मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य कलवारले शपथ गराउने

डिसी नेपाल
६ पुष २०७९ २२:३२

धनुषा । मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउँदै छन् ।

संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताए । सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् ।

सचिव यादवले भने, “कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भएअनुसार उपस्थित सांसदमध्ये ज्येष्ठ सदस्यले शपथ गराउनुपर्ने भएको हुँदा ज्येष्ठताका आधारमा नेकपा(एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ गराउने कार्यक्रम तय भएको थियो तर न्यौपाने अस्वस्थ रहेकाले शारदाशङ्कर कलवारले सांसदको शपथ गराउने तयारी भएको छ । न्यौपानेको उमेर ७१ वर्ष छ भने शारदाशङ्करको उमेर ७० वर्ष रहेको छ ।”

सचिव रञ्जित यादवले न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको संसद् सचिवालयले स्पष्ट पारेको छ ।

यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको बताए । सचिवालयले आगामी आइतबार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उनले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जना गरी एक सय सात सांसद निर्वाचित भएका छन् । उनीहरूलाई शपथ गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *