उपप्रधानमन्त्री श्रेष्ठद्वारा नारायणगढ–बुटवल सडकखण्डको अनुगमन

डिसी नेपाल
३ माघ २०७९ २१:१५

नवलपुर । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गरेका छन् ।

उनले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गरेका हुन् । मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको गैँडाकोट तथा कावासोतीको विभिन्न क्षेत्रमा स्थलगत अनुमगन समेत गरेका छन् । उनले सडक अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै सडक विस्तारको काम चाँडो हुने आश्वस्त पारे ।

“यस सरकारको एकमात्रै एजेण्डा आर्थिक वृद्धिदर हो”, उनले भने, “त्यसका लागि सरकारको प्राथमिकता पूर्वाधार निर्माण रहेको छ ।” गैँडाकोट–११ भेँडाबारीका स्थानीयवासीसँग छलफल गर्दै स्थानीयवासीको समस्या आफूले बुझेको भन्दै उनले अहिले स्थलगत अवलोकनबाट थप समस्याबारे आफू जानकार रहेको बताए । सडक विस्तारको काममा ढिलाइ हुँदा स्थानीयवासीले आफूहरूको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो गरेका थिए ।

सडक विस्तारका लागि बिजुलीको पोल सार्नुपर्नेमा पोल झारेको लामो समय बितिसक्दासमेत पोल नसारिएको गुनासो गरेका थिए । सो क्रममा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वखण्ड प्रमुख इन्जिनियर रमेश दिष्टीले गैँडाकोटको केही ठाउँमा पोल सार्न ढिलाइ भए पनि अब काम तीव्र गतिमा हुने बताए । सडक विस्तारका लागि सबै अवरोध हटिसेकाले अब काम तीव्र गतिमा बढ्ने दिष्टीको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *