सुदूरपश्चिममा ६ जनाले मातृ भाषामा शपथ लिने

डिसी नेपाल
१३ पुष २०७९ १२:०२

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सदस्यले शपथ लिँदा आफ्नो मातृ भाषाको प्रयोग गर्न पाउनेछन्। पुस १५ गते १ बजे हुन लागेको नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण स्थानीय भाषामा गर्न प्रदेश सभा सचिवालयमा निवेदन पेस गरेका हुन्।

जसमा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिकबाट निर्वाचित एक गरी ६ जनाले स्थानीय भाषामा पद तथा गोपनीयताको शपथ लिने भन्दै निवेदन पेस गरेको सूचना अधिकारी युवराज जैसीले बताए।

नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारूसँगै कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषाका लागि निवेदन दिएको उनले बताए।

त्यसका लागि तीन दिनअघि नै सोको ढाँचा प्रदेशसभा सचिवालयमा बुझाउन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले अनुरोध गरेको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफला ७५ को उप दफा २ बमोजिम प्रदेश सभा सदस्यले शथपलाई आफ्नो मातृ भाषामा रुपान्तरण गरी प्रदेशसभा सचिवालयमा बुझाए मातृ भाषामै शपथ लिन सकिने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।

‘सबै माननीयलाई सोबारेमा जानकारी गराएका थियौं,’ सचिव बोगटीले भने, ‘नियमअनुरुप संवैधानि अधिकार प्रयोग गर्न पाइने भए पनि तोकेको समयभन्दा ढिलो गरी ढाँचा पेस गरेमा भने राष्ट्रिय भाषामै शपथ लिनुपर्नेछ।’

बोगटीका अनुसार प्रदेश सभा सदस्यको शपथ पुस १५ गते गर्ने तयारी गरिएको छ। प्रदेशसभा सदस्य र प्रदेश प्रमुखको सल्लाहका आधारमा पुस १५ गतेका लागि शपथको मिति थय गरिएको  प्रदेश सभा सचिवालयका सचिव बोगटीले बताए।

सचिव बोगटीका अनुसार पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बोलाउने तयारी थालिएको छ। निर्वाचन आयोगले निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाएको २० दिन भित्र प्रदेशसभा बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ। सोअनुरुप ४ दिन अगावै पुस १८ गते प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने तयारी गरिएको हो।

निर्वाचन आयोगले पुस २ गते प्रदेश प्रमुखलाई निर्वाचन परिणाम उपलब्ध गराएको थियो। सोअनुसार पुस २२ गते भित्र प्रदेशसभा सदस्यको शपथ र प्रदेशसभा बैठक बसिसक्नुपर्ने हुन्छ। सुदूरपश्चिममा त्यसअघि नै शपथ र बैठक आह्वान गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयका सचिव बोगटीले बताए।

ज्येष्ठ सदस्यले सक्कली प्रमाण पेस गर्नुपर्ने

प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले सपथका लागि नागरिकताको सक्कल प्रतिलिपि प्रदेशसभा सचिवालयमा बुझाउनु पर्नेछ।

प्रदेशसभाका ज्येष्ठ सदस्यले निर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउने र पहिलो प्रदेशसभा बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। सोका लागि ज्येष्ठ प्रदेशसभा सदस्यले नेपालको संविधानको धारा १८२ को उपधारा ५ थता प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उप दफा १ बमोजिम नागरिकताको सक्कल प्रमाण पत्र र एकप्रति फोटा प्रदेश सभामा उपलब्ध गराउनुपर्नेछ।

सुदूरपश्चिम प्रदेश सभामा अछाम क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित जमानबहादुर रावल सबैभन्दा ज्येष्ठ प्रदेशसभा सदस्य छन्। उनको उमेर ६८ वर्ष छ । ६८ वर्षीय मानबहादुर रावललाई प्रदेश प्रमुखले शपथ खुवाउनेछन्। प्रदेश प्रमुखले शपथ गराएपछि उनले प्रदेशसभाका बाँकी ५२ प्रदेश सभा सदस्यलाई सपथ गराउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *