जेष्ठ प्राध्यापक समाजद्वारा प्रा.डा. राणा सम्मानित
काठमाडौं। जेष्ठ प्राध्यापक समाजले बद्री-तीर्थ आरथ्राइटिस समाज तथा नेशनल बाथरोग सेन्टरसँग सहकार्य गर्दै योजना आयोगका पूर्व उपाध्यक्ष तथा नाष्टका पूर्व उपकुलपति प्रा.डा. रत्नशमशेर जबरालाई सम्मानित गरेको छ ।
सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा समाजले प्रा.डा. जबरालाई ‘तीर्थानन्द वैद्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । उक्त सम्मानकासाथ २५ हजार नगद राशि पनि प्रदान गरिएको छ ।
कार्यक्रममा बाथरोग जागरण अभियानको उद्घाटन तथा प्रा.डा. जबराको सम्मान गर्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामजी भण्डारीले वडाबाट स्वास्थ्य क्षेत्रमा सकेसम्मको सहयोग गर्ने बताए ।
उक्त अवसरमा जेष्ठ प्राध्यापक समाजका अध्यक्ष डा. विमलकुमार शर्माले प्रा.डा. राणाको क्रियाशीलताको चर्चा गर्दै यसअघि पनि तीन व्यक्तित्वलाई यो सम्मान अर्पण गरिसकेको बताए ।
डा. शर्माले बद्री तीर्थ आरथ्राइटिस समाजले यो अवसर जुटाइ दिएकोमा आभार व्यक्त गर्दै जेष्ठ प्राध्यापक समाजले पनि सदा सहयोग गर्ने उल्लेख गरे ।
समाजका महासचिव प्रा. सिद्धिप्रसाद कोइरालाले प्रा.डा. जबराको योगदानको चर्चा गर्दै उनको परिचय प्रस्तुत गरे । सम्मानित व्यक्तित्व प्रा.डा. जबराले सम्मानले यो उमेरमा पनि आफूमा उर्जा थपिएको बताए । उनले सम्मानकासाथ प्राप्त नगद राशि जेष्ठ प्राध्यापक समाजको अक्षयकोशमा जम्माहुनेगरि समाजका अध्यक्षलाई हस्तान्तरण गरे ।
सोही अवसरमा बद्री तीर्थ आरथ्राइटिस समाज र नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा बाथरोग जागरण अभियानको सुरु भएको छ । सोअवसरमा माघ ३ गतेदेखि एक हप्तासम्म रातोपुलस्थित सेन्टरमा बाथरोग सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिने जानकारी गराइएको छ ।
जागरण कार्यक्रमको उद्घाटनमा नशारोग विशेषज्ञ डा. दीपेश शाक्यले बाथरोग जटिल किसिमको रोग भएको र यो नशासँग पनि जोडिने भएकोले बाथरोगमा हेलचेक्राईं नगर्न सबैसँग आग्रह गरे ।
त्यस्तै डा. सुधीर कर्माचार्यले बद्री-तीर्थ आरथ्राइटिस समाजलाई धन्यवाद दिँदै संस्थाले उपत्यकाभित्र मात्र नभई मुलुकको कुनाकाप्चामा पुगेर पुगेर बाथरोगप्रति जनचेतना फैलाउने काममा विशेष जोड दिनुपर्ने उल्लेख गरे।
निःशुल्क शिविरमा सहकार्य गर्दै आएको संस्था नेशनल बाथरोग सेन्टरका अध्यक्ष डा. विनीत वैद्यले हरेक क्षेत्रका व्यक्तिहरूले बाथरोगप्रति सचेत हुनुपर्ने बताए ।
उनले पछिल्ला अवधिमा आफूहरूले सूचना प्रविधिको प्रयोग गर्दै गाउँगाउँमा भ्याएसम्म बाथ रोगीहरूको पहिचान गर्दै आएको बताएका छन् । उनले यस किसिमका कार्यमा मिडियालगायत सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।
सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले बाथरोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोले आफूहरूले जागरण अभियानसँगै निःशुल्क बाथरोग शिविर आयोजन गर्दै आएको बताए ।
कार्यक्रममा बद्री-तीर्थ आरथ्राइटिस समाजकी अध्यक्ष बद्रीलक्ष्मी वैद्यले संस्थाले गर्ने काममा सबैको साथ र सहयोगको अपेक्षा गरिन् ।
उक्त अवसरमा तिमिला थापा यमी, पवित्रा कार्कीलगायतले बोलेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment