स्वचालित घन बनाउने विश्वकर्मालाई आँबुखैरेनी गाउँपालिकाको सम्मान
तस्बिरः रासस
तनहुँ । फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका–५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पु¥याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
अध्यक्ष चुमानले भने, “लामो समयदेखि आरन व्यवसाय गर्दै आउनुभएका उहाँले आधुनिकीकरणमा पुर्याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ ।”
फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिए । फलाम गाल्न घन हान्न कम्तीमा दुई जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उहाँले बताउनुभयो । युट्युब हेरेर करिब रु ३० हजारको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ ।
विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ । आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment