नेपालकै पहिलो ब्रम्हकुमारी सिस्टर प्रनिता गुरुङको मेलबर्नमा कार्यक्रम

डिसी नेपाल
३० पुष २०७९ १६:४४

मेलबर्न। नेपालकै पहिलो ब्रम्हकुमारी एवं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित कार्यक्रममा प्रवचन दिएकी छन्।

कार्यक्रममा प्रवचन दिने क्रममा कसैबाट केही अपेक्षा नगरी समभावका दृष्‍टिकोणका साथ निःस्वार्थ रुपमा निरन्तर सेवा भाव प्रदर्शन गरी सबैलाई आफ्नो सेवा प्रदान गर्न सकिंदा यसले स्वतस्फूर्त रुपमा देवत्वकरण गराउने उनले बताइन्।

सूर्य, चन्द्रमा, आगो, पानी, हावा आदिलाई आफ्नो भनाइको उदाहरणको रुपमा पेश गर्दै यी सबैले आ९आफ्नो धर्म अनुरुप सबैलाई समान रुपमा निरन्तर सेवा प्रदान गर्नुकै परिणाम यी सबैलाई हामीले देवताको रुपमा पुज्ने गरेको बताइन्।

परिवार र समाजमा हरेक कुरामा एकार्कामा ब्यापार भाव प्रदर्शन गरिनाले भौतिक सम्पन्नताका बाबजुद सुखमय जीवन यापनबाट सबै बन्चित हुन परेको बताउँदै सिस्टर गुरुङले सुख प्राप्तीका लागि प्रेमभाव र आत्माउन्मुख अनिवार्य शर्त भएको बताइन्।

 

वुद्धभूमि र तपोभूमि नेपाल छाडेर आएर पनि मेलबर्नमा आयोजित कार्यक्रमको वातावरणका कारण नेपालमा नै रहेको अनुभूति ब्यक्त गरेकी सिस्टर गुरुङले उपस्थित सबैलाई केही समय ध्यान गराएकी थिइन्।

 

वरिष्ठ राजयोग शिक्षक एबं ब्रम्हकुमारी नेपालका महासचिव शैलेश राज बरालले प्रवचन दिने क्रममा सुख गन्तब्य नभएर दैनिक जीवनचर्याको अभिन्न अंग बनाइनुपर्ने र विश्वका करीब ८ अर्ब मानिसमा हरेक ब्यक्ति बाँकी सबैसँग बिल्कुलै फरक हुने भएका कारण प्रत्येक ब्यक्ति बिशेष उद्धेश्यका लागि परमात्माद्धारा पठाइएकोले त्यो उद्धेश्य प्राप्ती जीवनको उद्धेश्य बनाइनाले सुखमय जीवन संभव हुन सक्ने बताए।

 

सिस्टर प्रनिता गुरुङ र वरिष्ठ राजयोग शिक्षक शैलेश राज बरालसँगको कार्यक्रम अस्ट्रेलियाका बिभिन्न शहरमा आयोजना गरिने योजना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *