पोखरा महानगरले ल्यान्डफिल साइटमा फोहोर फ्याँक्न लगायो रोक

डिसी नेपाल
३ पुष २०७९ २२:२७

पोखरा । पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्यान्डफिल साइटमा आइतबारदेखि फोहोर फ्याँक्न रोक लगाइएको छ ।

तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको र तत्काल क्षेत्रगत रूपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए।

महानगर कार्यपालिकाले गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाका लागि हेम्जा, विरौटाका लागि छोरेपाटनलगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी छन् । जनवरी १ बाट जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो ।

हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्यान्डफिल साइट छोप्न सुरु गरिएको छ ।

दीर्घकालीन समयका लागि सम्भावित ठाउँमा वातावरण अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दीर्घकालीन रूपमा ल्यान्डफिल साइटको खोजी गर्नेछ ।

समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पमा अध्ययन गर्नेछ । विभिन्न मुलुकमा फोहोरबाट बायोग्यास, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचरलगायत विभिन्न सामग्रीसमेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यीमध्ये कुनै न कुनै विकल्पलाई व्यावहारिकरूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको छ ।

महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरणसहित सहयोगका लागि आम नगरवासीसहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोधसमेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *