सरूवा भएका डिआइजीलाई गृहमन्त्रीले भने- नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैन

डिसी नेपाल
२ माघ २०७९ २२:४५
408
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन्।

सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए।

उनले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताए। गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबीना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराए। गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको थियो।

गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताका हितमा काम गर्न निर्देशन दिए।

उनले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिएका छन्। प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उनले सधैँ पीडितको पक्षमा उभिन आग्रह गरे।

कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिए। मन्त्री लामिछानेले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको स्पष्ट पारे।

उनले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरूवा भएका डिआइजीसँग आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *