छविलाललाई सभामुख बनाउने ओलीको चाहना, गुरुङको दावीले अप्ठ्यारो

डिसी नेपाल
१९ पुष २०७९ १४:०६

काठमाडौं। सत्ताधारी गठबन्धनमा पदको बाँडफाँडमा सभामुख पाएको नेकपा एमालेमा सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न आन्तरिक छलफल चलिरहेको छ।

बालकोट निकट स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली छविलाल विश्वकर्मालाई सभामुख बनाउन चाहन्छन् । तर, पृथ्वी सुब्बा गुरुङले पनि दावी गरेपछि उनी अप्ठ्यारोमा परेका छन्।

रुपन्देही १ बाट जितेर आएका विश्वकर्मा एमालेका स्थायी कमिटी सदस्य हुन् । पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवार भएका घनश्याम भुसाल र तत्कालीन ५ दलीय गठबन्धनका उम्मेदवार गरी दोहोरो चुनौती हुँदा समेत जितेर आएका विश्वकर्मा एमालेबाट प्रत्यक्ष निर्वाचन जितेका एक्ला दलित सांसद हुन्। यही कारण उनीतर्फ ओलीको झुकाव छ।

उता ५ दलीय गठबन्धनको चुनौतीका बीच तत्कालीन गठबन्धनका प्रभावशाली उम्मेदवार देव गुरुङलाई हराएर आएका पृथ्वी सुब्बा गुरुङको दावेदारी पनि बलियो छ। माओवादीका महासचिवलाई हराएर आएका कारण यसै पनि गुरुङको कद उँचो छ।

त्यसमाथि गण्डकी प्रदेशको मुख्यमन्त्री समेत छाडेर संघीय निर्वाचनमा गएको हुँदा उनले माग्ने आधार बलियो भएको बालकोट निकट स्रोत बताउँछ।

बुधबार बिहान ओली निवास बालकोटमा एमालेका केही प्रभावशाली नेताहरु राष्ट्रपति र सभामुखको उम्मेदवारको नाम टुंगो लगाउन ओलीसँग छलफल गर्न पुगेका थिए।

यो छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन। तर, राष्ट्रपतिमा सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यको सम्भावना उच्च रहेको र सभामुखमा विश्वकर्मा वा गुरुङको सम्भावना उच्च रहेको स्रोत बताउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *