गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छः प्रधानमन्त्री

डिसी नेपाल
२ माघ २०७९ २१:१४

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताएका छन्।

सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन्। उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गरे।

‘देशको विकास र समृद्धिमा विदेशमा बस्ने नेपालीको भूमिका मह्त्वपूर्ण छ। यो मैले राम्रोसँग बुझिसकेको छु, एनआरएनएसँग सहकार्य सहकार्य गर्नसक्यो भनेमात्र देशमा समृद्धि सम्भव छ,’ उनले भने, ‘एनआरएनएले उठाउँदै आएका मागमा मेरो विशेष ध्यानआकर्षण भएको छ।’

देशको अर्थतन्त्र जोगाउन विदेशमा बस्ने नेपालीहरूले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपालीले उठाएको माग र मुद्दामा आफू पहिलेदेखि नै जानकार रहेको उनले बताए। गैरआवासीय नेपालीका मागका विषयमा आफूले सदनदेखि राज्यका सबै निकायमा सकारात्मक भूमिका निर्वाह गरेको उनको भनाइ छ।

‘म एनआरएनएसँग धेरै घुलमिल भएर काम गरिरहेको छु। गैरआवासीय नेपालीको मुद्दामा लगातार वकालत गर्ने ‘इमेज’ बनाएको छु जस्तो मलाई लागेको छ,’ उनले भने।

यस्तै, उनले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाए। विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेर काम गर्ने योजना रहेको उनले सुनाए।

प्रवासी नेपालीले विदेशबाटै भोट हाल्नपाउनुपर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै भविष्यमा यो व्यवस्था लागू गर्न सरकारले पहल गर्ने प्रतिवद्धता उनले गरे।

‘तपाईँहरुको जस्तै संसारभरि रहेका नेपालीले मताधिकार प्रयोग गर्न सकून् भन्ने चाहना मेरो पनि छ। विदेशमा बस्नेलाई पनि यहाँका नेपालीसरह व्यवहार हुन्छ,’ उनले भने।

यस्तै, उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको लागि उपयुक्त वातारण सिर्जना गरिने बताए। लगानीमा सुरक्षाको पूर्ण ग्यारेण्टी गरिने बताउँदै गैरआवासीय नेपालीका लागि लगानीको कुनै सीमा नतोक्ने बताए।

‘विदेशीलाई जस्तो होइन। गैरआवासीय नेपालीलाई पनि नेपालका नेपालीसरह नीति नियम बनाइन्छ। गैरआवासीय नेपालीलाई नेपालमा लगानी ल्याउन लगाइएका ‘ब्यारियर’ भत्काउन चाहान्छु।’

उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा गैरआवासीय नेपालीका मुद्दामा नजिक भएर काम गरेको उल्लेख गर्दै केही सम्बोधन पनि गरेको बताए। यसपटक अझ बढी काम गरेर गैरआवासीय नेपालीको विश्वास जित्ने योजना उनको छ।

‘मैले अझ धेरै गैरआवासीय नेपालीका मुद्दामा काम गर्नुपर्नेछ। आउनुस् मिलेर काम गरौं,उनले भने, ‘यसपालि म तपाईँहरुको विश्वास जित्न सक्छु।’

केही समयअघिको आफ्नो जापान भम्रणको प्रसंग निकाल्दै उनले अहिले विदेशमा बस्ने नेपालीको जीवनस्तर पहिलाकोभन्दा फरक पाएको समेत बताए। विदेशमा बस्ने नेपालीहरुले दक्षता हासिल गरेको र सक्षम भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *