नभेटिएका ४ शव खोज्न ८०० सुरक्षाकर्मी परिचालन, ४२ शवको पहिचान खुल्यो

डिसी नेपाल
२ माघ २०७९ १५:१५
340
Shares

काठमाडौं । पोखरामा आइतवार यती एअरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्त पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह बाहिर भेला भएका छन्। त्यहाँ उनीहरू शव परीक्षणको प्रतीक्षामा रहेको पोखरास्थित यती एअरलाइन्सका एक जना कर्मचारीले जानकारी दिए।

“चिकित्सकको पर्खाइका कारण पोस्टमोर्टम सुरु हुन केही ढिला भएको हो। उहाँहरू आइपुग्नु भएको छ। अबको आधा घण्टामा परीक्षण सुरु हुन्छ होला,” यती एअरका कर्मचारी हर्क रावलले भने।

उनका अनुसार विदेशी नागरिक र सनाखत नभएका शवहरू पोस्टमोर्टम गर्न काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको छ। “स्थानीयवासी रहेका मृतक र यहीँ सनाखत भएका शवहरूको मात्र पोखरामा परीक्षण हुन्छ भनिएको छ,” उनले भने।

हालसम्म भेटिएका ६८ शवहरूमध्ये ४२ जनाको शव पहिचान भएको रावलले जानकारि दिए। विमानमा सवार कुल ७२ जनामध्ये ४ जनाको खोजी तथा उद्धारको प्रयास जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार करिब ८०० जना सुरक्षाकर्मी खोजी कार्यमा जुटेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *