कथा : ग्वापो आमिगो

खेमराज पोखरेल
३ पुष २०७९ १०:२८

म्यानहटनको ५५ औँ तलाको आफ्नै फ्ल्याटको झ्यालबाट बाहिर हेर्दै छु। म्यानहटनका गगनचुम्बी महलहरूका ब्याकग्राउन्डमा आकाश निलाम्य देखिँदै छ। म्यानहटन मात्र होइन, पूरै न्युयोर्क सहर लक्ष्मीपूजामा झैँ झिलिमिली देखिइरहेको छ। बत्ती बलेका छन्। मलाई थाहा छ कि ती बिजुली बत्ती सधैँ बलिरहन्छन्।

कल्पना गरिरहेको छु।
अचम्म छ यो म्यानहटन।

नेपालका घनीभूत जनसङ्ख्या भएको एउटा जिल्लाभन्दा पनि धेरै मान्छे एउटै भवनमा अटाएका होलान्। प्रश्न छन् मनमा :

ती कति बेला आउँछन्?

कति बेला जान्छन्?

के काम गर्छन्?

कुन भाषा बोल्छन्?

कुन देशका हुन्?

कस्ता मान्छे होलान्?

उत्तरविहीन छु। लिफ्टमा झर्दाचढ्दा मुस्कुराउने र हाईहलो गर्ने बानी छ, त्यसैले ती पक्का मान्छे हुन्। नत्र त यो मान्छेको घनघोर सालघारी हो।

यही मान्छेको सालघारीमा बसेर १२ वर्षदेखि परलोक भएकी पत्नी र भावनामै बिछोडिएकी प्रेमिकालाई सम्झिरहेको छु। हावा सररर चलेको छ। हावाको आवाजमा प्रतिध्वनि हुन्छ र प्रतिध्वनिमा

स्व.श्रीमती भन्दैछिन्-हेर! के गति बनाएको हो यो मान्छेले? १२ वर्ष भइसक्यो एउटी विधवा पनि ल्याउन सकेन। एक्लै कसरी काट्छौ तिमीजस्तो अस्मेल भेल बोकेको मान्छेले?

हावाको चालमा यादहरू भने आलो भएर मेरा रौँरौँमा आए।

श्रीमती फेरि भन्न थालिन्-विधुर भएँ। एकपाखे भएँ। सुनसान जङ्गलको एक्लो भएँ भन्ने तिम्रा नामर्दीपन हुन्। बाँच्नेले भोग्ने हो यो संसार। म मरेँ–संयोग हो। तिमी बाँच्यौ -भोग गर। भोलि तिमी पनि मर्छौ।

अनि त्यो प्रेमिका।

भैँसेपाटी एपार्टमेन्टको झ्यालबाट देखिने नजिकैको अर्को एपार्टमेन्टमा बस्ने पल्लो घरकी समवयकी विधवा महिला। म किन झ्यालबाट हेरेर मुस्कुराउन थालेँथेँ हँ? उसलाई झ्यालमा देख्दा किन खोक्न थालेँथेँ हँ? ऊ पनि झ्यालमा बसेर किन कपाल कोर्न थालीथी हँ?

अनि त्यही हावाको झोकामा फुत्त आई त्यो अनाम प्रेमिका। र, भनी -नामर्द भयौ तिमी। म पनि त एकल जीवन बिताइरहेकी थिएँ नि! एकपल्ट बाक्य फुटाएको भए पनि हुन्थ्यो नि। म यहाँ तिम्रो वाक्य फुट्ला भन्ने सोचेर बसेकी थिए। के खान गएका थियौ अमेरिका?

सबै आफन्तले बिहे गर भनेर सुझाएका थिए। बेफ्वाँकमा त्यो बेला मेरा मनमा कतै नभएको आदर्श आएथ्यो। र भनेँथेँ-के म मरेको भए मेरी श्रीमतीलाई पनि अर्को बिहे गर भन्ने थियौ?

वैधानिक बाटोको आफैँले हत्या गरेपछि के गर्नु? त्यही एक टुक्रा झ्यालबाट देखिँदा दोक्लो भएको अनुभूति भए पनि यथार्थमा म नितान्त एक्लो महसुस गर्दै हुन्थेँ।

अनाम प्रेमिका झ्यालमा आएर कपाल कोर्दै इसारा गर्दै खुच्चिम भन्थी सायद।

एक्लो छोरोले मलाई ग्रिनकार्ड बनाएर अमेरिका भित्र्यायो। म नाथेको कोलको एक्ले गोरू जस्तै घुमेर भित्रिएँ। अमेरिकामा साइनोका सन्तान त थिए, तर झन् एक्लो महसुस गर्न थालेको थिएँ। नेपालमा छँदा घरमा मात्र एक्लो हुन्थेँ। तर समाज थियो। आफ्नो भाषा थियो। भेष थियो।

झ्यालबाटै देखिने भए पनि ऊ थिई। ऊ मुस्कुराउँदा म पनि मुस्कुराउँथेँ। तर म्यानहटनको यो फ्ल्याटबाट छोराबुहारी झिसमिसे मै घर छोडेर हिँड्थे। बेलुका अबेला आउँथे। नातिनातिना पनि ठूला भइसकेका थिए।

उनीहरू कति बेला जान्छन् ? कहाँ जान्छन्? किन जान्छन्? म थाहा पाउँदैनथेँ । तर खुसीको कुरा के भने मेरा छोराबुहारीले मजाले पैसा कमाएछन्।

मलाई पनि बैँकमा खाता खोलेर एउटा डेबिट कार्ड दिएका छन्। र भनेका छन्–हजुरलाई मन लागेको किन्नु, मन लागेको खर्च गर्नु। हामी हजुरको खातामा पैसा हालिदिई रहन्छौँ। पैसाको धन्दा नमान्नू।

छोराले मलाई लिफ्टमा तलमाथि गर्न, फ्ल्याटअगाडिको सेन्ट्रल पार्क जान तथा कार्ड घोट्न सिकाएथ्यो। रेल चढ्न र जिपिएसका सहायताले घर आउन सिकाएथ्यो। मसँग पैसाको कमी थिएन।

केबल छोराबुहारी नातिनातिनाको व्यक्तिगत जीवनका बारेमा सोधखोज गर्न हुँदैनथ्यो। त्यसैले सुखसुबिधायुक्त घरभित्र एक्लो थिएँ। बाहिर मान्छेको भीडको जङ्गलमा म एक्लो।

त्यो दिन त्यही एक्लाहटमा पार्कमा पुगेको थिएँ। पार्कमा रहेको एउटा ठूलो चौरको बेन्चमा बसेर रमिता हेर्दै थिएँ। अहा! क्या रमाइलो? चौर परतिर कलकल बग्ने र माछा सल्बलाइरहेको नदी। डिल पारि घनघोर प्राकृतिक जङ्गल। अहिंसक जङ्गली जनावर। जङ्गलसँगै जोडिएर गगनचुम्बी महलहरू।

चौरमा हजारौँ मान्छेहरू। कोही सिँयाल ताप्दै। कोही अमेरिकन फुटबल, ब्याटमिन्टन, भलीबल, बास्केटबल खेलिरहेका। साउन्ड बक्सले अङ्ग्रेजी तथा स्प्यानिस गीतको पर्रा छुटाइरहेको। सोही गीतका तालमा लगभग नाङ्गा युवायुवति नाचिरहेका। हाँसिरहेका। रमिताको मूल विषय। योभन्दा बढी के चहियो र?

एउटी महिला म बसेकै बेन्चको पल्लो छेउमा आएर बसी। आक्कलझुक्कल हेरी। मैले पनि उसलाई नजानिँदो पाराले हेरिरहेकै थिएँ। टुुलुटुलु हेर्नु हुन्नथ्यो। गतिछाडा उसले यो उमेरमा पनि जिन्स प्यान्ट र भेस्ट लगाएकी। नाइकीको जुत्ता लगाएकी । हल्का मेकअप पनि गरेकी।

उसले मलाई प्याट्टै सोधेकी थिई-आर यु इन्डियन?

त्यसपछि हामी बिच सम्वाद हुन थालेको थियो। सम्वादले दोस्ती र समय कटनी।

देशी अत्तरले मगमगिएकी हुन्थी। ऊसँग ठोकिएर आउने हावाले मेरो लाछी पुरूष हृदयभित्र प्रवेश गथ्र्यो। निख्रन लागेको बैँस पनि टुसाउला जस्तै भएको थियो। बोल्नका लागि हिन्दी भाषा थियो। अब त्यो सेन्ट्रल पार्कमा हामी दुई थियौँ।

पार्कको त्यही बेन्चमा बसिरहेका बखत उसले मलाई भनेकी थिई–तिमी विवाहित हौ मिस्टर उपाध्याय?

-म ७२ वर्षे मान्छे कसरी विवाहित हुन्न होला त ए गाँठे।

– अनि खोइ त श्रीमती?

– उनको स्वर्गवास भएको १२ वर्ष भयो।

‘त्यसो भए विधुर हुँ भनन त मिस्टर उपाध्याय। बाह्र वर्षभन्दा पहिला तिमी विवाहित थियौ। तर अहिले त तिमी खासमा अविवाहित हौ। विधुर भन्नु पनि अविवाहित नै त हो। अनि गर्ल फ्रेन्ड छ कि छैन?’ – उसले हाँस्तै सोधिथी।

‘आबुइ कताको गर्ल फ्रेन्ड हुनु नि! छोराबुहारी नातिनातिना छन्। उनैसँग बस्छु।’

‘जोसँग बसे पनि एउटा गर्ल फ्रेन्ड नभै कसरी चल्छ जीवन? भात त तिम्रा छोराबुहारीले खुवाउलान्। मनका कुरा कसलाई सुनाउँछौ? यो व्यस्त संसारमा तिम्रा सुखदुखका गन्थन कसले सुन्ने? तिम्रा पट्यार लाग्दा विगतको कथा कसले सुनिदिने? तिमीमा आउने आवेगलाई कसले समन गरिदिने?’

कस्ती रहिछे? मेरो मनभित्र नै पसेकी थिई । मेरो मर्ममै प्रहार गरेकी थिई। भित्रबाटै नङ्ग्याई।
-मर्ने बेलामा हरियो काँक्रो।

अनि भनेकी थिई-जन्म मृत्यु भन्ने कुरा हाम्रा हातका होइनन्। जहिले जो पनि मर्न सक्छ। बूढो मर्छ भर्खरको बाँच्छ भन्ने कुरा पनि होइन। तर मरेका मान्छेका नाममा जिन्दगी स्वःहा पार्नु त पूरै मुर्खता हो नि।

‘के गर्ने चलन नै यस्तै हो हाम्रो। यो उमेरमा अब अरु उपाय पनि त छैन।’

‘धत लाटा! चलन त हामीले नै चलाएका हौँ नि। ती चलन अन्धविश्वासी छन्। अप्राकृतिक छन्। तिनले समाजको ढोँङ बोक्छन्। हाम्रो मन उन्मुक्त हुन चाहन्छ। त्यसलाई बाँधेर किन यो जुनी खेर फाल्ने? म त भन्छु, तिमी तुरून्त एउटा गर्लफ्रेन्ड तयार पारिहाल। जिन्दगी रमाइलो हुन्छ। मर्न त को कति खेर मर्छ? कहिले मर्छ? के थाहा?’ –एकै श्वासमा उसले भनी।

कति न जान्ने हुँ भन्दिरहिछे ऊ।

अनि मैले भनेथेँ-हे भगवान्! अब यो उमेरमा, अर्काको देशमा म कहाँ खोज्न जाऊँ गर्लफ्रेन्ड?

‘धेरै टाढा जानै पर्दैन मिस्टर उपाध्याय। यही पार्कमा पाइन सक्छ।’

उसको कुराले मेरो पुरष मन अचाक्ली हाँस्यो। अनि मैले पनि मजाकिया मुडमा भनेको थिएँ–त्यसो भए तिमी मेरो गर्ल फ्रेन्ड?

ऊ मजाले हाँसी। हाँस्ता उसको अग्लो नाक तलमाथि गथ्र्यो। सेतो पोक्चे गाला हल्लिन्थे।

भनी-हाहाहा तिम्रो गर्ल फ्रेन्ड भएर के गर्नु? न तिमीसँग बैँस छ, न पैसाको खोलो बगाउन सक्छौ, न मेरो सेवा गर्न सक्छौ उपाध्याय! तिमी मलाई गर्ल फ्रेन्ड बनाउन सक्दैनौ। मेरा चाहना तिमी पूरा गर्न सक्दैनौ। म मेरो जीवनलाई पूर्ण उपभोग गर्न चाहन्छु। त्यसैले एक्लो जीवन नै ठिक।

‘अनि त्यसो भए मैले किन गर्ल फ्रेन्ड बनाउनु त? म पनि तिमीजस्तै एक्लै छु त।’

‘त्यो गर्ल फ्रेन्ड भनेको त साथी मात्र हो। मनमा लागेका अन्तर्य कुरा गर्न, मन खोलाखोल गर्न, भन्ने, सुन्ने, सुनाउने मात्र साथी हो। यो कुराको लागि त तिमी विश्वास गर म तिम्रो साथी हुँ। तिम्रो गर्ल फ्रेन्ड हुँ। तर यौनक्रियाको चाहना राख्यौ भने तिमी बेकारमा फस्छौ। न तिमीले मलाई सन्तुष्ट बनाउन सक्छौ, न मलाई बाहिर जान दिन्छौ। त्यसैले एक्लै ठिक। यौनक्रियाबाहेक पनि यौनसमन गर्ने अन्य धेरै तरिका हुन्छन्। कुराले, ईशाराले, स्पर्शले, भावनाले पनि यौन समन हुन्छ। त्यसको लागि भने म तयार छु ।’ -लाज हराएकी रहिछे ऊ। फटाफट भनी।

‘अनि तिमीले किन ब्वाईफ्रेन्ड न बनाएको नि त?’ -मैले पनि सोधिहालेँ।

उसले भनी-ब्वाई फ्रेन्ड बनाएँ नि। म अमेरिका आएको २० वर्ष भइसक्यो। आएकै अर्को साल मेरो लोग्ने मर्यो। ऊ मरेपछि उसकै नाममा जिउँदो सती बन्न पनि उपयुक्त हुँदैनथ्यो। बैँस बाँकी थियो। चाहना बाँकी थियो। त्यसकारण मैले ब्वाई फ्रेन्ड बनाएँ।

‘अनि त्यही ब्वाइ फ्रेन्डसँग बिहे किन नगरेको त?’ -मैले प्रतिप्रश्न गरेको थिएँ।

उसले भनीथी-उफ! बिहेमै अल्झिन्छौ तिमी। हामी दक्षिण एसियाका मान्छेको त्यही कुरा नहुने। बिहे किन गर्नु भन त? ब्वाई फ्रेन्ड भन्नु र लोग्ने भन्नु अलग कुरा हो।

‘त्यति त मैले बुझेको छु। तर तिमीसँग किन ब्याईफ्रेन्ड टिकेनन् त?’ -मैले सोधेको थिएँ।

उसले सजिलै भनी-ब्वाई फ्रेन्ड र गर्ल फ्रेन्ड भन्नु युज एन्ड थ्रो हो। पहिलो ब्वाई फ्रेन्ड अलि कन्जुस परेछ। मलाई खर्चालु भनेर छोडेर हिँड्यो। अर्को अलि भरखरको थियो। उसलाई मसँगको सम्भोगले चित्त बुझेन रे। अनि मैले अलि पाको मान्छे तर धनी मान्छेलाई ब्वाईफ्रेन्ड बनाएँ।

उसले मेरो नाममा पैसाको गुल्छर्रा त उडायो। उसको बूढो शरीरको हेरचाह गर्ने नोकर्नी पो भएँ म त। अनि उसलाई पनि छोडि दिएँ।’

उसका कुरा सुनेर म अचम्म मात्र मान्दै थिइनँ, बरू उसको सोचलाई केन्द्रमा राखेर मान्छेले खोज्ने अपरिमित स्वतन्त्रताको अनुमान लगाउँदै थिएँ। यो मान्छे भन्ने कस्तो जात हो। के के खोज्छ यो जीवनमा। कसरी परिभाषा गर्छ जीवनलाई?

अनि अनायाश मैले सोधेको थिएँ-ब्वाई फ्रेन्ड त तिम्रा पनि रहेनछन् यो बेला। यौनसमन कसरी गछौँ त?

‘त्यो त कुन ठूलो कुरा भयो त उपाध्याय? यही म्यानहटनको पल्लो भवनको भुइँ तलामा सिनियर सिटिजनलाई मध्यनजर गरेर ‘अड्डा’ खुलेको छ। फुर्सदको बेला त्यहीँ जान्छु’ -उसले बिनासङ्कोच भनी।

‘अहो ! त्यस्तो अड्डा पनि हुन्छ र भन्या?’

‘हुन्छ नि। यार यो त अमेरिका हो। तिमीसँग पैसा छ भने जे पनि पाइन्छ।’

मैले भनेथेँ-बुढेशकालमा यस्तो अड्डाको के काम?

अनि उसले भनी-तिमी कस्तो बुद्धु छौ उपाध्याय? बुढेशकालमा रतिक्रीडाको शक्ति मात्र कम हुने हो। मनको आशक्ति कम हुँदैन। फेरि तिमी जुन बुढेशकालको भौतिक कुराको जिकिर गर्छौ नि त्यो त समग्र यौनआनन्दको दस प्रतिशत मात्र हो। बाँकी नब्बे प्रतिशत त यौनका अन्य विधि हुन्छन्।

यो मान्छे जब्बर छे। योसँग मुख लागेर सकिन्न। त्यसैले म चुप।

बरु उही भन्न थाली–बालक्लव हुन्छन्। युथ क्लव हुन्छन्। महिला क्लव हुन्छन्। वयस्क क्लव हुन्छन्। अनि सिनियर सिटिजन क्लव किन हुँदैन? के बृद्धबृद्धाका कुनै चाहना र आवश्यकता हुँदैनन्। के यी बृद्धबृद्धाका प्रति सरकार तथा समाजको केही दायित्व हुँदैन?

उसले मलाई अड्डा लिएर गएकी थिई। गेटैमा साइनबोर्ड थियो ‘सिनियर सिटिजन्स क्लब’। क्लवकै ढोकामा लेखिएको थियो–कर्मचारीबाहेक अरू ६० वर्षभन्दा मुनिकालाई प्रवेश निषेध।

परिचय पत्र देखाएर अड्डाभित्र पस्ने बित्तिकै युवायुवतीले हामीलाई स्वागत गरे। ऊ र म एउटा टेबुल ओगटेर कुर्सीमा बस्यौँ। अनि उसले मलाई भनी-यो अड्डामा कर्मचारी छन्। तिनले यो क्लवलाई सञ्चालन गर्छन्।

तीभन्दा बाहेक यो क्लबमा ग्राहकको इच्छाअनुसार मसाज, डिप मसाज जस्ता अनेकौँ सेवा पाइन्छ। त्यसका लागि नगरबधु र जिगोलोको व्यवस्था गरिएको हुन्छ। यो कुरा गैर कानुनी होइन। सरकारले नै सब्सिडी दिएर यस्ता क्लवहरू खोल्न लगाएको हुन्छ। आखिर सरकारको पनि बृद्धबृद्धाको आवश्यकताको परिपूर्ति गर्ने दायित्व हो नि।

म उसले भनेका कुराहरू आज्ञाकारी बालखले झैँ सुन्दै थिएँ। यस्तो क्लबको कल्पना मेरा दिमागमा थिएन। यति भनिसकेर उसले एउटा कर्मचारीलाई बोलाई र भनेकी थिई-मारियालाई बोलाइदेऊ।

मारिया हाम्रो अगाडि आएर उभिई। मङ्गोल अनुहारकी मारियालाई मैले मजाले हेरेँ। ऊ त्यस्तै तीसेपैतीसे थिई होली। होचीहोची तर निकै बलियी होली जस्ती।

मारियालाई भेटेपछि मलाई देखाउँदै भनी- ए मारिया! ऊ मेरो साथी हो। यो क्लबको आजै बनेको नयाँ मेम्बर हो। उसलाई भित्र लिएर जाऊ र मजाले ह्यान्डिल गर । टिप्स पाउने छौं।

मसँग बोल्ने केही कुरा नै थिएन। फेरि उसैले भनी-तिमी चुपचाप भित्र जाऊ। मारियाले भनेअनुसार गर मिस्टर उपाध्याय!
मारियाले मेरो हात समाएर भनी-ग्वापो आमिगो! होई एस्तास् कोनमिगो। ओके ? (ह्यान्डसम साथी ! आज तिमी मसँग है। हुन्छ ?)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *