लुम्बिनीमा खाना महोत्सव सुरु

डिसी नेपाल
१६ पुष २०७९ २२:५२

रुपन्देही । नवौँ लुम्बिनी खाना महोत्सव आजदेखि लुम्बिनीमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य वासुदेव घिमिरेले लुम्बिनीको विकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता जनाए ।

“अब लुम्बिनीभित्र मात्र होइन, बाहिर पनि आहा भन्ने बनाउनुपर्छ, त्यसका लागि सबैको सहकार्य जरुरी छ”, उनले भने । लुम्बिनीमा सरसफाइ र सौन्दर्यीकरण आवश्यक रहेकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे ।

“सरकार एक्लैले केही गर्न सक्दैन सबै स्थानीय मिलेर सरसफाइ अभियान चलाउनुपर्छ । फोहर यत्रतत्र नफालाँै”, उनले भने, “हामी गौतमबुद्ध जन्मस्थलका नागरिक भएकाले आनिवानी बदल्न जरुरी छ ।”

उनले अब आर्थिक गतिविधि बढ्ने र होटल व्यवसायले गति लिने विश्वास व्यक्त गरे । “कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर गरेको छ । अब व्यवसायीले अपनत्व लिने गरी सरकारले नयाँ निर्णय लिने छ”, उनले भने ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले अहिलेसम्म लुम्बिनी गुरुयोजना पूरा गर्नमा ध्यान केन्द्रित गरेको बताउँदै अब लुम्बिनी आसपासको विकासमा सहकार्य गर्ने बताए । लुम्बिनीमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै उनले नजिकका पालिकासँग समन्वय गरेर निकास निकाल्न आवश्यक रहेको धारणा राखे ।

लुम्बिनी प्रदेससभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनीको विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन खानले महोत्सवमा सबैलाई समेट्न आग्रह गरे । नगरका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीको विकास र प्रवद्र्धनका सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखिन् ।

लुम्बिनी पर्यटन परिषद्का सदस्यसचिव रामु जोशीले लुम्बिनीको विकासमा प्रदेश सरकारले सहकार्य गर्दै आएको बताए । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनीका पर्यटन महाशाखा प्रमुख मुक्ति पाण्डेले ‘नयाँ वर्षमा लुम्बिनी जाऔँ’ सन्देशसहित आयोजना गरिएको सडक खाना महोत्सव ब्रान्ड बन्दै गएको बताए ।

लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले आर्थिक मन्दिका कारण होटल व्यवसाय प्रभावित भएको समयमा व्यवसाय चलायमान बनाउन सडक खाना महोत्सव आयोजना गरिएको बताए । लुम्बिनी होटल सङ्घका उपाध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।

नाटाका प्रदेश अध्यक्ष रचना पन्तले लुम्बिनीको आर्थिक समृद्धिका लागि सबैको सहकार्यमा अभियान चलाउनुपर्ने र निजी क्षेत्र त्यसका लागि तयार रहेको धारणा व्यक्त गरिन । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपाने, होटल व्यवसायी पिताम्बर न्यौपाने, व्यवसायी सञ्जय बजिमय लगायतले पर्यटन प्रवद्र्धनका लागि यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए ।

सङ्घका महासचिव पुरुषोत्तम अर्यालले कोरोनाका कारण सुस्ताएको लुम्बिनीको व्यापार व्यवसायलाई उकास्न खाना महोत्सव सफल हुने विश्वास व्यक्त गरे । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित खाना महोत्सवमा विभिन्न जातजातिका परिकार राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *