हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

देवराज सुवेदी /रासस
२ पुष २०७९ २३:१३

सिन्धुपाल्चोक । विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै यहाँका व्यवसायी तथा यस क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् ।

स्वयम्भू भजन खलबाट बस रिजर्भ गरी मेलम्ची हुँदै पाल्चोक भगवती, इच्छेश्वर महादेव मन्दिर, हेलम्बुमा निर्माणाधीन ग्रेट ट्रेल घुम्न आएका हुन् । ज्ञानमाला भजन खल स्वयम्भूको उपाध्यक्ष पूर्णकाजी सैँजुसहित काठमाडौँका स्थानीय चार सय जनाको टोली भ्रमणमा आउनुभएको हो । यस समूहले काठमाडौँ बासीलाई विभिन्न तीर्थस्थल घुमाउने गरेको उनले बताए ।

पाल्चोक मन्दिरमा अन्य बारभन्दा शनिबार यहाँ विशेष भीड हुने गर्छ । पाल्चोक, इच्छेश्वर महादेव मन्दिर हेलम्बु इचोकका संयोजक एवं समाजसेवी नयनबहादुर पण्डितले हेलम्बु तथा मेलम्चीको पर्यटन पर्वद्धनका निमिक्त उहाँहरुलाई भ्रमणको आग्रह गरिएको बताए । उनले एक धार्मिक संस्थाले अर्को संस्थालाई भ्रमणको लागि गरिएको आग्रह स्वीकार गर्नुभएकामा आभार प्रकट गरे ।

उपाध्यक्ष सैँजुले हेलम्बु, मेलम्ची क्षेत्रमा घुम्ने रहर भएकालाई काठमाडौँबाट नजिक रहेको यस स्थानमा घुम्न आएको बताए । उनले पाल्चोक मन्दिर धेरैले आउने इच्छा व्यक्त गरेकाले आफूहरू घुम्न आएको बताए । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब हेलम्बुमा पर्यटन अझै फस्टाउने विश्वास व्यक्त गरे । उनले मेलम्ची खानेपानी मुहान तथा बाढी प्रभावित क्षेत्रमा अध्ययनका, अनुसन्धान केन्द्रको रुपमा विकसित गरी पर्यटक बढाउने बताए । पर्यटक विस्तारै बढ्न थालेपछि मेलम्ची र आसपासका व्यवसायीमा खुशीको सञ्चार भएको स्थानीय होटल व्यवसायी जनकलाल श्रेष्ठले बताए ।

भक्तजनको आकर्षण

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकस्थित प्रसिद्ध धार्मिकस्थल पाल्चोकी माई मन्दिरमा भक्तजनको आर्कषण बढ्दै गएको छ । पाल्चोक मन्दिरमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, भक्तपुर, ललितपुर, काठमाडौँलगायत जिल्लाबाट भक्तजन पूजाअर्चना र पञ्चवली लिएर आउने गरेका छन् । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको पाल्चोकी माई मन्दिर संरक्षण समितिका अध्यक्ष दमैसिङ तामाङले जानकारी दिए ।

एकदशी, औँसी, रामनवमी, महाशिवरात्री, साउन महिनाभर, श्रीकृष्ण जन्माअष्टमी र दसैँको घटस्थापनादेखि अष्टमीसम्म पाल्चोक भगवतीको मन्दिरमा बली निषेध गरिएको छ । पछिल्लो समय पाल्चोकीमाई मन्दिर जानका लागि सडक सुविधा र मन्दिर आसपासको सुविधा सम्पन्न होटल बन्दै छ । सडक पूर्वाधार, होटल र आकर्षक अन्य संरचना बनेसँगै भक्तजनको सङ्ख्या झनै बढ्न थालेको बताउँछन् पुजारी पर्वल गिरी । यस मन्दिरमा प्रत्येक वर्ष रामनवमी दिन देवी भागवत पाठ गर्ने प्रचलन चल्दै आएको छ । जय बागेश्वरी मन्दिर समुद्र सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा छ । विसं १९५३ मा मैतेसिंह तामाङले विभिन्न सामान दान दिएर बहादुर खड्कालाई हस्तान्तरण गरिएको किंवदन्ती रहेको छ ।

अर्को किंवदन्तीअनुसार पाँचौँ शताब्दीभन्दा पहिले मानव बस्ती बस्नका लागि पाल्चोक भगवती मन्दिर भएको ठाउँनिर खोल्सातिरबाट जङ्गल फँडानी र खन्दै आउँदा रगत बगेर आएको र अर्कोपट्टीबाट खन्दा दूध आएको हुँदा स्थानीय गाउँले (किसान)ले यहाँ देवदेवी हुन सक्ने भनी अनुमान लगाइ अनर्थ भयो भनी सरकारमा जाहेर गरेपछि दुई शिला प्राप्त भएको स्थानीयको भनाइ छ ।

दाहिनेपट्टि सुतेको अपस्थामा जय ९जागेश्वरी० र अर्कोतिर उठेको अवस्थाको बागे (बागेश्वरी) देवीको रूपमा रहेकाले जय बागेश्वरी नाम राखिएको हो । दूध निस्किएपट्टि शिवजी (सिद्धेश्वर महादेव) को मन्दिर छ भन्ने विश्वासमा दूध नै चढाउने प्रचलन छ । स्थानीय शिक्षक रामगोपाल श्रेष्ठका अनुसार त्यसपछि गिरी र ब्राह्मणले मन्दिरभित्र पसेर पूजाआजा गर्ने प्रचलन चलाइएको थियो । त्यसक्रममा जुद्धशमशेरकी श्रीमती बिरामी भएर जय बागेश्वरी (पाल्चोक) मन्दिर देखाउन ल्याइएको र पाल्चोकका स्थानीय तेम्बा झाँक्रीले निको पारेपछि यो मन्दिर चर्चित भएको स्थानीय बताउँछन् ।

पर्यटकीय केन्द्र पाल्चोक

पाल्चोक मन्दिरमा मास्टर प्लानअनुसार काम हुने गाउँपालिकाले जनाइएको छ । पार्किङ, आकर्षक मन्दिरको संरचनालगायत पर्यटकका लागि आकर्षक वातावरण सिर्जना गर्नका लागि गाउँपालिकाले नियमित काम भइरहेको जनाएको छ ।

अब प्रत्येक महिनामा आन्तरिक र बाह्य पर्यटक कतिको सङ्ख्यामा हेलम्बु पुग्छन् भन्ने तथ्याङ्क सङ्कलनको काम गाउँपालिकाले गर्ने त्यही अनुसारको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चर्चित पर्यटकीय गन्तव्य ह्योल्मो भूमि हेलम्बुबाट रसुवाको प्रसिद्ध लामटाङ र गोसाइँकुण्ड क्षेत्र जोड्ने दुई पर्यटकीय पदमार्ग अन्तिम चरणमा पुगेका छन् ।

पर्यटन विभागको नौ करोड लागतमा हेलम्बु गाउँपालिकाको पहलकदमीमा निर्माणाधीन हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लामटाङ जोड्ने ३० किलोमिटरमध्ये तीन किमि मात्रै बन्न बाँकी छ । सुन्दरीजल, कुटुम्साङ–घोप्टेघ्याङ– मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, शेर्माथाङ–पाल्चोक जय बागेश्वरी भगवती पदमार्गको हालै स्तरोन्नतिको काम सकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *