वैदेशिक रोजगारबाट फर्केर कृषि कर्ममा रमाउँदै युवा

डिसी नेपाल
६ माघ २०७९ १३:१९
152
Shares

कञ्चनपुर। वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आएका छन्।

साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उनी उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी खेतीमा लागेका हुन्। दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेबिया गएका उहाँलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन्।

“विदेशमा छदा बिरामी परे”, उनले भने, “घर फर्केपछि उपचार गरे, निको भएपछि घरमै खाली बस्नुभन्दा तरकारी खेतीमा लागे, बुबाले थोरै जग्गामा तरकारी खेती गर्नुहुन्थ्यो, त्यसलाई विस्तार गरी व्यावसायिक बनाए।” सुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे।

हाल डेढ बिघा जग्गामा उनले तरकारी रोप्नु भएको छ। चौधरीको बारीमा काउली, बन्दा, गोलभँेडा, बेमौसमी काँक्रा, स्कुस, आलु र हरियो तरकारी रोपिएको छ। वर्षभरिनै तरकारी खेती गर्दै आएका चौधरीको वार्षिक आम्दानी रु १० लाख बढी रहेको छ । वर्षमा उनले रु १५ लाख जतिको तरकारी बेच्छन्।

मलखाद, बीउबिजन, कीटनाशक जोताइ, सिँचाइ, ढुवानीमा गरी वर्षमा रु पाँच लाख खर्च गर्नुहुन्छ । खर्च गरिएको रकमभन्दा तरकारी खेतीबाट दोब्बर बढी आम्दानी हुने गरेको छ । तरकारी उत्पादनका लागि उहाँले आफ्नै लगानीमा तीन वटा प्लाटिकका टनेल निर्माण गर्नुभएको छ । टनेलमा अहिले बेमौसमी काँक्राका बोट रोपिएका छन् ।

अरु बेला टनेलमा बेमौसमी तितेकरेला, लौका, फर्सी रोप्ने गर्नुहुन्छ । श्रीमती, बहिनी र बुबाले उनलाई तरकारी खेतीमा सघाउने गरेका छन्। “गत वर्ष बजार नपाएर झण्डै २० क्विन्टल गाडामा लोड गरेर बिक्रीका लागि लगेको लौका बिक्री नहुँदा घाटा व्यहोर्नुपर्‍यो”, उनले भने, “बजारमा सहजरुपमा तरकारी बिक्री गर्न पाइए अझै उत्पादन बढाउन सकिन्छ, सानो बजार छ, बिक्री गर्ननै धौ धौ छ, त्यसैले बढी तरकारी उत्पादन गर्न पाएका छैनौँ।”

बजारमा खपत हुने जति तरकारीको अनुमान गरेर उत्पादनमा जोड दिइँदै आएको उनले बताए। स्थानिय कलुवापुर, झलारीका व्यापारीसँग समन्वय गरेर तरकारी बिक्री हुने गरेको उनको भनाइ रहेको छ। बर्सातका बेला चौधरीले बर्खे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती गर्दै आएका छन्। विदेश जाँदा लागेको ऋण तिरेर तरकारी खेतीकै पैसाले गाउँमै उनले चार कोठ पक्कि घर निर्माण गरेका छन्। तरकारी खेतीसँगै १५ वटा उन्नत जातका बाख्रासमेत पालेका छन्।

बाख्राका खसी, बोका, पाठापाठी बिक्री गरेर वर्षमा रु ४० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरेको छ। “गएको वर्ष स्थानीय जातका कुखुरा पनि पालेका थियौँ”, चौधरीका श्रीमती वीनाले भनिन्, “खासै गतिलो आम्दानी हात पार्न सकेनौँ, त्यसैले यस वर्ष पालेका छैनौँ।”

तरकारी खेती गर्ने किसानलाई बैंकले बिना धितो तरकारी खेती गरेकै आधारमा ऋण दिने व्यवस्था गरिनुपर्ने उनले बताइन्। “बैंकमा धितोका लागि नम्बरी जग्गा माग्छ”, उनले भनिन्, “हामीसँग ऐलानी जग्गा मात्रै छ, त्यसमा ऋण पाइँदैन, बैंकबाट ऋण नपाइएपछि वित्तीय संस्थासँग चर्को ब्याजमा ऋण निकालेर लगानी गर्नुपरेको छ।”

बेलडाँडी गाउँका दश जना बढी किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीमा संलग्न कुनै पनि किसानसँग स्वामित्वको जग्गा छैन। नम्बरी जग्गा नहुँदा तरकारी खेतीमा संलग्नले साहु महाजन, सहकारी संस्था, समूहबाट थोरै परिणाममा कर्जा लिएर काम चलाउने गरेका छन्।

तरकारी खेतीमा संलग्न किसान जानकी चौधरीले व्यावसायिक तरकारी खेतीका लागि अनुदानसँगै तालिम र सहुलियतरुपमा थोरै व्याजमा कर्जाको व्यवस्था गरिनुपर्ने बताइन्। “तरकारी उत्पादन गर्छौं”, उनले भनिन्, “सङ्कलन केन्द्र छैन, बजारमा लैजाँदा व्यापारीले भनेकै दरमा बिक्री गरेर आउनुपर्छ, यो समस्या समाधानका लागि नगरपालिकाको कृषि शाखामा जानकारी गराउँदासमेत बेवास्ता हुँदै आएको छ।”

नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले किसानले माग गरेअनुसारको तालिमको व्यवस्था शाखाबाट गरिँदै आएको बताए। “कृषि औजार, उपकरण र बीउबिजनमा नगरपालिकाले अनुदानका कार्यक्रम उपलब्ध गराउँदै आएको छ”, उनले भने, “अहिले पनि अनुदानका कार्यक्रम सञ्चालन गरेका छौँ, किसानले तोकिएको ढाँचामा निवेदन दिएर छनोटमा पर्नुपर्‍यो।”- रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *