मध्यविन्दु अस्पताललाई सय शय्याको गराउन माग

डिसी नेपाल
२३ मंसिर २०७९ २३:०१

गण्डकी । नवलपुरको मध्यविन्दु अस्पतालको स्तरोन्नतिका लागि अस्पताल व्यवस्थापनले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएको छ । अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरे नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई आज भेटेर अस्पतालको स्तरोन्नतिका साथमा भौतिक संरचना निर्माणका लागि ध्यानाकर्षण गराएको हो ।

मुख्यमन्त्री पोखरेलले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेलाई निर्देशन दिए । अस्पताललाई एक सय शय्याको बनाउने, भौतिक संरचना थप्ने, डायलासिस सेवा विस्तार गर्ने लगायतमा माग आएको र ती सबै मागका विषयमा प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।

हाल १५ शय्याको स्वीकृति पाएको अस्पतालमा ५५ शय्या सञ्चालनमा छ । बिरामीको चाप धान्न कठिन भएको भन्दै सय शय्या अनुमतिका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको अध्यक्ष घिमिरेले बताए । अस्पतालमा एक सय २५ कर्मचारी कार्यरत छन् । तीमध्ये ३२ जना मात्र सरकारी दरबन्दीका छन् ।

अस्पतालमा गत साता मात्र चारवटा डायलासिस मेसिन जडान गरिएको छ । तीमध्ये एउटा जगेडामा राख्नुपर्ने भएकाले तीनवटा मेसिनबाट सेवा प्रवाह हुँदै आएको छ । जसबाट प्रत्येक दिन तीनजनाको मात्र डायलासिस हुने गरेको छ । यसो गर्दा सातामा जम्मा नौजनाको पालो आउनेछ ।

अस्पतालमा डायलासिस गर्न ६५ जना बिरामीको नाम सूचीकृत रहेको र थप बिरामीलाई सेवा दिन कम्तीमा १० वटा मेसिन आवश्यक रहेको उनले बताए । डायलासिस बेड प्रदेश आपूर्ति केन्द्रले उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको भन्दै उहाँले थप छवटा मेसिन उपलब्ध गराउन मुख्यमन्त्री पोखरेलसँग आग्रह गरे ।

मेसिन सञ्चालनका लागि कावासोती र मध्यविन्दु नगरपालिकाका साथै हुप्सेकोट गाउँपालिकाले समेत सहकार्य गर्ने जनाएको अध्यक्ष घिमिरेले बताए । जर्मन संस्था र नेपाल सरकारको संयुक्त लगानीमा अहिले भवन बनिरहेको र त्यसलाई पूरा गर्न करिब चार करोड बजेट आवश्यक रहेको भन्दै त्यसका लागि समेत अस्पतालले माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *