गर्न मतदाता शिक्षा कार्यक्रम संचालन गरेको थियो। आयोगले नै मत बदर घटाउन देशभर करिब ५० करोड रुपैयाँ मतदाता शिक्षामा खर्च गरेको भए पनि ०७४ मा प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएकमा यस पटक बदर दर थप बढेको छ। स्थानीय तह निर्वाचनमा २.४ प्रतिशत मात्रै मत बदर भएको थियो।

स्वयंसेविकामार्फत् मतदाता शिक्षा दिने नीतिअनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नपुग्दा बदर मत बढेको नेताहरुले निष्कर्ष छ। अहिले बदर हुने धेरैजसो एउटै मतपत्र धेरै छाप लगाइनु, औठाको छाप लगाउनु र कुनै पनि छाप नलगाई मतपेटिकमा राखेको भेटिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *