गैरआवासीय नेपाली संघमा नयाँ रडाको

महासचिव गौरी जोशीलाई स्पष्टीकरण सोधिएपछि अध्यक्ष रविनाविरुद्ध अविश्वास प्रस्ताव(पत्रहरु सहित)

डिसी नेपाल
२२ मंसिर २०७९ १६:५४

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव गौरीराज जोशीलाई कार्यकारी अध्यक्ष रविना थापाले स्पष्टीकरण सोधेकी छन् ।

संघको इतिहासमै पहिलोपल्ट महिला कार्यकारी अध्यक्ष भएका बेला उनले गरेका कुनै पनि काममा असहयोग गरेपछि जोशीलाई स्पष्टीकरण सोधिएको हो । आफूलाई स्पष्टीकरण सोधेको झोंकमा जोशीले अध्यक्ष रबिना थापाविरुद्ध अविश्वासको प्रस्ताव राखेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् इतिहासमै सबैभन्दा बढी विवाद र बद्नामीपूर्ण अवस्थाबाट गुज्रंदै आएको केही समय भइसकेको छ । पदका लागि भएको झिनाझप्टीमा विभाजन हुन लागेको बेला ३ जना अध्यक्ष बनाई थामथुम पारिएको थियो ।

भागबण्डाका क्रममा तीनमध्येमा एक पर्न सफल भएकी अमेरिका निवासी रविना थापा यतिबेला कार्यकारी अध्यक्ष छिन् । उनी कार्यकारी अध्यक्ष भएपछि उनलाई कुनै पनि काम गर्न नदिएको र उनले गरेका सबै काममा महासचिव गौरी जोशी र एनआरएनएका प्रमुख कार्यकारी अधिकृतले असहयोग गर्दै आएको भन्दै थापाले जोशी र प्रमुख कार्यकारी अधिकृत दुबैलाई स्पष्टीकरण सोधेकी छिन् ।

नेतृत्वमा महिला पुगेको कुरा स्वीकार गर्न नसकेको र असहयोग गरेर असफल पार्न खोजेको भन्दै थापा पक्षधरहरुले महासचिव जोशीको आलोचना गरेका छन् ।

कार्यकारी अध्यक्षले लिखितरुपमै स्पष्टीकरण सोधेको विषयलाई महासचिव जोशीले वेवास्ता गरेका छन् । तर, उनले बेवास्ता गरेको कुरालाई अध्यक्ष थापाले संघको मासिक प्रतिवेदनमै उल्लेख गरिदिएकी छन् । महासचिव जोशीले कार्यकारी अध्यक्ष थापाले नोभेम्बरको पहिलो सातामा तय गरेको पदाधिकारी बैठक रद्द गराइदिएका थिए ।

नोभेम्बर महिनाको मासिक प्रतिबेदनमा उनले सो कुरा उल्लेख गर्दै औपचारिक स्पष्टीकरण सोधेको लेखेकी छिन् । प्रतिवेदनको १६ नं बुंदामा भनिएको छ, गैरआवासीय नेपाली संघको नोभेम्बर पहिलो साता तय भएको पदाधिकारी बैठकलाई अन्तिम समयमा आएर कार्यकारी अध्यक्षको सहमती विना जवर्जस्ती बैठक स्थगीत गर्ने महासचिव गौरीराज जोशीसंग औपचारिकरुपमा स्पष्टीकरण मागिएको तर उहाँबाट हालसम्म कुनै औपचारिक जवाफ प्राप्त भएको छैन । स्पष्टीकरणसंगै कार्यकारी अध्यक्ष थापाले विधान र सहमतीको कार्यविधिसमेत उल्लंघन गरेकोमा सचेत समेत गराएकी छन् । (हेर्नुहोस् प्रतिवेदन)

आफूलाई स्प्ष्टीकरण सोधेको र सचेतसमेत गराएको झोंकमा महासचिव जोशीले कार्यकारी अध्यक्ष थापालाई असक्षम भएको आरोप लगाउंदै अविश्वासको प्रस्ताव अघि बढाएका छन् । डिसी नेपाललाई प्राप्त उनले अघि बढाएको प्रस्तावमा ग्लोवल नेपाली डायस्पोरको नेतृत्व गर्न सक्ने क्षमता थापासंग नभएको आरोप लगाइएको छ ।

त्यसैगरी कार्यकारी अध्यक्ष थापाले पेश गरेको नोभेम्बर प्रतिबेदनमा आफ्नो नोट अफ डिसेन्ट रहेको, संघलाई व्यक्तिगत हितका लागिमात्र प्रयोग गरेको र गलत तथ्यांकहरु उल्लेख गर्दै गैरआवासीय नेपालीलाई ढांटेको आरोप पनि महासचिव जोशीले थापामाथि लगाएर अविश्वासको प्रस्ताव पेश गरेका हुन् । उनले सात दिनभित्र यो प्रस्तावका पक्षमा आफ्नो मत जाहेर गर्न सम्पूर्ण संघका अन्तर्राष्टिय समन्वय समितिका सदस्यहरुलाई पत्र पठाएका छन् । (हेर्नुहोस् पत्र पनि) ।

कार्यकारी अध्यक्ष थापाले डिसेम्बर ४ का दिन पदाधिकारी बैठक राखेको सूचना जारी गरेपनि सो बैठक पनि हुन सकेन । अध्यक्ष पदमा महिला भएकै कारण असहयोग गर्दै असफल बनाउन खोजेको, संघको नियमति अफिसियल काममा समेत असहयोग गरेको, प्रक्रियाअनुसार आवश्यक कर्मचारीसमेत राख्न नदिएको भन्दै महिला नेतृत्वलाई अपमान गर्ने काममा महासचिव जोशी लागेकोमा थापा पक्षधरहरु आक्रोशित छन् ।

यसैबीच संघका तीन अध्यक्षमध्येका एक डा. बद्रि केसीले अन्य दुई अध्यक्ष र आईसीसी सदस्यहरुलाई पत्र लेख्दै आपसी सल्लाहमै समस्याको समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।(हेर्नुहोस् पत्र) ।

उनले विवादलाई अघि नबढाउन भन्दै पक्ष विपक्षमा नलाग्न भन्दै आपसी वार्ताबाट समस्या समाधान गरिने भन्दै पत्र लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *