भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा {भिडियोसहित}

डिसी नेपाल
२३ मंसिर २०७९ १५:२१

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभावले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकोले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।

उनले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण राज्यको कुनै एउटा अङ्ग वा निकायको मात्र जिम्मेवारीको विषय नभएको भन्दै राज्यको कुनै एउटा अङ्गको सक्रियताले मात्र भ्रष्टाचारविरुद्धको लडाइँ जित्न नसकिने बताए ।

प्रधानमन्त्री देउवाले समाजको कलङ्कको रूपमा रहेको भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनै तहबाट नै राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिए । उनले भ्रष्टाचारको दुष्परिणाम वर्तमानमा मात्र नभइ भावी पिढीले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरुद्ध नियमित रुपमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने खाँचो रहेको बताए। उनले अख्तियारले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजनका साथै भ्रष्टाचारको रोकथाम र सचेतना अभिवृद्धिका लागि उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहेको बताए । उनले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको दाबी गरेका छन् ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै आइएको छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *