किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाए {भिडियो}

डिसी नेपाल
२२ मंसिर २०७९ १५:१६

काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहिबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने गर्दछन् ।

किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।

उपत्यकामा ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा किराँत चाड विशेषरुपमा मनाइन्छ । किरात राई यायोख्याका केन्द्रिय अध्यक्ष जीवन हाताचो राईले आफुले लगाएको अन्नबाली पाकेपछि प्रकृतिलाई धन्यवाद प्रकट गर्दै पितृ, भूमि र प्रकृतिलाई पूजा गरी नँया अन्न चढाएर यो पर्व मनाइएको जानकारी दिए । उधौलीका अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइएको उनले बताए ।

पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतीले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *