चितवन महोत्सव सुरु

डिसी नेपाल
२५ पुष २०७९ २२:४८

चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा रहेको चितवन महोत्सव आजदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ को बागमती प्रदेश सरकारका निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक समारोहबीच उद्घाटन गरे ।

कार्यक्रममा भरतपुर पालिका प्रमुख रेनु दाहालले मेला महोत्सवले समग्र जिल्लाको विकासमा सहयोग पुर्‍याउने बताए। यस्ता मेला महोत्सवले आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ थियो ।

उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समयमा नेपालमा देखिएको आर्थिक तरलताले उद्योग, व्यवसाय धराशायी बन्दै गएको बताए । उनले भने, “अहिलेको समयमा सरकारले सोच्नुपर्ने हो ।” संसारभर अर्थतन्त्र जटिल बन्दै गएको अवस्थामा सरकार कठोर बन्दै जानुले व्यवसायी समस्यामा परेको उनको भनाइ थियो । राज्यको नीतिगत स्थिरता नहुँदा लगानीको वातावरण बन्न नसकेको उनले बताए ।

आजदेखि सुरु भएर महोत्सव माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।

यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर रहेको श्रेष्ठले बताए । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारीसहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ ।

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरूको प्रवर्द्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए । दस दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेशभूषा र कलासंस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।

त्यसैगरी महोत्सवअन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ । चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *