पृथ्वी जयन्ती : अब सालिकसँग माफी माग

आज राष्ट्रिय एकता दिवस अथवा पृथ्वी जयन्ती दिवस। १५ बर्ष फ्याँकेको, गाली गरेको र विर्सिएको दिन। १५ बर्षपछि पुनः एकताको औचित्य र महत्व मनन् र आत्मसात गरेर बिदा दिन शुरु गरिएको बिशेष दिन पुस २७ गते।

नेपाल जैबिक बिबिधताको धनी देश हो। मानवीय बिबिधता प्रकृतिको स्वभाविक चरित्र र जैबिक बिबिधताकै अभिन्न अंग हो। सामाजिक, साँस्कृतिक, धार्मिक बिबिधता राष्ट्रका शोभा र गौरव हुन्। पर्यटक अध्येता, अनुसन्धानकर्तालाई सोध र खोजका रोचक र रमाइला बिष्यबस्तु हुन्।

बिबिधता वा अनेकतामा एकता राष्ट्रिय तागत् हो। राष्ट्र राष्ट्रियता, राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको जग हो राष्ट्रिय एकता। यो खोज्ने, किन्ने, पछि धारण गर्ने शक्ति होइन बरु जन्मजात, जन्मसिद्ध, आजीवन हरेक नागरिकमा अनिवार्य निहीत दह्रो नैतिकबल हो।

नेपालको परिप्रेक्ष्यमा आम जनताले अहोरात्र चाहेको मागेको कुरा हो राष्ट्रिय एकता। झन् बिदेश जान बाध्य करिब १ करोड नेपालीले हरक्षण खोज्ने कुरा भएको छ यो। सारा नेपालीले रुचाएको चाहेको र खोजेको कुरा हामीले किन पाइरहेका छैनौं त्यो गम्भीर प्रश्न हो।

संघीयता युरोपियन बादशाहको चिर्केटो हो। त्यो राष्ट्रिय भूअखण्डता र राजनीतिक सहिष्णुता समाप्त पार्न लादिएको ढिलो चाँडो एकदिन पड्किछाड्ने बम हो। राष्ट्रिय ढुकुटी टाट् पार्ने अनावश्यक अराष्ट्रिय षड्यन्त्र हो। बार्षिक १ खर्व ७ अर्ब (७ प्रतिशत) बजेट् ध्वस्त पार्ने प्रदेशको उपदेयता, योगदान र त्याग शून्य देखियो। ५ बर्षमा करिब ६ खर्ब स्वाहा पार्ने बादशाहको संघीयता खारेजी साझा न्यूनतम कार्यक्रमा आउनुपर्ने थियो।

किन राष्ट्रिय एकता शासितलाई चाहिने, सत्ता र शासकलाई नचाहिने सस्तो माल भइरहेको छ? एकता किन राजनीतिलाई चाहिने, दलहरुलाई नभई नहुने तर नेतृत्वले देखिनसक्ने कुरा भएको छ?

ढिलो भयो तर उत्तर नखोजी र नभेटी नहुने भएको छ। हाम्रो लथालिङ्ग भताभुङ्ग अवस्थालाई ब्यवस्थापन गर्नको निमित्त। असफलउन्मुख र संकटग्रस्ट मुलुकलाई उद्धार गर्नको निमित्त।

बेमेल र बैमनष्यताको असर

आधुनिक इतिहासबाट शुरु गर्दा बिपी कोइराला र मातृकाबीच एकता हुन सकेन। पछि पञ्चहरुको खुट्टा तानातान् उस्तै दुखद् थियो। गिरिजा र कृष्णप्रसाद भट्टराईको मारामार्।

प्रचण्ड-बाबुरामको पानी बाराबर। ओली माधवको फुट् र सत्तोश्राप। बाज्ने, जुध्ने, फुट्ने, हराउने, सिद्धिने हाम्रा नेतृत्वको सामान्य चरित्र भएको छ। म ठीक अरु सवै बेठिक भन्ने इगो पलाएर अग्राख भएको छ।

भातृत्व र मेलमिलापको मर्म र भावना बुझेका र टम्म मिलेर बसेका राष्ट्रिय एकता चाहने जनतालाई नेताहरुको दन्तबजान, गालीबेइज्जतीले उहिलेदेखि मनोरञ्जन गराउँदै आएको छ र वर्तमानमा सीमा काटिसकेको निर्लज्ज अवस्था छ। राष्ट्रिय एकताको चिरहरण गर्ने र टुक्रा टुक्रा पार्ने अदृश्य शक्तिलाई पहिचान र खारेज गर्न इतिहास असफल रह्यो भन्नुमा अत्युक्ति नहोला।

मुलुकको बर्तमान सबैभन्दा बिभाजित, बिखण्डित, दुषित् र दुर्गन्धित छ। राष्ट्रिय एकताभाव खुइलिने हराउने र मर्ने यो भन्दा अर्को चरण हुनै सक्दैन। भ्रष्ट मुलुकमा दरिए जस्तै राष्ट्रिय एकता र राष्ट्रिय नैतिकता मापन गर्ने हो भने नेपाल पुच्छरमा झुण्डिने अवश्यम्भावी छ।

जन्मसिद्ध निःशुल्क प्राप्त यस्तो राष्ट्रिय आत्मबल र नैतिक तागत् कसले किन टुक्रा टुक्रा पारिरहेको छ नेतृत्वले जवाफ दिने र उपचार खोज्ने बेला भएको छ। आजको दिन यो महारोगको ओखती र उपचार फेला पार्न मद्दतकार होस्।

कसरी फिर्‍याे  बुद्धि

पृथ्वी जयन्ती नमनाएर र पृथ्वी नारायण शाहको शालिक तोडफोड गरेर प्राप्त गरेको बिजय के हो? उहाँका आजपर्यन्त अत्यन्त सान्दर्भिक दिब्योपदेशलाई डस्टबिनमा फ्याँकेर निर्माण गर्न खोजेको नयाँ नेपाल कस्तो हो?

१५ बर्षको समय तथानाम गाली बेइज्जतीमा खेर गएपनि आज ती अन्धा नेतृत्वको आँखा कान प्रष्ट खुलेको देखिन्छ। आफूलाई गणतन्त्रका नायक भन्ने वर्तमान प्रधानमन्त्रीले जसरी दौरा सुरुवालमा ठाँटिएर पृथ्वी जयन्ती मनाउने निर्णय र उद्घोष गरे त्यो उनको सुधार र रुपान्तरण हो।

अझ एक कदम अगाडि बढेर उनी र उनका समकक्षी सवैले सालिकसामु माफी माग्नुपर्दछ। एकताको दुश्मन अदृश्य शक्तिसँगको अपारदर्शी सम्पर्क, सम्बन्ध, लेनदेन टुटाउनुपर्दछ।

र, माटोको टीका लगाएर माटो सुहाउँदो मौलिक ब्यवस्था, मौलिक आदर्श बिचार, मितव्ययी, छरितो शासकीय स्वरुप, कानूनी राज्य र बिधिको शासन स्थापना गर्ने साहस गर्नुपर्दछ। राष्ट्र निर्माताले ३ सय बर्ष अगाडि औंल्याएका बादशाहहरुको राष्ट्रघाती आदेश खारेज गर्ने हिम्मत गर्नुपर्दछ।

संघीयता युरोपियन बादशाहको चिर्केटो हो। त्यो राष्ट्रिय भूअखण्डता र राजनीतिक सहिष्णुता समाप्त पार्न लादिएको ढिलो चाँडो एकदिन पड्किछाड्ने बम हो। राष्ट्रिय ढुकुटी टाट् पार्ने अनावश्यक अराष्ट्रिय षड्यन्त्र हो।

बार्षिक १ खर्व ७ अर्ब (७ प्रतिशत) बजेट् ध्वस्त पार्ने प्रदेशको उपदेयता, योगदान र त्याग शून्य देखियो। ५ बर्षमा करिब ६ खर्ब स्वाहा पार्ने बादशाहको संघीयता खारेजी साझा न्यूनतम कार्यक्रमा आउनुपर्ने थियो।

धर्मनिरपेक्षता देशको इतिहास र परम्परा मास्ने बादशाहको झुर आदेश थियो। राजारुपी पंक्षी उडाउन गुँड् र पिपलको रुख जरैदेखि ढाल्ने आदेश पालना गर्ने प्रधानमन्त्रीले अब तेश्रो आँखा खोल्न जरुरी छ। र, शीघ्र सच्चिन जरुरी छ।

नेपाल हिन्दु, बौद्ध, किरात र बोन सभ्यताको मौलिक उन्नयन भएको पवित्र भूमि हो। अपूर्व धार्मिक सहिष्णुता भएको र अझ सबै धर्मले सवै धर्मलाई ससम्मान मान्ने बिश्वकै एकमात्र पवित्र हिन्दू अधिराज्य हो।

बिश्वभरिका पर्यटकको कान ठाडो हुने र हिन्दू राष्ट्र अध्ययन अनुसन्धान गर्न नेपाल ओइरिने बिदेशी अध्येताहरु मध्ये कतिपय हिन्दू धर्मावलम्बी भै फर्केको सौन्दर्यता स्मरण गरौं। र अझ धेरै बौद्ध धर्मावलम्बी भएको सत्यलाई गौरव गरौं। र, बादशाहको यो आदेश तुरुन्त खारेजी गर्ने हिम्मत गरौं।

आफूलाई गणतन्त्रका नायक भन्ने वर्तमान प्रधानमन्त्रीले जसरी दौरा सुरुवालमा ठाँटिएर पृथ्वी जयन्ती मनाउने निर्णय र उद्घोष गरे त्यो उनको सुधार र रुपान्तरण हो। अझ एक कदम अगाडि बढेर उनी र उनका समकक्षी सवैले सालिकसामु माफी माग्नुपर्दछ।

मुलुकमा आज प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, मन्त्रीगण र प्रशासनले नटेर्ने अवस्था आएको छ। राष्ट्रिय चेनअफ् कमाण्डको जुईनो चुँडिएको छ। राष्ट्रिय नैतिकता, अनुशासन, आत्मबल, जबाफदेहिता हराएको र मरेको छ। आन्तरिक ब्यवस्थापन भताभुङ्ग छ।

किनभने मुलुकमा राष्ट्रिय एकताको प्रतीक कोही बन्न सकेको छैन। कुलधर्म छैन। नेतृत्वको राष्ट्रियता, राष्ट्रभक्ति, राष्ट्रिय जवाफदेहिता बादशाहरुले किनेको खोसेको अवस्था छ। अब जनताको असीम देश भक्तिको अर्थ र शोभा के नै रह्यो र? नेतृत्व बादशाहको गोटी, कामदार र आज्ञाकारी नोकर भएपछि।

स्वदेशी खाँडीको पोशाक लगाएर जनताको आँगनमा साग सिस्नु खादै खाली खुट्टा पैदल हिँडेर एकीकरण गरेका दूरदर्शी र हिम्मतिला राष्ट्र निर्माताका सन्तानलाई शासनसत्ता बाहिर त राखियो तर एकताको मालावाहिर पनि राख्ने? कहिलेसम्म र किन राख्ने? उनलाई राष्ट्रिय एकताको मालामा किन नउन्ने? बादशाहको त्यो आदेशलाई अस्वीकार गर्न बिलम्ब भइसकेन र?

ज्ञातै छ, आज हाम्रो पहिचान मान, सम्मान खिएर माड भइ समाप्तीको संघारमा छ। राजालाई जुनसुकै बिधि र मोडलमा होस् अथवा खोपिको देउता थपना किन नहोस् सामेल गर्दा राष्ट्र, राष्ट्रियता, र अत्यन्त खड्किरहेको राष्ट्रिय एकता मजबुत हुन्छ भने किन सामेल नगर्ने भन्नेहरुको जमात फेरि बढ्न थालेकोप्रति शासकहरुको ध्यान गएको छ?

आज दौरा सुरुवालमा आफ्नो सान र मान ठान्ने प्रधानमन्त्री प्रचण्ड यति चाँडै पृथ्वी जयन्तीलाई उत्सव मनाउन तयार हुनुहोला भन्ने धेरैले नसोचेको कुरा हो। आफ्ना जनतासँग झुक्ने शाहवंशीय राजाका नातिलाई सेरोमोनियल राजा घोषणा गरेर राष्ट्रिय एकताको जग हालेको हुँ भनेर कुनै दिन यिनै प्रधानमन्त्री प्रचण्डले पहलकदमी लिने पो हुन् कि? यसलाई राष्टिय एकताको सूत्र भनिन पनि त सक्छ।

साथै हिजोसम्म बादशाहहरुको अकल्पनीय सल्लाह सुझाव र दबाब खेपेर हैरान बेहोरेका प्रधानमन्त्रीले अब प्रष्ट र ढृढ अडान लिनुपर्‍यो र भन्नुपर्‍यो हामी मौलिक र पारदर्शीढंगले आफ्नो शासनव्यवस्था आफै चलाउन काबिल छौं।

बादशाहहरुको स्वार्थी सल्लाह सुझाव राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको बर्खीलाप भएकोले त्यो हामीलाई सह्य र ग्राह्य छैन। यो अपूर्व अवसरको सदुपयोग गर्ने र मुलुकलाई आत्मनिर्भर, शान्त, समृद्ध स्वर्ग बनाउन आजको दिनले प्रधानमन्त्री र सबै बाटो बिराएका नेतृत्व पंक्तिलाई आँखा खोलिदियोस्। सद्बुद्धि भरिदियोस्।

दरबार होइन दिल्ली

भबिष्य कोलाहल र भयावह छ। यथास्थितिमा राष्ट्रिय एकता झन् भाँडिएर चौपट् हुनेवाला छ। विदेशी वादशाह र जासुसको स्थायी मेला लागि नै रहने छ। तसर्थ, नट एगेनलाई झुक्याएर आएका म्याद गुज्रेका नेताहरुलाई सच्चिनुको बिकल्प छैन।

नयाँ युवा पिँढी र भावी नेतृत्वले बादशाहको नुन विषाक्त छ र त्यसले अन्ततोगोत्वा दास बनाउछ भन्ने कुरा स्विकार्न जरुरी छ। नारायणहिटी दरबार दुत्कार्ने र दिल्ली दरबार स्वीकार्ने नैतिकहीन दासी नेतृत्वहरु अव किमार्थ टिक्नेवाला छैनन्।

हेक्का रहोस् मुलुकलाई गुट् उपगुट् हाक्ने टुक्रे भुइफुट्टा नेतृत्व चाहिएको होइन। सर्वस्विकार्य सर्वमान्य महान राजनेतृत्व चाहिएको हो र यो सुन्दर र गर्विलो छवि धारण गर्ने मूल मन्त्र नै “राष्ट्रिय एकता” मात्र हो।

नेपालको उज्वल भविश्य राष्ट्रिय एकतामा निर्भर छ। राष्ट्रिय एकताबिना न शान्ति सुरक्षा न समृद्धिको कल्पना गर्न सकिन्छ। राजनीतिक अस्थिरता हाम्रो जग हँसाउने झुर चरित्र भइसकेको छ। राष्ट्रिय एकता मजबुत गर्ने दृढ राष्ट्रिय संकल्प र त्यसको ब्यवहारिक कार्यान्वयनले मात्र मुलुकको मुहार फेरिने छ।

कुशासन, अशिक्षा, बेरोजगार, रोग, भोक, अभावले राष्ट्रिय एकता कमजोर पार्ने स्वतसिद्ध छ। यथार्थमा भइरहेको पनि त्यही छ। चरम शक्ति र सत्तालिप्सा एवं अवसरबादको अब स्थायी अन्त्य हुनुपर्दछ।

सदियौंदेखिको सभ्य, भब्य र गौरवमय इतिहास, सनातन धर्म, संस्कृति, प्रकृतिको रक्षा कल्याण सम्मानमा शासक र शासितहरु एकढिक्का भएर लाग्नुपर्दछ। दश बर्षमा नेपाल पृथ्वीको सभ्य र भब्य स्वर्ग बन्ने छ।

पृथ्वी जयन्तीले सम्पूर्ण नेपालीलाई पृथ्वीनारायण जस्तो नैतिकवान, जुझारु, आत्मनिर्भर र त्यागी नेपाली बनाओस र राष्ट्रिय एकताको साझा छातामुनि गोलबद्ध गराओस्।

जय पृथ्वी जयन्ती !

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *