कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित

डिसी नेपाल
३ माघ २०७९ ९:४९

खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन्। कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएपछि गाउँपालिकाका सर्वसाधारण लाभान्वित भएका हुन्। कुभिन्डेको हरमटारमा एक जना एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकाबासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने वाध्यताबाट मुक्त छन्।

अस्पतालबाट चौविस घण्टा इमरजेन्सी, ओपिडि, प्रसुती, भिडियो एक्स–रे, इसिजी लगायतका स्वास्थ्य सेवा उपलव्ध गराइएको छ। गाउँपालिकाको कुभिन्डे, हौंचुर, दुबेकोल, डुम्रेधारापानी लगायतका वडाका स्थानीयले अस्पतालबाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा लिइरहेका छन्। अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको डा. मनोजकुमार शाहले बताए।

कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको थियो। कोरोना महामारीको संक्रमण सामान्य भएसँगै सवैजसो अस्थायी कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिएको हो।

गाउँपालिकाको केन्द्रमा रहेको अस्पतालबाट गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क उपलव्ध गराउने गरिएको छ । ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स–रे सेवामा छुटको व्यवस्था छ। अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलव्ध गराइएको छ। अस्पतालका लागि एक थान एक्सरे मेसिन समेत ल्याइसकिएको छ।

आसपासका स्वास्थ्यचौकीबाट रेफर भएका बिरामी सोही अस्पतालमा आउने गरेका छन्। अप्रेसन गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको डा. शाहले बताए। स्वास्थ्यउपचारका लागि अन्यत्र जान नसक्ने निम्न आर्थिक अवस्थाका नागरिकलाई लक्ष्यित गर्दै कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए।

कोभिडको महामारीका समयमा पनि अस्पतालमा कोभिड संक्रमितभन्दा पनि अन्य विरामीले बढी सेवा लिएका थिए। अस्पतालका लागि डा. शाह, ल्याव टेक्नेसियन उमेशकुमार शाह, स्टाफ नर्स सिर्जना तामाङ र कार्यालय सहयोगी सुरेन्द्र भुजेललाई गाउँपालिकाले आन्तरिक श्रोतबाट सेवा सुविधाको व्यवस्था गरेको छ। दरबन्दीमै कार्यरत एचए भोजराज अधिकारी र अनमी बिनाकुमारी शाहलाई काजमा अस्पतालमा खटाइएको छ।

गाउँपालिकाका लागि खार्पामा १५ शैयाको अस्पताल बनिरहेको छ । १५ शैयाको अस्पताल बनेसम्मका लागि पाँच शैयाको अस्पताल सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *