कथा : रतिको राग

खेमराज पोखरेल
१६ पुष २०७९ ६:१६

लुप्पे मुडमा आउँछ र मलाई भन्छ- मिगो! तु नेसेसितो उना सिन्योरिता। सी?
(साथी ! तिमीलाई एउटा सुन्दरी चाहिएको छ। हो कि होइन?)

ड्युटी सकेर मध्य रातमा कोठामा आएको छु। सधैँ यस्तै भन्छ लुप्पे। म यति खेर सुस्ताएको छु। मझैँ मेरो झन्डै एन्टिक भइसकेको कार पनि सुस्ताएको छ। गाडीबाट ल्युब आयल तप्प तप्प झर्दै छ। लुप्पेलाई भनेर टालटुल पारेको छु। यो लुप्पे सस्तो मेकानिक हो।

उसलाई एक बट्टा चुरोछ र १२ बोटलको प्याक बियर दिएपछि गाडी बनाइदिन्छ। जाँदाजाँदै मलाई भन्छ- होला मिगो! तु तेङ्गो मुचो त्रवाखो। मुचो दिनेरो। पोर्के नो नोयबो कार? पोर्के नो सिन्योरित ?

(नमस्ते साथी! तिमी यति धेरै काम गर्छौ। धेरै पेसा कमाउँछौ। किन नयाँ कार नकिनेको? खोइ तिमीसँग सुन्दरी?)

म उसलाई भन्छु-चाहिएको छ भनेर के गर्नु? नेपालमा मेरी श्रीमती छिन्। छोराछोरी छन्। आमाबाबु हुनुहुन्छ। खर्चपानी पठाउनु पर्छ। यो पराइ मुलुकमा खर्च गरेर के गर्नु? फिर्नु त फेरि आफ्नै देशमा छ नि।

केही दिनपछि लुप्पेले काकाकी छोरी लिलीलाई लिएर आयो र मलाई परिचय गराउँदै भन्यो—यो साथी नेपालबाट आएको हो श्याम। यी मेरी कजन हुन् लिली। र ऊ चिनियाँ हो मेरो बहिनीको नयाँ ब्वायफ्रेन्ड। चाङ कस्तो ह्यान्डसम छ हगि?

त्यसको केही दिनपछि दिउँसो स्विमिङ कस्ट्युममा चाङसँगै आएकी लिलीको दृश्यले मेरो काममद उत्कर्षमा पुगेको छ।

लुप्पेलाई सम्झेको छु। ऊ भन्ने गर्छ-एक पल्टको हो यो जुनी। यो जीवन। रमाउन जान्नु पर्छ। कजनलाई मिलाइदिएको पनि आँट गर्न सकेनौ त।

सोच्न थालेँ । उफ! जिन्दगीसँग न म रमाएँ। न श्रीमतीलाई रमाउन दिएँ। न अरू नै रमाएको देखिसहेँ। तर यो लुप्पे र उसकी बहिनी र त्यो भाग्यमानी चाङ। उनीहरूको जीवन देखेर आहारिस लाग्यो।

मेरो पनि दिमागमा आउन थाल्यो-एउटा जुनी हो यार! सिरानेलाई तिघ्राका बिचमा कसिलो तरिकाले च्यापेँ। नरम भुवाको तिब्र स्पर्शले झन् कामाग्नि जब्बर हुन थाल्यो।

संयोगले त्यसै बेला नेपालबाट श्रमतीको फोन आयो-भो न, जति गरे पनि केही हुन्न। जिन्दगीको भ्यागुताको धार्नी कहिल्यै पूरा हुँदैन। आउनु अब। रोटोपीठो जे हुन्छ खाऔँला। सँगै बाँचौँला। सँगै नाचौँला। काँचा छन् हाम्रा जिन्दगीहरू। काँचो छालाले मोरेको छ जिन्दगी। अजम्बरी त होइन नि हाम्रो चोला?’

म भने अमेरिका छिर्दाका घटना सम्झिरहेको छु। बिहे भएको दुई वर्ष पनि बितेको थिएन, एउटा नेतालाई बिनारसिदको मोटो चन्दा दिएर उनकै भ्रमण टोलीको सदस्यका रूपमा अमेरिका छिरेको हुँ म।

रतिप्रेम भनेको यौनानन्द हो। तपस्वीले समाधि प्राप्त गरेझैँ आनन्द हो। त्योभन्दा ठूलो आनन्द संसारमा केही छैन। यो संसारमा देवीको महत्त्वका बारेमा हिन्दुशास्त्रले बताएका छन्। दिमागको स्रोत सरस्वती देवी हुन्।

श्रीमतीलाई सुदूरभविष्यको सम्पन्नता नामको ललीपपको प्रलोभन दिन्छु। उनले चित्त बुझाए पनि वा नबुझाए पनि उनीसँग अर्को विकल्प छैन। चाहेर न म नेपाल पुग्न सक्छु, न मेरी श्रीमती अमेरिका आउन सक्छिन्। यही पीडामा म हरेक रात सिरानेलाई श्रीमती सम्झन्छु र खुट्टा बोकाउँछु। चित्त बुझाउँछु-लिली त अमेरिकी स्वतन्त्रताकी एउटी मिथक हो।

निकै गाह्रो गरी सुतेको थिएँ। श्रीमती आइन्। रुँदै थिइन्। अँगालो हालेर सुम्सुम्याउन खोजेको त उनी रति देवीमा रूपान्तरित भइन्। रति देवीको रूप विछट्ट सुन्दर थियो। अङ्ग्रेजी साहित्यकी क्लियोपेत्राभन्दा सुन्दरी थिइन्।

आफ्नो सिल्की, लामो र कालो कपाल फिँजाएकी थिइन्। शरीर लचकदार सम्मोहन गर्ने खालको थियो। हँसाइले ‘मै हुँ’ भन्ने तपस्वी पनि ठहरै हुने याने कि मोहमा पर्ने खालको थियो। त्वचा सङ्गमरमर जस्तै टल्केको थियो। आँखा मृगनयनी थिए।

अनुहार धेरै वटा मूर्तिकारले मूर्तिकलाको शास्त्रका आधारमा बनाएको सर्वोत्कृष्ट सिङ्गल पिस जस्तो थियो। मांसपेसी कसिलो र सुकोमल देखिन्थ्यो। अधरबाट अमृत चुहिएला जस्तो थियो। चोलाबाट निस्कन खोज्ने वक्षस्थलका आकारीय परागले लोग्नेमान्छेका मनमस्तिस्कलाई त्यतैतिर एकाग्र गराएका थिए। बाहु कसिला, सुकोमल र चट्ट मिलेका थिए।

यहाँसम्म कि उनको गाउनले छोप्न नभ्याएका पिँडुलाले समेत सौर्य फ्याकिरहेका थिए। फरिया र चोलाको बीचमा देखिएको श्वेत नाभी नै सम्मोहनका लागि पर्याप्त थियो। समग्र रूप यति विलासमय आकर्षक थियो कि जादुटुनाकी प्रतिमूर्ति जस्तै लाग्दथिन्।

म रतिदेवीको सौन्दर्यपान गर्दै थिएँ। यत्तिकैमा आकाशबाट रतिदेवीको लोग्ने कामदेव क्षतविक्षत शरीरसहित भूइँमा फ्यात्त खसे। शरीर तथा छातिबाट ह्वालह्वाली रगत बगिरहेको थियो।

कामदेवलाई आँगनमा लमतन्न सुताइयो। उनी अन्तिम श्वास फेर्दै थिए। कामदेवको त्यो विद्रुप रूप देखेर रति देवीले सोधिन्- हे परम वीर! कसले यस्तो हाल बनायो तिम्रो?

कामदेवले भने-त्यो छुसी विष्णुले छल गरेर तिम्रो सतित्व नष्ट गरिदियो। तिम्रो सतित्वमा अडिएको मेरो प्राणमाथि महादेव भन्ने पिचासले बाण प्रहार गरेर मेरो यो हाल बनायो।

रति देवी विलौना गर्न थालिन्-हे छुसी विष्णु! हे कायर विष्णु!! तैँले मेरै पतिको अनुहार धारण गरेर मेरो सतित्व हरण गरिस्। छल गरिस्। तेरो भलो नहोस्। तेरा अनुयायीको भलो नहोस्।

म भने कामदेवलाई एकाग्र भएर हेरिरहेको थिएँ। चौडा छाती थियो उसको। मुहारमा दिव्य चमक थियो। बर्सौँ जिम गरेर बनाइएको जस्तो सुडौल शरीर थियो। उच्च ललाट थियो। लाग्दथ्यो उसको काम पुरूष अझै ललकार गरिरहेको थियो। ऊ दिव्य पुरूष लाग्दथ्यो। उसको समग्र शरीरबाट यौनाग्नि प्रकट भइरहेको थियो।

यस्तो विद्रुप अवस्थामा एकाएक कामदेव बोलेका थिए-हे रति देवी! तिमीलाई थाहा छ कि म मृत्युवरण गर्दैछु। मृत्यु पनि जन्म जस्तै एउटा शाश्वत सत्य हो। आऊ, मरणभन्दा पहिले अन्तिमपल्ट यही लोकमा तिमीसँग एउटा ऐतिहासिक सम्भोग गर्न चाहन्छु म।

तिमीसँगको सम्भोगभन्दा सुन्दर र आनन्ददायी क्षण मेरा लागि अरु केही छैन यो संसारमा। तिमीसँगको यौनानन्दका लागि म यो सांसारिक लोकमा हजारपल्ट जन्मन र मर्न तयार छु। तिमी जति किमती वस्तु कुनै छैन यो त्रिलोकमा।

रति देवीले रूँदै जवाफ दिँदै थिइन्- हे कामदेव ! हे कामुकताका राजा कामदेव! मेरा पति कामदेव! जिन्दगीभरि तिमीसँग गरिएको सम्भोगले मेरो रूपको निर्माण भएको हो। परम यौनानन्दले मेरो सौर्यको निर्माण भएको हो।

तिमी नभइदिएको भए यो रतिरूपको के काम? त्यो त गुम्सिएर पीडामा रूपान्तरण हुन्थ्यो। तिमी मेरो जीवनको अनमोल रत्न हौ। तर अहिले म तिमीसँग सम्भोग गर्न सक्तिनँ। मेरो सतित्वलाई त्यो छली विष्णुले तिम्रो शरीरलाई जस्तै क्षतविक्षत बनाइदिएको छ। मलाई माफ गर मेरो देवता। क्षतविक्षत अपवित्र योनि लिएर म तिमीसँग सम्भोग गर्न सक्तिनँ।

श्रीमती र रति देवीलाई छुट्याउन खोजेँ। श्रीमती त मेरो त्यही थोत्रो गाडीका छेउमा उभिएर मलाई नै भन्दै थिइन्—यही ल्युब आयल छाद्ने गाडी लिएर जिन्दगी कटाउने तपाईँको चोक्रे सोचले नै हामी दुवैको जीवन बेकार भयो। कुरा बुझ्नु भयो?

श्रीमतीसँग नजिक पुगेँ र सुम्सुम्याउन खोजेँ। अलप भइन् र रति देवीमा समाहित भइन्। उता कामदेव मेरै श्रीमतीलाई अगाडि राखेर भन्दै थिए-हे सुन्दरी रति देवी! यो संसारमा योनि कहिल्यै अपवित्र हुन सक्दैन। योनि भन्नु देवत्व हो।

संसारको नियमीतताको कारण मात्र होइन, यौनानन्दको सर्वस्रोत हो। छलले भङ्ग गरेको हुनाले तिम्रो सतित्व नष्ट हुन सक्दैन। हुँदैन। आँखाका खारे रागले तिम्रो सतित्वलाई केही खालो सार्न सक्दैन।

शरीर मेरी श्रीमतीको र स्वर रति देवीको सुनियो-हे वीर पुरूष! त्यो विष्णुले झुक्याएर मेरो सतित्वहरण गरेको छ। वलात्कार गरेको छ। म त्यो ‘म त्यो वलात्कारको पीडा खप्न नसकेर द्रवित भएकी छु। बिटुलिएकी छु। तिम्रो मृत्युको कारण पनि त्यही मेरो बिटुल्याइ हो।

म तिमीबाट अलग हुन सक्दिनँ। म पनि सति गएर तिमीसँग अर्को जुनीमा सँगै हुन चाहन्छु। अहिले पवित्रताको लागि तिम्रै चितामा अग्निसमाधि लिन चाहन्छु।

कामदेव बोले—रति देवी! हे सुन्दरी, तिमी प्रेमकी देवी हौ। तिमीलाई देखेपछि कामुकताबाट ग्रसित नहुने कुनै पुरmष नै हुन्न। तिम्रो सौन्दर्यबाट निस्कने रतिरागले नै यो संसार यौनानन्दमय भएको छ।

तिमी संसारका मान्छेको यौनानन्दकी देवी हौ। तिमीलाई युगौँयुगसम्म यौनकी देवी भनेर पूजा गरिन्छ। तिमीभित्र दन्किरहने रतिज्वालाले म वशीभूत भएको छु। यो आवेगलाई खप्न सक्तिनँ।

रति बोलिन्-हे कामुकताका राजा! मलाई थाहा छ प्रिय। तिमीजस्तो वलशाली र सौर्य पुरूषले नै मेरो रतिज्वालालाई समन गर्न सक्छ। ममा असीम रतिराग समाहित भएको छ। रतिप्रेम जत्तिको सुन्दर केही छैन संसारमा।

तर म आज ती सबै मेरा रागहरू आगोका लप्कामा डढाइदिन्छु। र तिमीसँग अर्को जन्ममा महारति भएर जन्म लिन्छु। तिमी महाकामदेव भएर जन्मने छौ। त्यो बेला महारतिमा लिन हौँला हामी। तर अहिले म अग्निशुद्धिमा लाग्छु। अग्निसमाधिमा लीन हुन्छु।

कामदेव बोले-यति बेला रतिकर्म मेरो लागि सौखको विषयमात्र होइन, अन्तिम बेलाको कामेच्छा हो सुन्दरी। तिमीसँगको रतिक्रिडाको कल्पना मात्रले पनि ममा असीम उत्तेजना आइरहेको छ।

मृत्युवरण गर्न लाग्दा पनि म यौनानन्दमा अकल्पित आनन्द प्राप्त गरिरहेको छु। तिमीलाई थाहै छ हे सुन्दरी! म तिमीसँगको सम्भोगबिना मृत्यु वरण गर्न सक्दिनँ।

हे कामुकताका राजा कामदेव! मेरा पति कामदेव! जिन्दगीभरि तिमीसँग गरिएको सम्भोगले मेरो रूपको निर्माण भएको हो। परम यौनानन्दले मेरो सौर्यको निर्माण भएको हो।

रति बोलिन्-हे सौर्य पुरूष! मेरा ती सबै रतिसौर्य तिमीबिना अधुरा र अपूर्ण हुन्छन्। तिमी अमूल्य हौ कामदेव। तिमीबिना म के पो गर्न सक्छु र? तर आजको दिन पवित्रता प्राप्त गर्नु मेरो कर्मप्रधान ध्येय हो। तिमी बाँच्ने भएको भए यो अपवित्रताबाट मुक्ति पाउने अनेक तरिका पनि थिए।

जलशुद्धि, स्थलशुद्धि र वायुशुद्धि पनि गर्न सकिन्थ्यो। तर तिम्रो यो पापी संसारबाट बहिर्गमन हुने भएपछि मेरा लागि अग्निसमाधि नै अपवित्रताबाट मुक्ति पाउने मार्ग हो। त्यस कारण आज म तिमीसँग रतिक्रिडा गर्न सक्दिनँ। मलाई माफ गर मेरा प्रिय सौर्य पुरmष।

कामदेवले भने-ठीकै छ सुन्दरी। तिम्रो इच्छा नै मेरो जीवनको लक्ष्य थियो। भइरहने छ। मैले भनेँ नि, तिम्रो प्राञ्जल योनिसँग समागम नगरी म मृत्यु वरण गर्न सक्दिनँ।

रति देवी बोलिन्-त्यसो भए हामी दुवैले अग्निसमाधि लिऔँ। हाम्रा यी शरीरलाई यही लोकमा बिसर्जन गरौँ। त्यसपछि हामी अग्निसमाधिपश्चात विशुद्ध पवित्र हुन्छौँ। अनि यिनै मान्छेले थाहा पाउने गरी आत्माआत्माको समागम गरौँ। सम्भोग गरौँ। त्यसो भएमा मान्छे हाम्रो समागम देख्न र हेर्न जुनीजुनी लालयित होइरहन्छन्।

योनि पूजाका लागि सरदम तयार भयो। कामदेवले योनिको विधिपूर्वक पूजा गरे। रतिदेवीले कामदेवको लिङ्ग पुजन गरिन्। कामदेव चितामा बसे।

चितामा बसेकै बेला कामदेवले रति देवीलाई भने-ठीक छ संसारकी सर्वसुन्दरी मेरी प्रिया रतिदेवी। आज म तिमीलाई वरदान दिन्छु। तिमीमा रहेको रतिरहस्य रहस्यमै रहोस्।

यो बेला कामदेवको लासलाई अँगालेर रति संसारप्रति रौद्र्र रूप देखाइरहेकी थिइन्। मेरी श्रीमती रति देवीकै छेउमा दिदीबहिनी झैँ बसेकी थिइन्। मान्छे भने बराम लागेर रतिदेवीको त्यो रौर्द्र रूपलाई हेरिरहेका थिए।

वातावरण एकदम डरलाग्दो थियो। आकाशमा मेघ गर्जिरहेको थियो। त्यसले अशुभ दर्शाइरहेको थियो। रति देवीले हातमा श्रीखण्डको काठमा घिउ लेपन गरिएको अग्निज्वाला लिएर चितामा झोस्न लागेकी थिइन्।

मैले हतारहतार रति देवीलाई सोधेँ-हे देवी! म मान्छेको प्रतिनिधि हुँ। हे सर्वसुन्दरी! अग्निसमाधि लिनुभन्दा पहिले मलाई रतिरहस्यका बारेमा केही बताइदिनु होस्। म युगयुगसम्म ती रतिरहस्यका बारेमा मत्र्यमण्डलका मान्छेहरूलाई शिक्षा दिने कर्म गर्नेछु।

सो अग्नि प्रदान कर्मलाई एक छिन रोकेर रतिले विस्फारित नेत्रले मलाई हेरिन् र भनिन्-हे मान्छेका प्रतिनिधि मान्छे! तिमीलाई थाहा छ नै होला कि यो संसारको सृष्टि देवीले गरेका हुन् । देवीको गर्भाशय हो। विर्य त गौण हो। रति भन्नुको तात्पर्य सन्तान उत्पादन मात्र होइन।

रतिप्रेम भनेको यौनानन्द हो। तपस्वीले समाधि प्राप्त गरेझैँ आनन्द हो। त्योभन्दा ठूलो आनन्द संसारमा केही छैन। यो संसारमा देवीको महत्त्वका बारेमा हिन्दुशास्त्रले बताएका छन्। दिमागको स्रोत सरस्वती देवी हुन्।

हृदयमा आउने माया ममता, सन्तानप्रति समपर्णकी देवी पार्वती हुन्। पेटकी देवी याने कि सम्पतीकी देवी लक्ष्मी हुन्। यौन याने रतिकी देवी म हुँ। यी सबैको तादात्म्यबाट दुर्गादेवीले शक्ति प्राप्त गर्छिन्। र मनुष्यलाई प्रदान गर्छिन्।

मैले बिन्ती बिसाएँ-रतिरहस्यमा के के पर्छन् महादेवी?

रति बोलिन्-रतिरहस्यमा रतिप्रेम, रतिशिल्प, रतियुद्ध, रतिआनन्द, रतिसूत्र, रतिआसन, रतिअपराध, रतिआवेग, रतिसमन सबै कुरा पर्छन्। कालनान्तरसम्म तिमीले मन्दिरका टुँडालमा मेरो र कामदेवको रतिक्रिडाका मूर्तिहरू देख्ने छौ।

ती रतिक्रिडाका मूर्तिहरूको दर्शनले मान्छेमा असल भाग्य तथा जिन्दगीको सुखमय अवस्था देख्ने छन्। मेरो र कामदेवको रतिक्रियायुक्त मूर्ति हेरेर स्खलित हुनेछन्। रतिको कल्पना गर्नेछन् । यौनानन्दका लागि आतुर हुनेछन्।

अनि मैले सोधेँ-हे रति देवी! मेरा मनमा संशय छ। रति भन्नु र मैथुन भन्नुमा के फरक छ देवी?

रति देवी बोलिन्-रति भन्नु आनन्द हो। त्यो आनन्दभित्र सबै रहस्य पर्छन्। तर मैथुन भन्नु रतिक्रीडा मात्र हो। स्खलित हुने कर्म मात्र हो। मैथुन रतिक्रियाको एउटा सानो अंश मात्र हो।

मैले तुरून्त सोधेँ-हे त्रिलोककै सर्वसुन्दरी! रति भन्नु र सन्तान उत्पादन भन्नु एकै हो कि बेगल हो?

रति बोलिन्-रतिरहस्यमा यौनानन्द प्राप्त हुन्छ। रतिलक्ष्य भन्नु रतिक्रिया हो। रतिभोग भन्नु यौनानन्द हो। तिमी मान्छे रतिज्ञ याने रतिप्रेमको शिल्पीय कलाले परिपूर्ण भयौ भने कामसूत्र, कामासन, तथा कामानन्दको प्रतीक बन्न सक्छौ। त्यसैले सन्तान उत्पादन रतिरहस्यको देखिने एउटा सानो परिणाम मात्र हो। म त यौनानन्दकी देवी हुँ।

मैले पनि बुज्रुक भएर सोधेँ—हे देवी! म झन् दुबिधामा परेको छु। रतिक्रिया नभई कसरी सन्तान उत्पादन हुन सक्छ र देवी?

रतिले भनिन्-हे मुर्ख मान्छे! मेरो आराधना त केवल यौनानन्दका लागि हो। एउटा कुराको दृष्टान्त लेऊ। के तिम्रो मत्र्यमण्डलमा सबै सम्भोगहरू सन्तान उत्पादनका लागि मात्र गरिन्छन् र? हेर्दै जाऊ, तिम्रो संसारमा रतिक्रिया नभई पनि सन्तान उत्पादन हुनसक्छ मनुष्य। विर्य बैँकबाट विर्य खरिद गरेर पनि सन्तान प्राप्त हुनसक्छ। तर त्यसले यौनानन्द त दिँदैन नि।

मैले सोधेँ-अनि हे रति! पौराणिक शास्त्रमा रतिक्रीडाकै कारणले आमाको जन्म भएको कुरा लेखिएको छ। आमाको महत्त्व भन्नु रतिक्रीडाकै प्रतिफल होइन र महादेवी?

रतिले भनिन्-हे मनुष्य! तिमीले ठीक भन्यौ। यो संसारमा आफ्ना सन्तानलाई सबैभन्दा बढी माया गर्ने याने कि आफूलाई भन्दा बढी माया गर्ने आमा हुन्। मातृत्व हो। त्यसरी माया गर्ने आमाले आफ्नो सन्तानको अनुहार हेरेर आफ्नै रतिक्रीडा सम्झिन्छन्।

आफ्नै रतिक्रीडाका पराक्रमी उद्दमबाट जन्मेको सन्तान हुनाले यो संसारमा ममत्वकी खानी भएकी हुन् आमा। सन्तान भन्नु रतिक्रीडाको गर्व हो। त्यस कारण हरेक आमा आफ्ना सन्तानप्रति गर्व गर्छिन् र असीम माया गर्छिन्।

त्यो सन्तानले पाल्छ कि पाल्दैन, त्यो रूपमा, सौर्यमा, कर्ममा, शिलमा, पराक्रममा कमजोर भए पनि आमाको नजरमा सन्तान सर्वप्रिय हुनु आफ्नै रतिक्रीडाको गर्व हो।

अब मसँग केही प्रश्न बाँकी थिएनन्। तर रति देवीको क्रोधाग्नी जब्बर तरिकाले बलिरहेको थियो। त्यो ज्वालामा त्रिलोक नै जलेर ध्वस्त भइरहेको थियो।

उनी त्रिलोककै मान्छेलाई सरापिरहेकी थिइन्- रति भन्ने विषय सधैँ रहस्य भएर बसोस्। संसारले यो प्राप्त गर्न धेरै ज्ञान हासिल गर्नु परोस्। धेरै मूल्य चुकाउनु परोस्। ठूलाठूला युद्ध होऊन्। रतिविचारलाई उदात्त बनाउन नसकून् मान्छेले।

सन्तान उत्पादनलाई मात्र रतिसुख ठानून्। मान्छे सधैं रतिभोकले तडपिरहोस्। रतिका बारेमा मान्छेले खुलेर कुरा गर्न पनि नपाऊन्। रतिअपराधले मान्छे ग्रसित होऊन्।

रतिरस प्राप्त गर्नका लागि मान्छेले मान्छे मारून्। तिमी मान्छेहरूको यौनाग्नि कहिल्यै समन नहोस्। त्यही यौनाग्नीमा तिमीहरूले युगयुग तडपिएर बाँच्नु परोस्। मान्छेका लागि रतिरस दुर्लभ होस्। सधै अतृप्त भएर रतिपीडामा बाँचून् मान्छेका सन्तान।

यसपछि रति देवी चितामा चढ्न तयार थिइन्। मैले श्रीमतीलाई एउटा आँखा झिम्क्याएर आफूतिर बोलाएँ। उनले केही मतलब गरिनन्। मैले श्रीमतीले सुन्ने गरी चर्को स्वरमा भनेँ-आऊ प्रिय! म यहाँ छु। म तिमीबिना तप्ततप्त स्खलित भइरहेको छु। समागम गरौँ।

मेरी श्रीमतीले भनिन्-म मेरै रतिरागका कारणले कल्पना तथा सपनामै भए पनि हजारौँपल्ट अन्य वलिष्ट पुरूषहरूसँग बिटुलिएकी छु। तिनै पुरूषसँगको स्वर्णिम सहवासको कल्पना गर्दै स्खलित भएकी छु।

मेरा वरिपरिका हट्टाकट्टा पुरूषको आकर्षक यौन आशक्तिले म रति देवीजस्तै क्षतविक्षत भएकी छु। यो तिमीबिनाको तडप जीवनको के काम? म पनि रति देवीसँगै अग्निसमाधि लिन चाहन्छु।

म श्रीमतीलाई हातैले समाएर तान्दै छु। तर रति देवी र मेरी श्रीमती एकाकार भए। अनि म झन् आत्तिएँ। चितामा लडिरहेको कामदेवको लासलाई हेर्छु त त्यो लास मेरो अनुहारमा रूपान्तरण भइसकेको रहेछ।

मेरो लासले श्रीमतीलाई भन्दै थियो-किन म लास भएँ हँ प्रिया?, किन तिमी अग्निसमाधि लिन चाहन्छौ? त्यसो नगर प्रिया। यो संसार सुन्दर छ।
चिता बलिरहेको छ। त्यहाँ श्रीखण्ड दाउराहरू छैनन्। घृतांश पनि छैन। विश्वबजारको पेट्रोल बल्दै छ। विदेशी पैसाको मुठाका मुठाले चिताग्नि दन्किरहेको छ।

म लास भएको चितामा जल्न खोज्दै मेरै श्रीमतीले भनिन्-मैले तपाईँलाई भयो अब, म थेग्न सक्दिनँ। आउनू। आइहाल्नू। हाम्रो जिन्दगी काँचो छालाले मोरिएको छ। यस्तो जिन्दगीको के भर? भनेकी थिएँ नि। ऊ बेला पत्याउनु भएन। अब समय भड्किएको छ। बैँस र समय दुवै फिर्ता हुँदैनन्। अब ‘हगिसक्यो दैलो देख्यो’ को के काम?

यसपछि उनले त्यही चितामा हाम फालिन्। म जल्दै थिएँ। उनी जल्दै थिइन्। हाम्रा आत्मा भने रतिरागमा व्यस्त थिए। रतिक्रीडामा व्यस्त थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *